|

चितवन : स्थानीय उद्योग र उत्पादनको प्रवद्र्धनका लागि चितवनको भरतपुरमा यही चैत २३ गतेदेखि ‘पाँचौँ राष्ट्रिय औद्योगिक प्रदर्शनी’ हुने भएको छ।

चितवन उद्योग संघ भरतपुरको आयोजनामा हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ। 
प्रदर्शनी मूल आयोजक समितिका संयोजक भेषराज दुवाडीले औद्योगिक प्रदर्शनीले विदेशबाट फर्किएका नयाँ उद्यमी र यहांँ रहेका उद्यमीहरूलाई सक्षम बनाउन टेवा पुग्ने बताए।

औद्योगिक प्रदर्शनीस्थल भरतपुरमा आयोजना हुने प्रदर्शनीमा २४० वटा स्टल रहने र अहिलेसम्म २०० वटा स्टल बुकिङ भइसकेको प्रचार प्रसार समितिका संयोजक मदन घिमिरेले जानकारी दिए। 

चैत २७ सम्म चल्ने प्रदर्शनीमा ८५ प्रतिशत औद्योगिक सामान, उपकरण र १५ प्रतिशत स्थानीय कृषि उत्पादनका स्टलहरू रहने उद्योग संघले पत्रकार सम्मेलनमा जानकारी दिएको छ। 

‘दिगो आर्थिक विकासका लागि औद्योगिक प्रवद्र्धन’ भन्ने मूल नाराका साथ हुन लागेको प्रदर्शनीमा कृषिजन्य उद्योग, पर्यटन, स्वास्थ्य, प्रविधिलगायतका स्टलहरू रहनेछन्। 

प्रदर्शनीमा औद्योगिक वस्तुको प्रत्यक्ष अवलोकन, उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट र परामर्श, उद्योग प्रवद्र्धन परिसर, व्यापार प्रवद्र्धन परिसर, महिला उद्यमी परिसर, रोजगार प्रवद्र्धन परिसर, कृषि तथा पशुजन्य उत्पादन परिसर, होटल तथा रेस्टुरेन्ट परिसर रहने आयोजकले जानकारी दिएको छ।

प्रदर्शनीमा ५० हजारदेखि ८० हजारसम्म दर्शकहरू आउने अपेक्षा गरिएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.