खनालको नेतृत्वप्रति कुनै शंका छैन

|

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षकमा पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको तत्कालीन सरकारले प्रहरी नायव महानिरीक्षक (डिआइजी) जयबहादुर चन्दलाई नियुक्त गर्‍यो। तेस्रो नम्बरमा रहेका चन्दलाई महानिरीक्षक बनाएको भन्दै तत्कालीन डिआइजी र हालका एमालेबाट प्रतिनिधिसभा सदस्य नवराज सिलवाल सर्वोच्च अदालत पुगे र चन्दले पदबहाली नगर्दै सर्वोच्चले सरकारको उक्त नियुक्ति रोक्न अन्तरिम आदेश दियो।

त्यसपछि यो विषयले सर्वोच्चसँगै समाजमा पनि बहस छेड्यो। त्यसपछि सरकारले कार्यसम्पादन मूल्यांकनका आधारमा प्रकाश अर्याल अगाडि रहेको भन्दै उनलाई महानिरीक्षकमा नियुक्त गर्‍यो। त्यसपछि चन्द अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवा भए र महानगरीय प्रहरी कार्यालय रानीपोखरीको नेतृत्वमा पुगे।

एआइजी चन्द महानगरीय प्रहरी प्रमुखको पदबाट आइजिपी अर्यालसँगै अनिवार्य अवकाशमा गएका छन्। आजैबाट '३० वर्षे सेवा अवधि' का कारण चन्दसँगै महानिरीक्षक अर्यालसहित २६ जना उच्च अधिकृतले अवकाश लिए। यसरी अनिवार्य अवकाशमा गएका चन्दसँग थाहाखबर संवाददाता कृष्णसिंह लोथ्यालले गरेको कुराकानी:

तीन दशक नेपाल प्रहरीको विभिन्न पदमा रहेर सेवा गर्नुभयो, यो अवधिलाई कसरी सम्झिनुहुन्छ? 

मेरो ३० वर्षे प्रहरी सेवामा नेपाल महत्वपूर्ण कालखण्डबाट गुज्रियो। २०४६ सालको आन्दोलन, १० वर्षे द्वन्द्व, २०६३ सालको आन्दोलन लगायतको ऐतिहासिक परिवर्तनका क्षणहरूमा काम गर्न पाइयो। यो सबै पुस्ताका लागि सम्भव छैन। 

नेपाल प्रहरीबाट एकैपटक यति ठूलो संख्यामा उच्च अधिकारीहरू अवकाशमा जानुभयो, यसलाई कसरी लिनुभएको छ?

यो नेपाल प्रहरीमा पहिलोचोटि हो। यस्तो भइरहन्छ। ३० वर्षे सेवा अवधिको सिस्टम कायम रहुन्जेल यस्तो अवस्था फेरि पनि आइरहन्छ। 

३० वर्ष सेवा गरेपछि स्वतः अवकाश हुनुलाई कसरी लिनुभएको छ?

यो एकदमै नराम्रो हो। यो एकदमै नराम्रो हो यो। यो कसैको भेस्टेट इन्ट्रेस्ट (निहित स्वार्थ)का लागि आएको पद्दति कसरी राम्रो हुन्छ? यो पद्दति कायमै रह्यो भने भोलि एसएसपी (वरिष्ठ प्रहरी उपरीक्षक) बाट महानिरीक्षक बनाउने अवस्था आउँछ, अनि संगठन के हुन्छ? 

डिआइजी/एआइजीमा पाँच दिन काम नगरी महानिरीक्षक हुने अवस्था आउँछ। चेन अफ कमान्ड र दर्जाको सिस्टम छ, त्यसको के अर्थ रहन्छ? आइजिपी हुनलाई हरेक दर्जाको अनुभव हुनुपर्‍यो नि त। 

त्यसले संगठनलाई के प्रभाव पर्छ?

यसले संगठनलाई धेरै नै घाटा गर्छ। भाइचारा बिग्रेको यसैले गर्दा हो। राजनीतिक हस्तक्षेप भयो भन्ने पनि यसैकोकारणले गर्दा हो। सबै कुराको जड नै यहीँ हो नि। 

आज अफिसमा अन्तिम दिन, तपाईंका केही अविस्‍मरणीय क्षणहरू सम्झिनुहुन्छ?

धेरै छन् नि। मैले दशवर्षे जनयुद्धका बेला काम गरे। फिल्डमै गएर काम गरेको हो। कयौं ठाउँमा मर्दा मर्दै बाँचेर आइयो, कयौं ठाउँमा लडाइँ लडियो। कयौं ठाउँमा आफ्नै स्टाफहरूको लाश उठाइयो। त्यस्ता थुप्रै दुःख, सुखका क्षणहरू बिताइयो। यस्ता अनुभव धेरै छन्।

तपाईलाई सरकारले आइजिपी बनायो तर अदालतले त्यसमा अन्तरिम आदेश दियो र तपाईले पदभार ग्रहण गर्नै पाउनुभएन अनि परिस्थिति अर्कै बन्यो, यसबारे सेवाबाट अवकाश लिँदा केही भन्नु छ कि? 

यो त नेपालभर बहसको विषय छ र चिरकालसम्म बहसको विषय हो यो। यो संगठनमा नहुनपर्ने काम भएको थियो। नियमावली (नेपाल प्रहरीको महानिरीक्षक बनाउने) ले सरकारलाई छनोट गर्ने अधिकार दिएको हुन्छ। एक पनि हुनसक्थ्यो, दुई पनि हुन सक्थ्यो, तीन पनि हुनसक्थ्यो र चार पाँच पनि हुनसक्थ्यो। नियमावलीमै छ यो। 

हरेक वर्ष एक नम्बर एकै नम्बर हुन्छ भन्ने अप्राकृतिक कुरा हो। कक्षा १ मा एक नम्बर भएको मान्छे मात्र यो देशको प्रधानमन्त्री र राष्ट्रपति हुन्छ र? हैन होला नि!

संगठनमा सुधार गर्न के सुझाबहरू दिनुहुन्छ?

नेपाल प्रहरीको संगठन सुधार गर्न ३० वर्षे सेवा अवधि हटाउनुपर्छ। संगठनमा यति धेरै अप्ठ्याराहरू सिर्जना गरेको यो पद्दति ढिलोचाँडो हट्नैपर्छ। चार वर्षे सेवा अवधि बाँकी छ, ती मान्छे एसएसपीमा छन्। चार वर्षमा तीन दर्जा (डीआइजी, एआइजी र आइजिपी) मा कसरी काम गर्छन्? यो पद्दति एकमदै गलत छ। 

मलाई लाग्छ यो अहिलेको आइजिपीको नेतृत्वले हटाउनुपर्छ। एकदमै हटाउनु एकदमै महत्वपूर्ण छ। 

त्यसपछि, तुरुन्तै प्रहरीको वृति विकास गर्न जरुरी छ। अनि, मुलुक संघीयतामा गइसकेको छ। संघीय प्रहरी ऐन तुरुन्त लागु गर्नुपर्‍यो। 

तपाईहरूको अवकाशसँगै संगठनले नयाँ नेतृत्व पाएको छ, यसप्रति तपाईंको धारणा कस्तो छ?

एकदमै व्यवसायिक मान्छे (नव नियुक्त महानिरीक्षक सर्वेन्द्र खनाल)को नियुक्ति भएको छ। उहाँ धेरै राम्रो हो। सँगै काम गर्दा पनि मैले त्यो देखेको छुँ। म उहाँको कमान्डर पनि हो। मेरो कमान्ड रहेको महानगरीय प्रहरी कार्यालय अन्तर्गत उहाँ नेतृत्वको ट्राफिक प्रहरी महाशाखा आउँछ। यो आठ महिना सँगै काम गर्दा निर्देशनको सशक्त सम्पादन गरेको देख्दाखेरी मलाई कुनै शंका छैन। उहाँको नेतृत्वप्रति कुनै शंका छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.