|

दोलखा : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकासको नयाँ अभियान सुरु भएको बताएका छन्। राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निरीक्षणपछि बुधबार निर्माणस्थल दोलखाको गोंगरमा कर्मचारीहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आयोजनाको गुणस्तरीयतामा ध्यान दिन आग्रह गरे।

आयोजनाको सुरुङमार्गभित्र रहेका टर्बाइन, मेन सटअफ भल्ब र अन्य भौतिक पूर्वाधारको प्रधानमन्त्री ओलीले निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई आयोजनाका पदाधिकारीहरूले आयोजनाको प्रगति विवरण जानकारी गराएका थिए।

आयोजनाबारे जानकारी लिएपछि प्रधानमन्त्री ओलीले कुनै पनि बहानामा निर्माणको काममा ढिलाइ गर्ने छुट नभएको बताए। 'काम गर्ने क्रममा भएका अफ्ठ्यारा के छन् भन्नुहोस', प्रधानमन्त्री ओलीले आयोजनाका कर्मचारीलाई निर्देशन दिँदै भने 'ति अफ्ठ्यारा सरकारले फुकाउँछ तर काममा ढिलाइ नगर्नुहोस्।'

प्रधानमन्त्री ओलीलाई आयोजना प्रमुख विज्ञान श्रेष्ठले आयोजनाको प्रगति विवरण,भौतिक र वित्तीय अवस्थाको जानकारी गराएका थिए।

२०६७ सालमा सुरु गरिएको यस आयोजनाबाट ४५६ मेघावाट विद्युत् उत्पादन हुनेछ। २०७५ पुसबाट आंशिक रूपमा उत्पादन सुरु हुने यस आयोजनाले २०७६ वैशाखदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने कर्मचारीहरूले प्रधानमन्त्री ओलीलाई जानकारी गराएको थियो।

आयोजनाको कुल लागत ४९ अर्ब २९ करोड रहेको छ। आयोजनाका कर्मचारीहरूले सडकको समस्याले निर्माण सामग्रीको आपूर्तिमा समस्या भएकोले त्यसको तत्काल मर्मत गरिदिन प्रधानमन्त्रीसमक्ष माग गरेका छन्।

प्रधानमन्त्री ओलीले बुधबार नै लामा बगरमा रहेको आयोजनाको ड्याम साइट पनि निरीक्षण गरेका छन्। प्रधानमन्त्री ओलीले  रफ्तारमा काम गर्न र गुणस्तरीयतामा सम्झौता नगर्न कर्मचारीहरूलाई निर्देशन दिए।

प्रधानमन्त्री ओलीका साथमा ऊर्जामन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र नेपालका लागि चीनका राजदूत हुँ योङको सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.