|

गोरखा : जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले मापदण्डविपरीत संचालनमा रहेका एम्बुलेन्सहरूलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ। जिल्लामा अनुमति नलिएका र मापदण्ड पूरा नगरी बिरामी ओसारपसार गर्ने एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको हो।

अहिलेसम्म विभिन्न संघ संस्थाका आठवटा एम्बुसेन्सलाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका नानीबाबु दानीले जानकारी दिए। ‘बिरामी बोक्ने एम्बुलेन्स कम्तीमा मापदण्डअनुरूप त हुनुपर्‍यो नि’, दानीले भने, ‘केही एम्बुलेन्सले संचालन अनुमति पनि लिएका छैनन्। केहीले एम्बुलेन्समा राख्नै पर्ने अक्सिजनलगायतका अतिआवश्यक औजारहरू पनि नराखेको पाइयो।’ 

केही समय यता जिल्ला जनस्वास्थ्य कार्यालयले मापदण्डविपरीतका एम्बुलेन्स नियन्त्रणमा लिन थालेको छ। एम्बुलेन्स खरिद गरेपछि रुट पर्मिट नलिई संचालन गर्न नपाइने कानुनी व्यवस्था भए पनि गोरखाका अधिकांश एम्बुलेन्स आफूखुसी गुड्न थालेपछि कानुनी प्रक्रियाअनुसार कारबाही थालिएको उनको भनाइ छ। 

गोरखामा शहीद भीमसेन स्मृति प्रतिष्ठान, आरुघाट युवा क्लव, उद्योग वाणिज्य संघ आरुघाट इकाई, कोमलबहादुर कुँवर स्मृति प्रतिष्ठान, मिलिजुली महिला समूह, आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र र मंगोलेश्वर सांस्कृतिक मंच च्याङ्लीले संचालनमा ल्याएका एम्बुलेन्सहरू मापदण्डविपरीत संचालनमा रहेका थिए। 

त्यस्तै, बुंकोट स्वास्थ्य चौकी, भूपू सैनिक संघ बारपाकद्वारा संचालन गरिएको एम्बुलेन्सले मापदण्डविपरीत बिरामी ओसारपसार गरेकाले नियन्त्रणमा लिएको हो।यीमध्ये आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र र मंगोलेश्वर साँस्कृतिक मंच च्याङ्लीले मापदण्डहरू पूरा गरी एम्बुलेन्स फिर्ता लगिसकेका छन्। ‘एम्बुलेसन्स संचालन निर्देशिकाअनुसार रुट पर्मिट लिएर गाडी चलाउने भन्ने छ, त्यसो भएन’, दानीले भने, ‘एम्बुलेन्स त सम्वेदनशील कुरा हो। विभिन्न अनुदानमा ल्याएर बीमा गर्नु छैन, नवीकरण छैन, न्यूनतम औजारहरू छैनन्, यिनीहरूलाई ट्र्याकमा ल्याउनै पर्छ भनेर हामी एक्सनमा गएका हाैँ।’ 

जिल्ला जनस्वास्थ्यले विभिन्न पत्रपत्रिमामार्फत नवीकरण गर्न, मापदण्ड पूरा गर्न सूचना जारी गर्दा पनि नआएका आठ संस्थाका एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको हो। ‘निर्देशिकाले त उनीहरूको दर्ता खारेज नै गर्न पनि मिल्छ। हामीले सेवा दिनेहरूलाई प्रक्रिया पूरा गराएर फिर्ता पठाउने गरेका छौँ’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.