|

बुटवल : थ्री स्टार क्लबले सर्वाधिक राशीको मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बुटवल रामनगरस्थित खेल मैदानमा सोमबार भएको फाइनलमा मनाङ मर्स्याङदी क्लब काठमाडौंलाई २-१ गोल अन्तरले हराउँदै थ्री स्टारले उपाधि उचालेको हो।

तर, खेलका सुरुवाती अग्रता भने मनाङले लिएको थियो।  खेलको दोस्रो मिनेटमा मनाङका विशाल रानाले गोल गरे। यद्यपि जीत भने निकाल्न सकेन।  पहिलो हाफमा १ गोलको अग्रता लिँदै थ्री स्टारलाई दबाबमा राखेको मनाङले दोस्रो हाफमा सम्हालिन नसक्दा उपविजेतामा चित्त बुझाउनु पर्‍यो। दोस्रो हाफमा थ्री स्टार आक्रामक भएपछि मनाङ रक्षात्मक खेल खेलेको थियो।

थ्री स्टारले मनाङमाथि दबाब बढाउँदै २-१ को नतिजा निकाल्यो। दोस्रो हाफमा थ्री स्टारका अनन्त तामाङले ६९औं मिनेटमा गोल गरेर बराबरी पुर्‍याएका थिए। सुनिल बलको पासलाई तामाङले जालि चुमाए। थ्री स्टारका विदेशी खेलाडी मार्टिनले खेलको ८२औं मिनेटमा अर्को गोल थप्दै थ्री स्टारलाई २–१ को अग्रता दिलाए।

जीतसँग थ्री स्टारले १५ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता चित्त बुझाएको मनाङले भने सात लाख ५० हजार नगद प्राप्त गर्‍यो। यससँगै थ्री स्टारले यो सिजनको तेस्रो उपाधि उचाल्यो। थ्री स्टारले यसअघि यही सिजनमा बुटवलमा तिलोत्तमा गोल्डकप, धरानमा बुढासुब्बा गोल्डकप र इटहरीमा मदन भण्डारी मेमोरियल गोल्डकपको उपाधि जितेको छ। 

सर्वोत्कृष्टको उपाधि

मनाङ मर्स्याङदीका अन्जन विष्ट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५० हजारबाट पुरस्कृत भए। प्रतियोगिता अवधिभरमा सर्वाधिक चार गोल गरेका विष्टले १५ हजार हात परेका थिए। उत्कृृष्ट गोलरक्षक थ्री स्टारका विदेशी खेलाडी पिटर, उत्कृष्ट मिड फिल्डरबाट थ्री स्टारकै निरञ्जन खड्का र उत्कृष्ट फरवार्डबाट थ्री स्टारकै िवदेशी खेलाडी अजये मार्टिन पुरस्कृत भए। यसैगरी उत्कृष्ट गोलकिपरबाट मदन भण्डारीका विनायक श्रेष्ठ र उत्कृष्ट प्रशिक्षकका रूपमा थ्री स्टारका प्रशिक्षक मेघराज केसी पुरस्कृत भएका छन्। विधागत रूपमा उपाधि पाउनेले जनही नगद १५ हजारस रुपयाँ पाए। विजयी टिमलाई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पुरस्कार वितरण गरेका थिए।  

मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश ५ को आयोजनामा चैत ९ गतेदेखि बुटवलमा तेस्रो अन्तर्राष्ट्रिय मदनभण्डारी गोल्डकप भएको थियो। प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी, नेपाल प्रहरी, एपिएफ, थ्री स्टार क्लब, मनाङ मर्स्याङदी, मदन भण्डारी एकेडेमी, सुनौलो संगम, झापा ११, सुदूरपश्चिम ११ र मलेसियाको हिमालय एफसिको सहभागिता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.