|

काठमाडौं : एमाले–माओवादी एकतापछि बन्ने एकीकृत पार्टीको संगठनात्मक संरचना तयार भएको छ। केन्द्रमा २९९ सदस्यीय केन्द्रीय समिति बनाउने गरी अन्तरिम विधान तथा संगठनात्मक ढाँचा तयार पार्न गठिन कार्यदलले ३७ दिन लगाएर बुधबार प्रतिवेदन अन्तिम रूप दिएको छ। यद्यपि कार्यदलको रिपोर्टलाई पार्टी एकता संयोजन समितिले पारित गरेपछि मात्रै विधानका आधारमा एकीकृत पार्टीको संरचना निर्माण हुनेछ।

केन्द्रदेखि तल्लो तहको प्रारम्भिक कमिटीसम्म आठ तहका पार्टी संरचना निर्माण गर्ने गरी एकीकृत पार्टीको अन्तरिम विधान तयार भएको छ। आगामी दुई वर्षभित्रै एकीकृत पार्टीकोे एकता महाधिवेशन सम्पन्न गरिसक्ने गरी कार्यदलले अन्तरिम विधान तयार पारेको एमाले नेता तथा कार्यदल सदस्य वेदुराम भुसालले जानकारी दिए। २३ अध्याय र ७७ धारामा केन्द्रित गरी कार्यदलले अन्तरिम विधान तयार पारेको छ।

पार्टी एकताका क्रममा सबै नेतालाई समेट्न उमेर हद नलगाउने गरी हाललाई खुला राखिएको छ। तर, दुई कार्यकालभन्दा बढी समय पदाधिकारी रहन नपाउने प्रावधानलाई अन्तरिम विधानमा समेटिएको छ।

कार्यदलले तयार पारेको प्रतिवेदनलाई अब दुई अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल) ले बुझ्ने समय दिएको जुनकुनै बेला पनि बुझाउन सक्ने गरी तयारी अवस्थामा राखिएको कार्यदलका अर्का सदस्य तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले बताए।

‘हाम्रो कार्यदलले काम सम्पन्न गरेको छ, अब उहाँहरू (दुवै पार्टीका अध्यक्ष) ले जहिले माग्नुहुन्छ, वा बुझाउनका लागि समय दिनुहुन्छ त्यही बेला बुझाउन तयारी अवस्थामा छौं’, शर्माले भने।

ओली र दाहाल दुवैले संयोजन गरेको एकता संयोजन समितिले फागुन ७ मा अन्तरिम विधान तथा संगठनात्मक ढाँचा तयार पार्न माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा नेतृत्वमा कार्यदल तथा अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वको अर्काे कार्यदल गठन गरेको थियो।

संगठनात्मक कार्यदलले आफ्नो प्रतिवेदन तयार पारे पनि अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलले अझै आफ्नो काम सकेको छैन। उसले बिहीबार कार्यदलको बैठक बोलाएको छ।

कार्यदलले समयमै आफ्नो काम नसक्दा पार्टी एकता प्रक्रियासमेत प्रभावित हुँदै आएको थियो। संगठनात्मक कार्यदलले अब काम सकेर प्रतिवेदन तयारी अवस्थामा राखेपछि एकता प्रक्रियाले अब गति लिने नेताहरूले बताएका छन्।

अाठ तहको पार्टी स‌ंरचना

थापानेतृत्वको कार्यदलले प्रादेशिक राज्य प्रणाली र लेनिनवादी सिद्धान्तलाई मूल आधार बनाएर संगठनात्मक ढाँचा तयार पारेको छ। अन्तरिम विधान तयार पार्दा दुई पार्टीबीच भएका सहमतिलाई पक्रिएर काम गरेको कार्यदलका सदस्य भुसालले बताए।

केन्द्रदेखि तल्लो प्रारम्भिक कमिटीसम्म एकीकृत पार्टी संरचना आठ तहको हुने गरी कार्यदलले संगठनात्मक ढाँचा तयार पारेको हो। केन्द्रमा दुई अध्यक्षले संयुक्त रूपमा पार्टी अध्यक्षको रूपमा नेतृत्व गर्ने, बैठकको अध्यक्षता आलोपालो प्रणालीका आधारमा गर्ने, अन्य पदाधिकारी नरहने, स्थायी समिति र पोलिटब्युरोको संरचना बनाउने गरी अन्तरिम विधान तयार भएको छ।

केन्द्रीय समिति २९९ सदस्यीय, पोलिटब्युरो केन्द्रीय समितिको एक तिहाइ अर्थात् ९९ सदस्यीय र पोलिटब्युरोको एक तिहाइ स्थायी समिति अर्थात् ३३ सदस्यीय कमिटी रहनेछन्।

केन्द्र र प्रदेशमा लेखापरीक्षण आयोग, अनुशासन आयोग र निर्वाचन आयोग गरी तीन आयोग, केन्द्रदेखि निर्वाचित तल्लो कमिटीसम्म सल्लाहकार कमिटी र ज्येष्ठ कम्युनिस्ट मञ्च बन्ने गरी विधानमा व्यवस्था भएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.