|

काठमाडौं : सूचना तथा सञ्चार मन्त्रालयले बुधबारदेखि काठमाडौं उपत्यकामा एनालग टीभी बन्द गराएको छ। मन्त्रालयले बुधबार एनालग प्रविधिबाट आधारित भएर सेवा प्रदान गर्दै आएका टेलिभिजन प्रदायक कम्पनीमा अनुगमन गरी सेवा बन्द गराएको हो।

अब काठमाडौं उपत्यकामा एनालगमा आधारित सम्पूर्ण सेवा बन्द भएको छ। मन्त्रालयबाट केबल टेलिभिजन शाखाका प्रमुख विष्णुकुमारी भट्टराई र फ्रिक्वेन्सी विभागका प्रमुख अनुप नेपाल, मन्त्रालयका उपसचिव युवराज खतिवडाको टोली अनुगमनमा निस्केको थियो। टोलीले काठमाडौं उपत्यकाभित्रका १० वटा कम्पनीमा पुगेर एनालगबाट चल्दै आएका सम्पूर्ण सेवा बन्द गराएको हो।

सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालका अनुसार टोलीले बुधबार सुबिसु केबल नेटवर्क प्रालि, सोनिङ केबल टीभी, काठमाडौं केबल, जावलाखेल केबल नेटवर्क प्रालि र स्काई केबललगायत १० टेलिभिजन सेवा प्रदायक कम्पनीको अनुगमन गरेको हो।

सञ्चार मन्त्रालयले गत वैशाख १५ पछि काठमाडौंलगायत विभिन्न महानगरमा केबल टेलिभिजनलाई डिजिटलाइजेसनमा जान निर्देशन दिएको थियो।नगरपालिकाका लागि गत कात्तिक १५ सम्मको समयसीमा तोकिएको थियो। आगामी वैशाख १५ बाट देशभरका एनालग टेलिभिजन बन्द हुने मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.