राज्यले अपांगता भएका नागरिकलाई उपेक्षा गरेको दु:खेसो

|

पर्वत : मान्छेमा कामप्रतिको इच्छा भयो भने आम्दानीको लागि कठिनाई छैन भन्ने कुराको उदाहरण बनेका छन् बाँकेका कमल थापा। जिल्लाको खजुरा गाउँपालिका-३ का कमल थापाका पतिपत्नी दुवैजना दृष्टिविहीन भएर पनि उनीहरू अहिले महिनामा कम्तीमा ५० हजार रुपैयाँ बचत गर्छन्। उनीहरूले बहादुर परियारलाई पनि सहयोगीका रूपमा  सँगै राखेका छन्।

थापा सहयाेगी लिएर श्रीमती नर्वदासँगै देशका विभिन्न जिल्लामा पुग्छन्। सडकमा गीत गाउँदै पैसा जम्मा पार्छन्। १२ वर्षको हुँदा आँखा पाकेका थिए। त्यही वेलामा दृष्टि नै गुमाएका कमलले अहिले चारजनाको परिवार गीत गाएकाे अाम्दानीले नै पालिएका छन्। कमलको जोडी हरेक दिन फरक-फरक ठाउँमा देखिन्छ। सदरमुकामका चाेक-चोक घुमिसकेपछि अर्को जिल्ला प्रस्थान गर्दछ।

मासिक ६० हजार कमाइ, ५० हजार बचत

गोरखा, लमजुङ, तनहुँलगायतका जिल्लाका सडक-सडकमा गीत गाएको कमलको जोडीले यतिवेला पर्वत सदरमुकाम कुश्मामा अाई गीत गाइरहेको छ। गीत गाएर कमाएको पैसा बचत गरी घरमा पठाउने गरेको कमलले बताए। भगवानले आँखा लुटे पनि गला नलुटेका कारण पेट पाल्न सकेको बताउँदै कमल भन्छन्, ‘भगवानले आँखा त लुटे लुटे धन्न गला लुटेका रहेनछन्, गलाकाे कलाले पेट पालेकाे छु।’

दैनिक झन्‍डै ३ हजार रुपैयाँ कमाई गर्ने कमलले अगाडि थपे, ‘दिनमा २५ सयदेखि ३ हजारसम्म हुन्छ। मेरो सहयोगी साथी मेरी श्रीमती नै हुन्। काम गरेकाे पैसा तीनजनालाई बराबर भाग लगाउँछौँ। महिनामा दुवैको कमाइ बाट ६० हजार जति कमाइ हुन्छ, तर खान, बस्न, लुगाफाटो किनेर ४५/५० हजार बचत हुन्छ।’

कमलले ०७२ सालबाट यसरी सडकमा स्पिकर बोकेर म्युजिक ट्रयाकमा गीत गाउन थालेका हुन्। सात दाजुभाइ र दुई बहिनी छन् कमलका बहिनीको विवाह भइसकेकाे छ भने दाजुभाइ छुट्टिएर बेग्लै बसेका छन्। उनका चार दाजुभाइ काठमाडौंमा ज्यामी काम गर्दै आएका छन् भने दुई दाजुभाइ नेपालगञ्जमा ज्यामी काम नै गर्छन्। 

सडकमा गीत गाउने क्रममै विवाह

दृष्टिविहीन कमलकी श्रीमती नर्वदामा भने  मानसिक समस्या पनि छ। सडकमा गाउने क्रममा कमल नर्वदाबीच भेट भयाे। विवाह पनि भयाे। कैलालीको चौमाला घर भएकी नर्वदा बिकसँग कमलले अन्तरजातीय विवाह गरेका हुन्। कमल भन्छन्, ‘मलाई त अन्तरजातीय विवाह नराम्रो लाग्दैन, मन मिल्नुपर्छ। तर श्रीमतीको मानसिक अवस्था पूरै ठीक छैन। औषधि खान नपरे पनि उनले के सही र के गलत भनी छुट्याउन सक्दिनन्। गीत त सबै सम्झेर नै गाउँछिन्।’ 

श्रीमतीको दृष्टि गुम्नुमा अन्धविश्वास नै प्रमुख कारण भएकाे कमलले बताए। नर्वदा तीन महिनाकी भएका बेलामा आँखा पाकेछन्। पाकेकाे अाँखाम सैजनको चोप लगाएकै कारण उनको दृष्टि गुमेको कमलले बताए।

गीत गाउँदै हिँड्दा काठमाडौंमा प्रहरीले लखेटेकोमा चाहिँ उनलाई अलि नरमाइलो लाग्दोरहेछ। काठमाडाैं बसपार्ककाे घट्ना सम्झिँदै उनी भन्छन्, ‘काठमाडौंको बसपार्कमा गाउँदै थियौँ, प्रहरी आएर स्पिकर लग्यो, हामीलाई पनि धपायो। प्रहरीले मान्छे जम्मा हुँदा पकेटमार र यौनधन्दा हुन्छ भन्याे।’ त्यस्तै कतिले गीत गाइरहेका वेलामा काम गर्न नसकेर नाटक गर्दै हिँड्नेहरू भनेर वचन पनि लगाए। त्यसवेला भने मन चसक्क भएको उनको अनुभव छ।

सुगम क्षेत्रमा दृष्टिविहीनलाई हेर्ने दृष्टिकोण फेरिएकाे छ। ग्रामीण क्षेत्रमा भने अझै पनि बोझका रूपमै लिने गरिएको छ। कमल भन्छन्, ‘सरकारले महिनाको ६०० रुपैयाँ भत्ता दिन्छ। त्याे पैसाले चिया खान पनि पुग्दैन। सरकारले जेष्ठ नगरिक र विधुवा भत्ता बढायाे। तर, अपांगको बढाएन, हामी यो देशका नागरिक नि होइनौँ कि जस्तो गरेकाे छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.