|
फाइल फाेटाे

इलाम : लोपोन्मुख वन्यजन्तु ‘रेडपाण्डा’लाई विद्यालयको पाठ्यक्रममै समावेश गरेर पढाइ भइरहेको इलाममा अब जिल्लाका पर्यटकीयस्थलहरूका बारेमा पनि पढाउन सुरु गरिएको छ। इलामका पर्यटकीयस्थलहरूको जानकारी गराउने उद्देश्यले अनौपचारिक शिक्षाको स्थानीय पाठ्यक्रममा इलामको पर्यटन क्षेत्रलाई समावेश गरिएको हो।

चालु आर्थिक वर्षबाट सुरु गरिने पाठ्यक्रममा अनौपचारिक शिक्षाअन्तर्गत तह एक पूरा गरी साक्षर बनिसकेका १५ देखि ६० वर्ष उमेर समूहका नागरिकले उक्त पाठ्यक्रमअनुसारका सामग्री अनिवार्य अध्ययन गर्ने जिल्ला शिक्षा कार्यालय इलामले जनाएको छ। 

पर्यटन, यसको सम्भावना, चुनौती र यसको बजारीकरण गर्नका लागि स्थानीय नागरिक नै पहिला जानकार हुन आवश्यक देखिएकाले अनौपचारिक शिक्षाको पाठ्यक्रममा इलामको पर्यटन क्षेत्रलाई समावेश गरिएको जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले जानकारी दिए।

गत असारमा नेपालको ३७आैँ साक्षर जिल्ला घोषित भएको इलाममा निरन्तर शिक्षाअन्तर्गत तह दुईको सिकाइ सुरु गरिएको छ। पाठ्यक्रममा अन्य विषयवस्तु अनौपचारिक शिक्षा केन्द्रले देशभर तय गरेअनुसारको भए पनि स्थानीय पाठ्यक्रममा इलामको पर्यटनलाई राखिएको कार्यालयले जनाएको छ। 

जिल्ला शिक्षा अधिकारी गौतमका अनुसार साक्षर जिल्ला घोषणा गरिँदा इलामका ४० हजार निरक्षरलाई साक्षर बनाइएको थियो। अब तिनै साक्षर जनशक्तिलाई तह दुईको पाठ्यक्रमअनुसार पर्यटन विषयको आधारभूत कुरा सिकाइने जनाइएको छ। 

इलाममा निरन्तर शिक्षाको एक चरणको कार्यक्रम सकिएको छ। दोस्रो चरणको कार्यक्रम सुरु गर्नका लागि अहिले सहजकर्ताहरूलाई तालिम दिने काम भइरहेको जिल्ला शिक्षा कार्यालय इलामले जनाएको छ । 

इलामको पर्यटनसँग जोडिएको लोपोन्मुख रेडपाण्डासम्बन्धी पढाइ प्रभावकारी बनिररहेको रेडपाण्डा नेटवर्क इलामका फिञ्जु शेर्पा बताउँछन्। इलाममा वर्सेनि हजारौँको संख्यामा पर्यटकहरू घुम्न आउने गरेका छन्। इलाम घुम्न आएका पर्यटकले इलामका पर्यटकीयस्थलहरूबारे जानकारी माग्दा सामान्य जानकारी दिन सक्ने बनाउनका लागि पनि अनौपचारिक शिक्षामा इलामको पर्यटनलाई समावेश गरिएको जिल्ला शिक्षा कार्यालय इलामले जनाएको छ। 

इलाममा विभिन्न पर्यटकीयस्थलहरूको जानकारी र विशेषताबारे पर्यटकलाई जानकारी दिन सक्ने बनाउने उद्देश्य पाठ्यक्रमको रहेको जिल्ला शिक्षा कार्यालयको भनाइ छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.