भित्री मधेसमा भूमिगत पानी सुके

|

उदयपुर : उदयपुर गढी गाउँपालिकाको केन्द्र उदयपुरगढीमा खानेपानी समस्या परम्परागत भइसकेको छ। खानेपानी अभावकै कारण ०२७ मा उदयपुर जिल्लाको सदरमुकाम रहेको उदयपुर गढीबाट सदरमुकाम गाईघाट सारिएको थियो।

त्यसपछि मुलुकमा धेरै ठूला ठूला परिवर्तन आए, विकासका नाममा करोडौँ रकम खर्च भए तर, धित मारेर तिर्खा मार्ने पानी गढीबासीको चाहना पूरा हुन सकेको छैन।

०२७ अघि उदयपुर जिल्लाको सदरमुकाम रहेको उदयपुर गढीमा बडाहाकिम बस्थे। त्यसपछि पञ्चायत प्रमुख, अनि गाविसका अध्यक्ष र अहिले गाउँपालिका प्रमुख बस्दै आएका छन। उदयपुरगढीमा खानेपानीको समस्या वर्षौंदेखि नटरेको स्थानीय मनमाय पाण्डेले गुनासो गरिन्। ‘घरनजिकै धारै घारा छन् तर, पानी भने आउँदैन।,’ उनले भनिन्, ‘पानी लिन दुई घन्टा हिँडेर जोगीमारा र सरस्वती खोला पुग्नुपर्छ।’

धारा पुग्यो तर, पानी पुगेन

पञ्चायत प्रमुख, अनि गाविसका अध्यक्षले पालामा उदयपुरगढीमा खानेपानीको धारा पुग्यो तर, पानी पुगेन। ०५२ मा निर्माण गरिएको खानेपानी योजनाका अधिकांश ठाउँका पाइप खिया लागेर काम नलाग्ने भएको छ। त्यो पनि पानी नआइकन खिया लागेको स्थानीयको गुनासो छ।

धारा निर्माण भएर पनि पानी नआउने खानेपानीका योजना उदयपुरमा धेरै रहेको खानेपानी तथा सरसरफाइ कार्यालय उदयपुरमा प्रमुख रामकुमार खड्काले बताए। ‘जिल्लामा ८३ प्रतिशितलाई खानेपानी छ भनेर कार्यालयको तथ्यांक छ,’ उनले भने, ‘२०५० सालदेखि २०६६ सालम्म बनेको खानेपानीका योजनामा कतै पानी आउँदैन, २०५० सालभन्दा अघि निर्माण भएका योजनाहरुको त कुरै नगरौँ।’

त्यस्तै, बेलका नगरपालिकामा पर्ने मैनामैनीको हाङमाच्युङमा २० वर्ष अघिसम्म पानी आउने मुहान अहिले सुकेको छ। ‘नजिकैको कुवाधारा सुकेपछि अहिले पानीका लागि दैनिक दुई घण्टा खर्चनुपर्ने बाध्यता छ,’ स्थानीय सुब्बाशेर राईले भने, ‘एक गाग्रो पानीका लागि दुई घण्टा हिँड्नुपर्छ।’

पानी नहुँदा हाङमाच्युङ क्षेत्रका झन्डै डेढ सय परिवार समस्यामा छन्। पानी नहुँदा सयौँ बसाइँसराइ गरी सप्तकोसी पुलको आसपास र सुनसरीतर्फ बसाइँसराइ गएको सर्वसाधारण बताउँछन्।

बेलका, मैनामैनी र उदयपुरगढी उदाहरण मात्र हुन्। खानेपानी, बिजुली, सडकलगायत पूर्वाधारै नभई नगरपालिका बनेका कटारी, त्रियुगा, चौदण्डीगढी र बेलकाका पनि खानेपानीको काकाकुल सुरु भएको छ। यता, गाउँपालिका क्षेत्रमा पनि समस्या उस्तै भएको खानेपानी तथा सरसफाइ कार्यालय उदयपुरका प्रमुख श्रेष्ठको दाबी छ।

लामो समय खडेरी परेका पहाडी क्षेत्रका अधिकांश खानेपानीका मुहान सुकेका छन्। ‘खानेपानीको धारा घर–घरमा बनेका छन्, पानी आउँदैन,’ लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले भने, ‘एक पुराना योजनाहरु देखउने मात्रका छन्, अर्को जलवायु परिवर्तनले समेत पानीका मुहान सुक्दै गएका छन्, अनि पानीको हाहाकार फैलिएको छ।’

जिल्लामा खानेपानीको तथ्यांक नै छैन

जिल्ला खानेपानी तथा सरसफाइ कार्यालय उदयपुरका प्रमुख रामकुमार श्रेष्ठले आधिकारीमा रुपमा खानेपानीको अवस्था दर्शाउने तथ्यांक नभएको बताएका छन्। ‘मलाई लाग्छ, ०७५÷५८ सालतिर गरिएको सर्वे हुनुपर्छ, त्यसमा ८३ प्रतिशित उदयपुरवासी खानेपानीको पहुँचमा छन् भनेर देखाइएको छ,’ श्रेष्ठले भने, ‘त्यसपछि त्यही तथ्यांकलाई प्रयोग गर्दै आइएको छ, जताजतै खानेपानीको अभाव छ।’

पिउनयोग्य पानीको सुविधा त परै जाओस् पानीसमेत धेरै बस्तीहरुमा अभाव रहेको श्रेष्ठले बताए। उनका अनुसार ०७५÷०५८ सालतिर गरिएको सर्वेअनुसार आर्थिक वर्ष ०७३÷७४ मा प्रकाशन गरिएको तथ्यांकमा १० हजार ९ सय ९४ (१७ प्रतिशत) घरपरिवार दूषित पानी पिउन बाध्य देखाएको छ।

०६८ सालको जनगणनाअनुसार जिल्लामा जम्मा ६८ हजार २ सय ५८ घरपरिवारमा  १० हजार ९ सय ९४ घरले कुवा, खोला र मूलको पानी पिउँदै आएको भनिएको छ। जसमा खोलाको पानी पिउने १ हजार ५ सय ४१, मुलको पानी खाने ८ सय ७ घर, र कुवाको पानी पिउने ८ हजार ६ सय ४६ घरपरिवार छन्।

कार्यालयले आर्थिक वर्ष ०७३÷७४ मा तयार पारेको जिल्ला खानेपानी प्रोफाइलमा जिल्लामा जम्मा ८३ प्रतिशत खानेपानी घरपरिवारलाई खानेपानीको सुविधा पुगेको र बाँकी १७ प्रतिशत अपुग भएकोे जनाइए पनि कार्यालय प्रमुखले पुरानै तथ्यांकले काम चलाउँदा हचुवाकै भरमा भन्न नमिल्ने बताए। ‘हामी तथ्यगत रुपमा भन्न सक्दैनाँै,’ उनले भने, ‘खानेपानीको सत्य, तथ्य दर्शाउने कुनै तथ्यांक संकलन गरेका छैनौँ।’

कार्यालयले आर्थिक वर्ष ०७३÷७४ मा तयार पारेको जिल्ला खानेपानी प्रोफाइलमा सार्वजानिक तथा निजी पाइप लाइन प्रणाली र ट्युबेलबाट ५७ हजार २ सय ६४ घरले पानी प्रयोग गर्ने गरेका छन्। जसमा सार्वजानिक रुपमा सरकारी तथा गैरसरकारी नियकायको सहयोग बनेका पाइपलाई खानेपानी योजनाबाट २४ हजार ८ सय ७४ घरपरिवारले पानी पाएका छन्। ४ हजार ४ सय २ घरले आफ्नै लगानीमा पानी घरमा ल्याएका छन्।

यसैगरी, ट्युबेलबाट पानी पिउने १० हजार १ सय १६ घरपरिवार छन्। जसमा सार्वजनिक ट्युबेलबाट २ हजार २ सय १२ घरपरिवार छन् भने निजीबाट ८ हजार ५४ घर छन्। अन्य व्यवस्थित प्रणालीमा आकाशको वर्षाते पानी, सुरक्षित मूल र इनारको पानी प्रयोग गर्ने जम्मा १७ हजार ८ सय १२ घरपरिवार रहेको कार्यालयका प्रमुख रामकुमार श्रेष्ठले बताए। उनका अनुसार  वर्षे पानी खाने ६ सय २८ घर, सुरक्षित मूलको पानी पिउने १३ हजार ९ सय ९१, र संरक्षित इनारबाट खानेपानी प्रयोग गर्ने ३ हजार २ सय ६३ घरपरिवार रहेका छन्।

जिल्लामा खानेपानीको तथ्यांक उच्च देखाइए पनि कतिपय स्थानमा खानेपानी योजनाहरु मर्मत गर्नुपर्ने र केही योजना पूर्ण बनाउनुपर्ने भएकाले तथ्यांकको आधारमा नभएको पनि कार्यालय प्रमुख श्रेष्ठको भनाइ  छ।

जिल्लामा १७ वटा छन् निर्माणाधीन खानेपानी योजना

खानेपानी योजना जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय उदयपुरका प्रमुख रामपुकर श्रेष्ठले जम्मा एक अर्ब ९ करोड लगातमा १७ ओटा ठूला तथा साना खानेपानी आयोजनाको निर्माण भइरहेको बताए। खानेपानी तथा सरसफाइ मन्त्रालयको करिब १ अर्ब ९ करोड रुपैयाँ बराबर लगातका खानेपानी योजना निर्माण भइरहेका छन्। ‘ठेकेदार र उपभोक्ता समितिमार्फत काम गर्नु गरेका छाँै, उनले भने।

०७३÷७४ मात्र एक करोड ५० लाख फ्रिज भएको थियो । चालू आर्थिक वर्षमा निरन्तर काम भइरहेका छन्। निर्माणाधीन आयोजनाबाट खानेपानी समस्या भोगिरहेका जिल्लाका चारवटा नगरक्षेत्रका करिब ६० हजार उपभोक्ता प्रत्यक्ष लाभान्वित हुनेछन्।

कार्यालयका अनुसार पाँच करोडभन्दा मुनिका आयोजनाहरूमा हडिया, ज्यामिरे, मोतीगडा, जलजले, चुहाडे, त्रियुगा सुकलाही, शहरे कालीखोला खानेपानी हुन। सबै योजना आगामी आर्थिक वर्षभित्र सक्ने गरी काम थालिएको छ।

यसैगरी, निर्माणाधीन खानेपानी आयोजनामध्ये रामपुर ठोक्सिला, बसाहा, बगाहा, लालपत्ता खारखोला, रातमाटे, असारी, माडीवास, पाँचधारे, रामपुर भूमिगतलगायत आयोजनामा पाँच करोडदेखि १३ करोडसम्मको लागत इस्टिमेटका छन्। १३ करोडमाथिका हात्तीखर्कलगायतका खानेपानी आयोजनाको काम अहिले पनि सुस्त गतिमा चलेका छन्।

विशेष गरेर खानेपानी समस्या भएका त्रियुगा, चौदण्डी, बेलका र कटारी नगरपालिकामा भएका योजनाहरुको काममा ढिलाइ भएको छ। नेपाल सरकारको प्रत्यक्ष सहयोगमा सञ्चालनमा रहेका आयोजनामध्ये कतिपय सम्पन्न हुने अवस्थामा छन् भने बजेट अभावका कारण केही आयोजनाको निर्माण अवधि लम्बिइरहेको कार्यालयको भनाइ छ।

कतिपय उपभोक्ता समितिले समयमै मर्मतसम्भार कोषका लागि कुल इस्टिमेट लागत रकमको एक प्रतिशत रकम उपभोक्ताबाट संकलन गरेर कोषमा बुझाउन नसकेकै कारण काममा ढिलाइ भएको छ। निर्माणाधीन योजनामा १ लाख ५० हजार लिटरदेखि ५ लाख लिटर पानी भण्डारण गर्ने क्षमता ट्यांकी निर्माणमा ढिलाइ भएको कार्यालयको भनाइ छ। जिल्लाको आठवटै स्थानीय तहमा खानेपानीको पहुँच पु¥याउनु झन्डै तीन अर्ब रुपैँया लाग्ने कार्यालयको अनुमान छ।

पानीका मुहान सुक्दै जानुमा के भन्छन् स्थानीय?

चुरे पहाड क्षेत्रमा पानीको स्रोत सुक्दै छन्। चुरेसँगै महाभारत क्षेत्रमा समेत स्रोत सुक्दै जाँदा त्रियुगा नदीको तल्लो तटीय क्षेत्रमा पानीको समस्या भएको छ। बर्सेनि खडेरी पर्ने समय बढ्दै जाँदा पनि स्रोत सुक्दै गएको हो। चुरे र महाभारत पहाडमा पहिलेको जस्तो जल भण्डार हुन छोडेको छ।

 ‘विनाश धेरै छ, संरक्षणका लागि ल्याइएको कार्यक्रम छैन,’ चौडण्डिगढी नगरपालिका ५ सुन्दरपुरका ८२ वर्षीय नगरु चौधरीले भने, ‘विनाश वर्षौंदेखि हुँदै आएको थियो, संरक्षण छैन, पानीका मुहान सुके।’ चुरे क्षेत्रका मुहान र भूमिगत पानीको स्रोत सुक्दै गएपछि दर्जनौँ बस्तीमा पिउने पानीको समस्या भएको छ। गत वर्षहरूमा पनि पानीको स्रोत सुक्ने समस्या थियो। तर, अहिलेजस्तो पूर्ण रूपले ठप्प हुने गरी स्रोत सुकेको थिएन।

गत वर्षहरूमा चैत वैशाखसम्म मुहानको पानी सुक्दैनथ्यो। तर, यो वर्ष माघदेखि नै क्रमस भूमिगत र मुहानको पानी सुक्दै गएपछि पिउने पानीकै समस्या हुने गरेको स्थानीयले बताए। स्थानीयको बुझाइमा पानीको स्रोत सुक्नुमा चुरे विनाश नै प्रमुख कारण हो।

चुरे र महाभारत पहाड क्षेत्रमा वर्सेनी पानीको स्रोत क्रमस घट्दै गएको छ। चुरे र महाभारत बीचको त्रियुगा नदी तटीय क्षेत्रमा समेत त्यसको असर परेको छ। स्रोत सुक्दा महाभारत पहाडका गाउँ बस्ती प्रभावित भएका छन। बढ्दो वन विनाशसँगै वर्षौंदेखि स्रोत सुक्ने क्रम बढ्ने क्रममै थिए।

जलवायु परिर्वतनका कारण बर्सेनि लामो समयको खडेरी असर गर्दा पानीको स्रोत सुकेको स्थानीय गौरव कार्कीले बताए। ‘पुस माघदेखि नै क्रमशः पानीको स्रोत सुक्दै आएको छ,’ कार्कीले भने, ‘त्यसैले नदी तटीय क्षेत्रमा सर्वसाधारणलाई पशुपालनसँगै अन्न उत्पादनमा समेत असर गरेको छ।’ ‘महाभारत क्षेत्रमा पुस अन्तिमदेखि नै पानीको स्रोत सुक्ने समस्या आएको हो,’ चुरे तलको दमौतीका देवकुमार राईले भने, ‘अहिले आएर ठप्पै भएको छ।’ स्रोत सुक्दै जाँदा पिउने पानीको समेत समस्या छ, उनले भने।

महाभारत क्षेत्रमा पर्ने दर्जन बढी पहाडी बस्तीमा अन्य समयमा समेत पानीको समस्या थियो। चौडण्डी, मैनामैनी, लेखानी, मंयखु, डुम्रे, बर्रे, भलयडाँडा, पञ्चवती, रिस्कुलगायतका बस्तीमा पिउनेपानीको समस्या छ। त्यसैगरीचुरे तलका बेल्टार, बसाह, रामपुर, कटारीलगायतका बजारमा पनि पानीको समस्या छ। पानी अभावमा महाभारत पहाडमा पर्ने दर्जनौँ बस्ती बसाइँ सरी त्रियुगा नदीको तल्लो तटयी बसाइँ सर्ने क्रम बढेको छ।

नदी तटीय क्षेत्रका बासिन्दाले प्रयोग गर्दै आएको इनार र चापाकल सुकेका छन्। पानीको स्रोत बर्सेनि बढदो खडेरी र भूकम्पले तल्ल गएकाले सुकेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्। नदी तटीय क्षेत्र त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका जोगिदह, हडिया, सुन्दपपुर र तपेश्वरीका सर्वसाधारण अहिले पानीको विकल्पको खोजीमा जुटेका छन्।

चौदण्डीगढी नगरपालिका–५ सुन्दरका वडाध्यक्ष देवनारायण चौधरीले भने, ‘त्रियुगा नदी आसपासका बस्तीमै पानीको स्रोत तलमाथि हुने गर्दा समस्या भएको हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.