एउटै स्थानमा १७ बढी दुर्घटना, ५४ को मृत्यु

|
दुर्घटना कम हुने विश्वासका साथ बनाउन लागिएको निर्माणाधीन मन्दिर।

दाङ : दुर्घटनाबाट मृतक आत्माको शान्तिका लागि भन्दै सल्यानमा स्थानीयले मन्दिर निर्माण कार्य सुरु गरेका छन्। राप्ती लोकमार्गअन्तर्गत दाङ सल्यानको त्रिवेणी गाउँपालिका-५ र ६ को सिमानामा पर्ने भाण्टाखोला क्षेत्र सवारी दुर्घटनाको जोखिमयुक्त स्थान हो।

यस क्षेत्रका ठूलो मात्रामा जनधनको क्षति भएको र अझै पनि दुर्घटनाको क्रम नरोकिएकाले प्रेत आत्माको शान्तिका लागि मन्दिर निर्माण गरेर पूजाआजा गर्ने योजनाका साथ स्थानीयले मन्दिर निर्माण कार्य सुरु गरेका हुन्।

एउटै स्थानमा १७ बढी दुर्घटना, ५४ को मृत्यु

०४२ सालदेखि हालसम्म त्यहाँ सवारी दुर्घटना भएर ५४ जनाको मृत्यु भइसकेको छ भने  १७ वटा बढी सवारी दुर्घटना भएका छन्। उक्त ठाउँमा शिव र विश्वकर्मा बाबाको मन्दिर निर्माण गर्न थालिएको हो। गत माघ १५ गते वडा नम्बर ५ र ६ का स्थानीयहरु भेला भएर मन्दिर निर्माणका गर्न लागेको अध्यक्ष मन्दिर निर्माण समितिका अध्यक्ष मानबहादुर वलीले बताए।

‘अहिले विभिन्न निकायसँग सहयोग जुटाएर मन्दिर निर्माण कार्यलाइ अगाडि बढाइरहेका छौँ,’ उनले थपे, पटक-पटक भाण्टाखोला क्षेत्रमा गाडी दुर्घटना भइरहन्छ स्थानीयहरु त्यस क्षेत्रमा कुनै प्रेत आत्माको बास रहेको र उक्त आत्माले सताइरहेका कारण दुर्घटना बढेको बताउँछन्, तसर्थ दुर्घटना घटाउन मन्दिर निर्माण गर्न लागेका हौँ।’

पहिलोपटक ०४२ मा यात्रुवाहक बस भाण्टाखोलामा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो भने २०५९ मा त्यसै क्षेत्रमा अर्काे ठूलो दुर्घटना भएको थियो। जुन बस दुर्घटनामा ४२ जनाको मृत्यु भएको थियो भने ५० बढी घाइते भएको स्थानीय तथा समितिका सदस्य मानबहादुर नेपालीले बताए।

यस्तै, अन्य साना ठूला १५ वटाभन्दा बढी सवारी दुर्घटना भाण्टाखोला क्षेत्रमा मात्रै भएको उनले बताए। गत माघ ८ गते पनि बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए।

१० लाख बढी आवश्यक, सहयोगको आग्रह

अहिलेसम्म मन्दिर निर्माणका लागि चारवटा पिलर उठाएर सडक लेबलसम्म ढलान कार्य सकिएको छ। अब मन्दिर निर्माण कार्य पूरा गर्नका लागि १० लाख बढी लाग्ने अध्यक्ष वलीले बताए। पिलर निर्माण र ढलानका लागि २ लाख ४३ हजार रुपैयाँ लागेको समितिका सदस्य प्रेम सेर्पाइलीले बताए।

‘हामीले खर्च गरेको दुई लाख ४३ हजार रुपैयाँ स्थानीयवासी, गाडीधनी तथा विभिन्न सहयोगी दाताहरुबाट संकलन गरेका थियौँ,’ उनले भने, ‘अझै एक लाख आवश्यकपर्ने देखिएकाले सहयोग जुटाउने अभियान जारी राखेका छौँ।’

सहयोग जुटाउनका लागि समितिले गाउँपालिका, जिल्ला प्रशासन, वडा कार्यालयलगायतका निकायसँग अनुरोध गरेको छ। यद्यपि, सोचेअनुसारको सहयोग जुट्न नसकेको समितिका सदस्य सेर्पाइलीले बताए। मन्दिर निर्माण कार्य आगामी वडादसैँसम्म सक्ने लक्ष्य लिएको छ। सडकको छेउमा निर्माण हुन लागेको शिव मन्दिर तथा विश्वकर्मा बाबाको मन्दिरमा शिलालेख राखिने र शिलालेखमा सहयोग गर्ने दाताहरुको नाम उल्लेख गर्ने समितिले जनाएको छ।

समितिको निर्णयअनुसार पाँच हजारसम्म सहयोग गर्ने व्यक्ति र १० हजारसम्म सहयोग गर्ने संघ, संस्था वा कार्यालयको नाम शिलालेखमा उल्लेख गरिने समितिले जनाएको छ। 

त्रिवेणी–६ सल्लेखालाकी स्थानीय जानकी रावतले पहिले–पहिले भाण्टाखोलास्थित बैगाडा खोलामा कुनै अनिष्ट नहोस् भनेर पूजाआजा गर्ने गरेको सुनाइन्। ‘पूजा आजा, धारधूप नगर्दा ज्युला ल्याएका लालाबाला हराउने तथा मर्ने गर्दथे। यस हिसाबले पनि यहाँ कुनै शक्ति वा प्रेतआत्मा छ भन्ने पुष्टि हुन्छ,’ उनले भनिन्, ‘त्यही प्रेत आत्माले दुर्घटना गराइरहेको छ भन्ने निष्कर्षमा पुगेर हामीले मन्दिर निर्माण गर्न लागेका हौँ।’ 

सम्बन्धित समाचार:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.