|

काठमाडाैं : सरकारले महिलाहरूको पाठेघरको क्यान्सर र फिस्टुला रोगको निःशुल्क परीक्षण गर्ने घोषणा गरेको छ। सुरक्षित मातृत्व दिवसको अवसर पारेर सोमबार महिलाहरूको पाठेघरको क्यान्सर र फिस्टुला रोगको निःशुल्क परीक्षण गर्ने घोषणा गरेको हो।

सुरक्षित मातृत्व दिवसकाे अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सुरक्षित मातृत्वसम्बन्धी सेवालाई सहज बनाउन देशभर तीन महिने चारवटा अभियान साेमबारबाटै सुरु गरिएको जानकारी पनि दिइन्।

सरकारले बैशाखदेखि असारसम्मको तीन महिनामा देशभरका सबै अस्पतालबाट महिलाको पाठेघरको क्यान्सर र फिस्टुलाको निःशुल्क परीक्षण अभियान संचालन गर्नेछ। त्यसैगरी साउनदेखि असोजसम्मको तीन महिनामा ‘एक पालिका, एक सुरक्षित मातृत्व कोष’ स्थापना अभियान संचालन गरिनेछ। कार्तिकदेखि पुससम्म सुरक्षित मातृत्वसम्बन्धी चेतना जगाउन देशभर निबन्धलगायतका प्रतियोगितात्मक कार्यक्रम पनि संचालन गरिनेछ।

राज्यमन्त्री अर्यालले पुसदेखि फागुनसम्म भने किशोरीले महिनावारीमा गर्ने सरसफाईसम्बन्धी चेतनामूलक कार्यक्रम संचालन गर्न लागिएको जानकारी दिइन्। मन्त्रीले सरकारले सुरक्षित मातृत्व सेवालाई वडा तहसम्मै पुर्‍याउने गरी आवश्यक योजना अघि सारेको पनि स्पष्ट पारिन्।

राज्यमन्त्री अर्यालले स्वास्थ्य सेवामा सबैको सहज पहुँच पुर्‍याउन स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्ने पनि बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.