|

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४ आशापुरीका प्रेम लामाले कृषि फार्म सञ्चालन गरेर करोडौंको सम्पत्ति आर्जन गरेका छन्।
 १६ बर्ष अगाडी आशापुरी अर्गानिक कृषि फार्म सुरु गरेको लामाले राम्रो आम्दानी गरिरहेका हुन्। 

‘व्यावसायिक रूपमा खेती गर्न सुरु गरेको अहिले १६ बर्ष भयो। अहिलेसम्ममा मेरो पाँच ठाउँमा यस्तै ठूल्ठूला फार्महरू छन्’, उनले भने, ‘नवलपरासिरमा तीनवटा भक्तपुरमा र काभ्रेपलाञ्चोकको आशापुरीमा गरी पाँचवटा सञ्चालन गर्दै आएको छु।’ धेरै किसानले उत्पादन भए पनि बजारीकरणको समस्या भएको बताउने गरेका छन्। तर, उत्पादन गरेको तरकारीको लागि बजारको कुनै समस्या नभएको उनले बताए।

‘बजारको समस्या देखिएको छैन’, लामाले भने, ‘मेलै उत्पादन गर्दै आएको तरकारी तीनवटा स्तरमा बजारमा बिक्रि हुँदै आएको छ।’ अमेरिकन, युरोपियन र जापनिज स्तरीयको तरकारी उत्पादन गरी निर्यात गरिरहेको उनले बताए। ‘यसरी सुरु गरिएको फार्म मेरो नै पहिलो हो। यसरी यो अवस्थासम्म आइपुग्नका लागि धेरै दुःख गर्नुपर्‍यो, धेरै दुःख पश्चात मात्रै अहिले सफल भएको छु’, लामाले भने।

आफूले उत्पादन गरेको तरकारीहरू विदेशमा समेत निर्यात भइरहेको लामाको भनाइ छ। ‘बजारमा शनिबार मलाई भेट्नका लागि लाइन लाग्छन्। हामीलाई तपार्इँले उत्पादन गरेका तरकारीहरू उपलब्ध गराउनुपर्‍यो भनेर आउँछन्’,उनले भने, ‘अहिले त व्यावसायिक खेतीमा लागेपछि फुर्सद नै हुँदैन।’ नेपालको हावापानी, जग्गा जनिम र अर्गानिक खेती गर्न निकै उपयुक्त भएको उनको भनाइ छ।

उनले तरकारीसँगै मेवा, केरा वाटर मेलन, तराईमा हुने फलफूलहरूसमेत उत्पादन गर्दै आइरहेका छन्। काभ्रेमा दुई सयवटाभन्दा बढी प्रकारका सलादको लागि प्रयोग हुने तरकारीहरू उत्पादन गरिरहेको छ।

‘किबी सुन्तलाहरू, यहाँ उत्पादन गरेको मेरो फार्मको तरकारीहरू काठमाडौंको विभिन्न आधा दर्जनजति विदेशी दूतावासहरूमा र ठूला होटलहरूले प्रयोग गरिरहेको छ’,उनले भने, ‘त्योसँगै ‘हर्बल टि’हरूसमेत सत्पादन गर्दै आइरहेको छु।’

‘लगानी आठ करोड जति भएको छ। वर्षको तीन करोड जतिको कारोबार हुन्छ’,उनले भने, ‘अहिले रोपेको फलफूलहरू बढ्दैछ्, अझ बढ्ला। हामी कहाँ सुरुमा काम गर्न आउनेलाई मासिक नौ हजारबाट तलबको व्यवस्था गरेका छौँ।’ 

काभ्रेमा मात्र २५० रोपनी जग्गामा तरकारी तथा फलफूल लगाइएको उनले बताए। अहिले उक्त फार्ममा २२ जनाले रोजगारी पाएका छन्। सो फार्ममा जापानतथा विभिन्न देशबाट विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका छन्।

यसरी सुरु भयो अर्गानिक खेती

आशापुरीमा जन्मेका प्रेम लामाले आफू साह्रै नै बिरामी भएपछि गाउँमा फर्केर अर्गानिक तरकारी खेती गर्न थालेको सुनाए। ‘विभिन्न रोगले च्यापेपछि गाउँमा आएर आफूले नै  खानाका लागि तरकारी खेती शुरु गरेको हुँ। आफै उत्पादन गरेको अर्गानिक तरकारी खाना थालेपछि दुई वर्षपछि रोग नियन्त्रण आयो’, उनले भने। 
आफूले उत्पादन गरेको तरकारी साथीहरूलाई दिएपछि उनलाई साथीहरूले तरकारी खेती गर्न प्रोत्साहित गरे।

‘आफैले उत्पादन गरेको भनेपछि मलाई साथीहरूले नै सल्लाह र उत्प्रेरणा दिन थालेपछि व्यावसायिक रूपमा खेती सुरु गरेको हुँ’, लामाले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.