|

उदयपुर : त्रियुगा नगरपालिकाकाले छुट्टै नगर गीत र लोगो बनाउने भएको छ। नगरपालिकाले त्रियुगा नगरपालिकालाई चिनाउने र पहिचान झल्काउने ‘नगर गान’ र ‘नगर लोगो’ बनाएर लागू गर्ने भएको हो।

उदयपुरको सदरमुकाम रहेको अगुवा नगरपालिकामा पर्ने त्रियुगाले आउँदो नगरसभा अधिवेशनबाट पारित गरेर लागू गर्ने गरी नगर गान र नगर लोगो तयार गर्न सर्जकहरूलाई आग्रहसमेत गरिसकेको नगरपालिका प्रमुख बलदेव चौधरीले बताए। ‘त्रियुगा नगरबासीको छुट्टै पहिचान देखाउने हुनेछ,’ चौधरीले भने, ‘नगरपालिकाको साँस्कृतिक, प्राकृतिक, सामाजिक, ऐतिहासिक, भौगोलिक तथा बहुपहिचानको झल्को दिनेगरी नगर गान र नगर लोगो हुनेछ।’

फागुन २५ गते सम्पन्न दोस्रो नगरसभा अधिवेशनले नगरपालिकाको पहिचान स्थापित गर्न नगर गान रचना गरी सभा समारोह आदिमा गाउने-बजाउने प्रारम्भिक खाका तयार गरिएको उनको दाबी छ। त्रियुगाको आफ्नै पहिचान झल्काउने गरी नगर गान अर्थात म्युनिसिपल एन्थम बनाउन लागेको नगरपालिकाले जनाएको छ।

‘नगर गान’ नगरपालिकाका हरेक औपचारिक कार्यक्रमहरूमा राष्ट्रिय गानजस्तै कार्यक्रम सुरु हुनुभन्दा अगाडि सामूहिक रुपमा गाउने नियम बसाल्न लागिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलको भनाइ छ। ‘देशको आफ्नो छुट्टै राष्ट्रिय गान भएजस्तै त्रियुगा नगरपालिकाले पनि छुट्टै नगर गान र नगर लोगो बनाएर लागू गर्न लागिएको छ,’ लुईटेलले भने, ‘त्यसै अनुसार त्रियुगाले पनि आप्mनो पहिचान झल्काउने खालको नगर गान र नगर लोगो बनाएर लागू गर्न लागेको हो।’

योजना अनुगमन अधिकृत विश्वजित राईले १५ दिनको म्याद दिएर सूचना जारी गरेर रचना माग गरेको बताए। ‘निश्चित समयावधि तोकेर रचना माग गर्दा पेश हुने गीत तथा लोगो मध्ये उत्कृष्टलाई छनौट गरेर संगीत भरेर नगरसभाले पारित गरेपछि नगर गान लागू हुन्छ’, राईले भने, ‘त्यसका लागि विज्ञहरू सम्मिलित छनौट समिति बनाएर गीत छान्ने काम हुनेछ।’

जातीय सद्भाव, लैंगिक समानता, भौगोलिक, प्राकृतिक र ऐतिहासिक सम्पदा उजागर गर्ने शब्दले भरिएका रचनालाई नगर गानमा प्राथमिकता दिइने छ। नगरपालिका लोकतान्त्रिक गणतन्त्र र संघीयताको कार्यान्वयन गर्न अधिकारसम्पन्न स्थानीय सरकार हो भन्ने प्रभाव छाड्न पनि नगर गान लागू गर्न लागिएको राईको भनाइ छ।

स्थानीय सरकारको पहिचान र परिचय दिने लोगोसँगै गीत बनाउने प्रयास गर्ने जिल्लाका आठ वठा स्थानीयतहभन्दा त्रियुगा पहिलो भएको छ। अन्य तीन नगरपालिका र चार गाउँपालिकाकाले छुट्टै गीत र लोगो बनाउने तयारी थालेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.