|

निरंकुश पंचायती सत्ताविरुद्ध आन्दोलनमा सहादत प्राप्त गरेका रत्नकुमार बान्तवाको ६६औँ जन्मजयन्ती तथा ३९औँ स्मृति दिवस मनाइँदै छ। रत्न बम प्रतिष्ठानले हरेक वर्ष वान्तवाको स्मृति दिवस मनाउँदै आएको छ। यस वर्ष पनि बान्तवाको जन्मस्थल चमैता चित्रेमा स्मृति दिवस आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष डा. देवी क्षेत्री दुलालले बताए। 

बान्तवाको जन्म वि. सं. २००८ चैत २७ गते इलाम चमैताको चित्रे (हाल देउमाई नगरपालिका– १) मा गर्जमान र पुष्पमाया राईका ११ सन्तानमा तीनवटी दिदीपछि जेठो छोराका रूपमा भएको थियो। उनको बाल्यकाल अभाव र गरिबीमा बित्यो। प्रारम्भिक चरणको शिक्षा चमैतामा पूरा गरी कक्षा ७ सम्म इलामको नारायणस्थानमा आफ्ना मामा गणेश राईको घरमा बसेर पढेका थिए उनले। 

कक्षा ८, ९ र १० पढ्नका लागि पाँचथरको फिदिम हाइस्कुल गए। त्यतिबेला बुबा फिदिममा प्रहरीको जागिरे भएकाले रत्नकुमार पनि बुबासँगै पाँचथर पढ्न पुगेका थिए। २०२८ सालमा उच्च शिक्षाका लागि धरानमा काका नाता पर्ने तुलराम देवानको घरमा बसेर आईए पढ्न थाले। तुलरामका छोरा बम देवानसँग रत्नको राम्रो मित्रता कायम रह्यो। उनले धरानमा पढे पनि त्यसको वार्षिक परीक्षा भने इलाम क्याम्पसबाटै दिए। आईए उत्तीर्ण गरेर बीएड पढ्न २०३० सालदेखि उनी काठमाडौँमा दुई वर्ष बसे।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट उनले २०३२ सालमा बीएड उत्तीर्ण गरी इलाम फर्किए। इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा लगभग छ महिना अध्यापन गरी पूर्णकालीन राजनीतिमा सक्रिय हुन थालेपछि अध्यापन कार्यलाई छाडेर रत्न जनताको माझमा गए। 

धरानमा आईए पढ्दै गर्दा २०२८ सालमा झापामा विद्रोह सुरु भयो। झापा विद्रोहले रत्नकुमारमा गम्भीर छाप छाड्यो। वामपन्थी विचार राख्ने बम देवानले पनि रत्नकुमार बान्तवालाई कम्युनिज्मका बारेमा लेखिएका किताब, पत्रपत्रिका तथा अन्य सामग्री पढ्न दिएर सहयोग गरे। उनीभित्र बढ्दै गरेको कम्युनिस्ट मोह काठमाडौंमा आएपछि झाँगियो। २०३० असार १५ गते कीर्तिपुरमा रत्नकुमार बान्तवाको भेट वर्तमान नेकपा एमालेका महासचिव ईश्वर पोखरेलसँग भयो। पोखरेल र बान्तवा एउटै कक्षा र एउटै विषय अध्ययन गर्ने सहपाठी थिए।

वि.सं. २०३२ सालमा अखिल नेपाल कोअर्डिनेसन केन्द्रको इलाम जिल्ला कमिटी गठन भयो। यसको सचिव थिए, झलनाथ खनाल। अन्य सदस्यमा रत्नकुमार बान्तवा, गणेश राई, अगम बान्तवा, भक्त देवान, बमप्रसाद वान्तवा र वसन्त पराजुली थिए। बुर्जुवा शिक्षा बहिस्कार गर्दै गाउँगाउँमा गएर जनतालाई संगठित गर्नुपर्छ भन्ने मान्यताका साथ रत्नकुमार बान्तवा क्याम्पसको जागिर छाडेर २०३३ सालदेखि पूर्णकालीन राजनीतिमा सक्रिय हुन थाले।

रत्नकुमार बान्तवाले २०३४ सालमा चमैताको आफ्नै घरमा सुरुङ बनाए। त्यसमा बमप्रसाद, डिल्ली, मोहन र पदमको समूह लागेको थियो। रत्नकुमार बान्तवा वैज्ञानिक र व्यावहारिक ज्ञानमा पोख्त थिए। बान्तवाको प्रत्यक्ष निर्देशन र कल्पनामा बनाइएको सुरुङभित्र आधा दर्जन व्यक्ति बसेर छलफल गर्न सक्ने ठाउँ छ। सुरुङको एउटा मुख रत्नको घरमा थियो भने अर्काे मुख जंगलको बीचमा थियो। 

प्रहरीसँगै आएका सुराकीले औँल्याएपछि अगाडि रहेका बान्तवालाई प्रहरी विष्णु राईले गोली हाने। रत्नकुमार बान्तवाले पहिलो गोली छले र खुकुरी झिकेर प्रहरीमाथि जाइ लागे। दोस्रो गोली पनि छलिएर अर्काे प्रहरीलाई लाग्न पुग्यो। तेस्रो गोलीले रत्नकुमार बान्तवाको छाती फोरेर मुटुलाई छेड्यो।

तेस्रो शक्तिको रूपमा स्थापित नेपाल कम्युनिस्ट पार्टीको २०३५ पुस ११ गते संस्थापक केन्द्रीय सदस्य भएका रत्नकुमार बान्तवा पूर्व–उत्तर क्षेत्रको इन्चार्ज थिए। उनको कार्यक्षेत्र इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर र संखुवासभा जिल्ला थिए। २०३५ माघमा नेकपा माले इलाम जिल्ला कमिटी गठन भयो र त्यसका सचिव पनि रत्नकुमार बान्तवा नै भए।

पाँचथरको सुकेपोखरी प्रहरी चौकीबाट २०३५ मंसिरमा गस्तीमा गएका एक प्रहरीलाई चमैताका किसानले नियन्त्रणमा लिएर कुटपिट गरे। प्रहरीलाई नियन्त्रणमा लिएर किसानले कुटेपछि त्यो विद्रोहको पछाडि रत्नकुमार बान्तवाको हात छ भन्ने कुरा प्रशासनले थाहा पायो र चमैता, चित्रे, इभाङमा व्यापक सर्च अभियान चलाउन थाल्यो। २०३५ फागुन २१ गते सुखानीमा मारिएका पाँच जनाको स्मृति दिवस पारेर इलामभरि व्यापक पर्चा छरियो। यसको प्रत्यक्ष नेतृत्व रत्नकुमार बान्तवाले गरेका थिए। त्यस समयमा झलनाथ खनाल झापा जेलमा थिए भने तत्कालीन नेकपा मालेको केन्द्रीय कमाण्डरका रूपमा रत्नकुमार बान्तवाले इलामलगायतका पूर्वी पहाडी क्षेत्रमा शहीदको बदला लिन पंचायती शासन ढाल्ने, राजतन्त्रको उन्मूलन गर्ने र जनवादी शासन स्थापना गर्ने उद्देश्यका साथ पर्चा छरेका थिए। 

संगठन निर्माणका क्रममा रत्नकुमार बान्तवा इलामको नाम्सालिङ पुगेको कुरा सुराकीबाट थाहा पाएपछि प्रहरीले २०३५ चैत २४ गते नामसालिङका लोकबहादुर लिम्बूको घरमा घेरा हाल्यो। त्यतिबेला रत्नकुमार बान्तवा, जैमिला राई र डिल्लीप्रसाद राई घेराउमा परे। रातको समयमा प्रहरीको आँखा छलेर रत्नकुमार बान्तवा भाग्न सफल भए र साथीहरूलाई पनि भगाए।

रत्नकुमार बान्तवाको खोजीमा निस्किएको प्रहरीले २०३५ चैत २४ गते इभाङमा रत्नकुमार बान्तवा भन्ने ठानेर गाउँले किसान निमा शेर्पालाई गोली हानेर हत्या ग¥यो। निमा शेर्पाको अनुहार र जिउडाल रत्नकुमार बान्तवासँग मिल्दोजुल्दो थियो। सुराकीले रत्नकुमार भनेर औँल्याएपछि निमालाई प्रहरीले गोली हानेको थियो तर पछि रत्नकुमार बान्तवा नभएर अर्कै व्यक्ति मारेको थाहा पाएपछि प्रहरी बान्तवाको थप खोजीमा निस्कियो। 

इभाङमा रहेको एक किसानको घरबाट २०३५ चैत २७ गते बिहान साढे चार बजे उठेर रत्नकुमार बान्तवा, सुशीला श्रेष्ठ, अगम बान्तवा र कुसुम राई ताप्लेजुङ हिँडेका थिए। अलिकति अगाडि बढेपछि प्रहरीसँग उनीहरूको जम्काभेट भयो। प्रहरीसँगै आएका सुराकीले औँल्याएपछि अगाडि रहेका बान्तवालाई प्रहरी विष्णु राईले गोली हाने। रत्नकुमार बान्तवाले पहिलो गोली छले र खुकुरी झिकेर प्रहरीमाथि जाइ लागे। दोस्रो गोली पनि छलिएर अर्काे प्रहरीलाई लाग्न पुग्यो। तेस्रो गोलीले रत्नकुमार बान्तवाको छाती फोरेर मुटुलाई छेड्यो।

यसरी रत्नकुमार बान्तवा २७ वर्ष पूरा गरेर २८ वर्षमा प्रवेश गर्दै गर्दा जन्मदिनमै प्रहरीको गोलीद्वारा मारिए। रत्नले सहादत प्राप्त गरेको एक महिना नबित्दै बमप्रसाद वान्तवाको २०३६ बैशाख २८ गते साखेजुङ गैरीबासमा हत्या गरिएको थियो। रत्नकुमार बान्तवाले सहादत प्राप्त गरेको ३७ वर्षपछि २०७२ फागुन २२ गते उनलाई सरकारले शहीद घोषणा गरेको थियो। वान्तवाको स्मृतिमा इलाम नगरपालिका– १ साखेजुङमा रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्स्टिच्युटसमेत खोलिएको छ।

बान्तवालाई यसरी सम्झिन्छन् सहपाठी ईश्वर पोखरेल

गत वर्ष बान्तवाको ६५औँ जन्मजयन्ती तथा ३८औँ स्मृति दिवसमा चित्रेमा निर्माण गरिएको रत्नकुमार बान्तवा र बमप्रसाद वान्तवाको सालिक उद्घाटन गर्न आएका नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बान्तवालाई सम्झिएका थिए। 

‘उसबेला हामी एउटै कोठामा बस्थ्यौँ, एउटै कक्षामा एउटै विषय पढ्थ्यौँ। रोल नम्बर पनि ठीक अघि–पछि थियो’, रत्नकुमारसँगको सामीप्यबारे पोखरेलले भनेका थिए, ‘हुनत देहान्त भएपछि धेरै जनाको विषयमा काल्पनिक कथा बनाइन्छन् तर रत्न यस्ता प्रतिभा थिए, जो एकै पटक दुई हातले बेग्लाबेग्लै विषयमा लेख्न सक्थे। आफूलाई ठीक लागेका काम दृढ भएर गर्ने, बाजा बजाउन, गीत गाउन र हरेक कामको विशिष्ट प्रतिभा झल्किन्थ्यो रत्नमा।’ 

फाइल फोटो

कम्युनिस्ट आन्दोलनको बिउ झाँगिँदै गरेका बेला रत्नले पुर्‍याएको योगदानको चर्चा गर्दै रत्नकै घरमा पुगेर पोखरेलले भनेका थिए, ‘सँगै बस्ने र राजनीतिक गतिविधि गर्ने क्रममा २०३३ सालमा म रत्नसँगै उनको यो घरमा आएको थिएँ।’ 

उनले भनेका थिए, ‘मेरो अत्यन्त घनिष्ठ साथी रत्नको हत्या भएको खबरले अहिले पनि भावुक हुन्छु। उनी भूमिगत रूपमा कति लगनशील भएका थिए भन्ने चर्चा गरेर सकिँदैन।’

(रत्न बम प्रतिष्ठानका अध्यक्ष देवी क्षेत्री दुलालको रत्न बान्तवासम्बन्धी पुस्तक र उनीसँगको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.