|

चितवन : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मानव र वन्यजन्तुबीचको द्वन्द्व रोक्न विशेष ध्यान केन्द्रित गरेको छ।

विभिन्न ठाउँमा मानव र वन्यजन्तुबीच द्वन्द्व बढेको भन्दै यसको न्युनिकरणका उपाय खोजी गरी पर्यापर्यटनको विकासमा ध्यान केन्द्रित गरेको विभागका महानिर्देशन मनबहादुर खड्काले बताए। उनका अनुसार हात्तीबाट मानव बस्तीमा बढी क्षति पुग्ने गरेकाले त्यसलाई रोक्न विभिन्न उपायहरु अवलम्बन गर्न लागिएको हो।

मुख्यगरी चितवन, पर्सा, बर्दिया र कोसी क्षेत्रमा जंगली हात्ती बस्तीमा पसेर क्षति पुर्याउँदै आएको छन्। यी क्षेत्रमा हात्तीपछि चितुवा, गैंडा, बाघ, भालु, बुँदेलले क्षति पुर्याउने गरेका छन्।  

बर्दिया राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा बस्ती पस्ने तीनवटा हात्तीलाई रेडियो कलर लगाएर निगरानी थालिएको बताउँदै महानिर्देशक खड्काले अब चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पनि शुरु गरिने जानकारी दिए। मानव र वन्यजन्तुबीच हुने द्वन्द्वमा अन्य जन्तुभन्दा हात्तीसँग बढी द्वन्द्व भएको निष्कर्ष विभागको छ । 
यसअघि हात्ती जंगलबाट बस्ती पस्न लागेका बेला विशेष प्रविधिमार्फत साईरन बज्ने र हात्ती आएको सूचना दिने प्रविधि बर्दियामा परीक्षण गरिएको थियो। 

उक्त प्रविधि प्रभावकारी भएको भन्दै खड्काले अन्य क्षेत्रमा पनि रेडियो कलरसँगै यो प्रविधि विस्तार गर्ने बारे छलफल भैरहेको बताए। ‘यसले द्वन्द्व न्यूनिकरणमा सहयोग पुग्छ भन्ने विश्वास छ,’ खड्काले भने, ‘अब विभागको ध्यान द्वन्द्व घटाउँदै पर्यापर्यटनको विकासमा जान्छ।’

यो सँगै वन्यजन्तुको सुरक्षाका कार्यक्रमलाई अझै प्रभावकारी बनाईने विभागको भनाई छ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रिविनोद दाहाल रेडियो कलर लगाएको हात्तीको निगरानी कम्प्युटरबाटै हुने गरेको बताउँदै बस्तीमा आउन लागेको थाहा पाएपछि समुदायलाई सचेत गराउने गरिएको जानकारी दिए। यसअघि यहाँका हात्ती बस्ती बस्दा साईरन दिने प्रविधिको समेत परिक्षण भएको थियो।

यसका अलावा द्वन्द्व घटनाउन बर्दियामा दुई सय ५० किलोमिटर क्षेत्रमा विद्युतीय तारवार, कंक्रिट पर्खाललगायतका कार्यक्रमलाई समेत निरन्तरता दिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाह बताउँछन्। बर्दियामा एक सय २० बढी जंगली हात्ती छन्। २०५७ सालदेखि अहिलेसम्म हात्तीको आक्रमणबाट मात्रै यहाँ ३६ जनाको ज्यान गएको तथ्यंक छ।

पूर्व कोशीटप्पुमा बस्ती पस्ने २ वटा हात्तीलाई पनि रेडियोकलर लगाएर अहिले अनुगमन भइरहेको कोशीटप्प वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाह बताउँछन्। 

उनले रेडियोकलरका कारण हात्तीहरु कहाँ जाँदैछन् भन्ने निगरानी गर्न सजिलो भएकाले क्षति कम हुने गरेको बताए। विभिन्न नाका र सुरक्षा पोष्टमा साईरन राखेर थप निगरानी गर्ने तयारीमा आरक्ष रहेको समेत उनले जानकारी दिए। कोशीमा करिव एक दर्जन हात्ती रहेको अनुमान छ। 

चितवनका विभिन्न क्षेत्रमा पनि जंगली हात्ती पस्ने गरेको छ। मानिसको समेत ज्यान जाने गरेको छ। त्यसैले अब दोस्रो चरणमा चितवन र पर्सामा पनि मानव र बन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरणमा काम गरिने निकुञ्ज विभागले जनाएको छ। 

केही वर्ष अघि यहाँ १५ जनाको ज्यान लिएर आतंक मच्चाएको धु्रवे नामको हात्तीलाई रेडियो कलर लगाइएको थियो। पछि धु्रवेलाई लगाइएको रेडियो कलर जंगलमा भेटिएको थियो। अहिले ध्रुवेको आतंक रोकिएको भएपनि सौराहा क्षेत्रमा रोनाल्डो नामको हात्ती बेलाबेलामा बस्ती पस्ने गरेको छ। 

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक वन्यजन्तु बस्तीमा आउन नदिन, निकुञ्जले गस्ती गर्ने, विभिन्न क्षेत्रमा विद्युतीय तारबार लगाउने र कंक्रिट पर्खालहरु निर्माण गर्ने काम गरिरहेको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.