|

काठमाडौं : मगर साहित्यका आदिकवि जीतबहादुर सिञ्जाली मगरको नामबाट स्थापित जीवसिम भाषा-साहित्य पुरस्कार यस वर्ष स्याङ्जाका रुद्र सन्देश मगर र बाग्लुङका लक्ष्मण घर्ती मगरलाई प्रदान गरिएको छ।

जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले मगर भाषा-साहित्यमा लेखिएका उत्कृष्ट कृति, स्रष्टा र मगर समाजमा योगदान पुर्‍याउने व्यक्तिलाई वार्षिक रूपमा प्रदान गर्दै आएको जीवसिम साहित्य पुरस्कार- २०७३, चित्रेभञ्ज्याङ, स्याङ्जा निवासी रुद्र सन्देश मगरलाई र जीवसिम नवप्रतिभा साहित्य पुरस्कार- २०७३, निसी– २, बागलुङ निवासी लक्ष्मण घर्ती मगरलाई शुक्रबार एक कार्यक्रमका बीच प्रदान गरिएको हो।

नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन मगरले उक्त पुरस्कार हस्तान्तरण गरेका हुन्। जीवसिम साहित्य पुरस्कार- २०७३ को पुरस्कार राशि ६० हजार रुपैयाँ रहेको छ। यो पुरस्कार हरेक वर्ष पाँच हजार रुपैयाँले वृद्धि गर्दै लगिएको छ।

रुद्र सन्देश मगरले मगर भाषामा कवितासंग्रह 'बिकोलेसा' (दुख्दो रहेछ– २०५६) र मुक्तकसंग्रह 'आर्मिटमा' (सम्झना– २०६७) प्रकाशन गरेका छन्। जीवसिम नवप्रतिभा साहित्य पुरस्कार- २०७३ को राशि १० हजार रुपैयाँ रहेको छ। लक्ष्मणले १८ कविता रहेको मगर खाम भाषाको कवितासंग्रह 'रिहित्ला' (पैताला) पनि प्रकाशन गरेका छन्। 

जयबहादुर हितान पुरस्कार हीरासिंहलाई

यसैबीच प्रतिष्ठानले जयबहादुर हितान मगर स्मृति पुरस्कार- २०७३ हीरासिंह थापा (सामेसेन) मगरलाई प्रदान गरेको छ। उक्त पुरस्कारको राशि ३० हजार रुपैयाँ रहेको छ। नेपाल मगर संघ, जिल्ला समिति काठमाडौंको एक दशक नेतृत्व गरेका शब्दकोशकार हीरासिंह थापा (सामेसेन) मगर, मगर जातिको उत्थान र भाषा, संस्कृति, इतिहाससम्बन्धी अध्येता हुन्। चार दशक अनवरत लेखनपछि 'मगर (ढुट)–खस–अंग्रेजी आखर गोमहोक' (मगर (ढुट)–खस–अंग्रेजी शब्दकोश) तथा मगर वृहत शब्दकोशका संकलक र लेखक पनि हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.