|

पाँचथर : फिदिम नगरपालिका ६ जौबारीका अलैँची किसान राजकुमार राईले ६ वर्ष अघिसम्म १० मन अलैँची फलाउँथे। सेपिलोबारी र खेतमा ड्याम्मै अलैंची लगाएका उनको अलैँची नै जीविकोपार्जनको आधार थियो। 

घरमै व्यापारी किन्न आउँदा तीन लाखदेखि चार लाख रुपैयाँसम्म पैसा थापेको उनलाई अहिले जस्तै लाग्छ। तर, केही वर्ष अघिदेखि अलैँचीको बोट मर्न थालेपछि उनी चिन्तामा छन्। बगानमा अलैँचीका थप विरुवा रोप्नै छाडेका छन्। नयाँ विरुवा लगाउँदा पनि मर्ने गरेकाले बगानलाई विस्तार गर्न नचाहेको बताए। कतै पातमा छिर्केफुर्के लागेको र कतै गानो कुहिने सँगै डाँठ सुकेर बोट मरेको बताए। ‘नयाँ विरुवा रोप्दा पनि भएन। मरेको मरेकै गर्‍यो’, उनले भने, ‘मरेपछि बगान पनि मासेँ, कतै कतै अलिअलि छ, यसवर्ष सात किलो बेचेँ।’ 

जौबारीमा अलैँची बढी उत्पादन गर्ने किसानमध्येमा राई पनि पर्छन्। भएको अधिकांश पाखाबारी, खोल्सा खोल्सीदेखि लिएर राम्रो धान फल्ने खेत पनि मासेर अलैँची खेती गरेका उनी चिया खेतीतर्फ उन्मुख भएका छन्। स्थानीय मकरसिं तुम्बापो (मबिन)ले गाउँमा चिया खेती अभियान थालेपछि चिया खेतीतर्फ नै आकर्षण बढेको उनले बताए।

‘पुरानो झ्याङमा उम्रिएको विरुवा रोप्दा मर्दो रहेछ, जति स्याहारे पनि हुँदैन, अब त वास्ता गर्न पनि छाडेको’, उनले भने, ‘पात डोलिएर आएपछि मरी त हाल्छ, उन्नत जातको चाहिँ मर्दैन भनेको सुनेको छु, जे भए पनि अव चिया खेती चाहिँ गर्छु।’ 

जौबारी क्षेत्रमा रहेका खोला खोल्सीमा केही वर्षअघि पानी पनि पर्याप्त थियो। तर, भएका केही मुहानका पानी कतिपयले घरघरमा पाइपमार्फत लगेका छन् भने कति ठाउँमा मुहानहरू सुकेका छन्। यसले गर्दा सि‌ँचाइ अभावले पनि अलैँची मर्ने गरेको छ। गाउँमा चिया खेती अभियान थालेका तुम्बापोले सि‌ँचाइ अभाव र रोगका कारण अलैँची छाड्दै चिया खेतीतर्फ उन्मुख हुनु परेको बताए। उनले पानी भएको क्षेत्रमा बाहेक अन्य ठाउँमा रहेको अलैँचीसँगै उतिसको जङ्गल पनि फाँडेको बताए। ‘चिया सात पुस्तालाई पुग्छ। सिँचाइ पनि पर्दैन। मूल्यमा पनि अलैँचीमा जस्तो अस्थिरता हुँदैन’, उनले भने, ‘अलैँचीले हैरानी लायो, मूल्य पनि अस्थिर हुन्छ, रोगले पनि सताएर उस्तै अलैँचीमा मलखाद, छाँटकाँट, पानी लगाउनेदेखि झार उखेल्नेसम्मका काम गर्नुपर्छ।' 

तर, चियामा पानी लगाउने कार्य गर्नु पर्दैन। महिनामा ५/६ पटकसम्म चिया टिप्ने गरिन्छ। बजार पनि राम्रो भएकोले चिया खेतीमा किसानहरू लाग्न थालेका छन्। आगामी वर्षायाममा नामफुन्यक चिया उत्पादक सहकारी संस्थामा आवद्ध जौबारीका ४५ जना किसानले सामूहिक रूपमा चिया खेती गर्ने भएका छन्। 

अलैँचीको विकल्पको रुपमा किसानले चिया खेती लगाउन थालेका हुन्। ‘व्यापारी चियाको पति लिन घरमै आउँछन्, हारालुस् हुन्छ’, तुम्बापोले भने, ‘गाउँमा पनि उत्तिकै माग छ,अब अलैँचीको जमाना गयो।’अलैँचीमा गानो कुहिने, पात डढ्ने र डाँठ कुहिने रोगको संक्रमण छ। यसले गर्दा अलैँचीको बगान नै सखाप हुन थालेपछि किसानले अलैँचीको विकल्प खोजेका हुन्। 

यता अलैँचीको जोन कार्यालय पाँचथरका अधिकृत प्रकाश विश्वकर्माले गौमुत्र, झोल मल र कोलम्बिया बोडो प्रयोग गरिए गबारो, डढुवालगायतका अलैँचीमा लाग्ने संक्रमण हट्ने बताए। नहटेको अवस्थामा भने उखेलेर खाडल खनी गाड्दा थप संक्रमण नफैलिने पनि बताए। 

पाँचथरको अधिकांश क्षेत्रमा अलैँची खेती हुने गरेको छ। खोल्सीको कालो सुनले परिचित अलैँचीबाट वार्षिक करोडौँ रुपैयाँ जिल्लामा भित्रिने गरेको छ। यद्यपि केही वर्ष यता अलैँचीमा फैलिएको संक्रमणले आजित भएका किसानहरूले भने अलैँचीको विकल्प खोज्न थालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.