काठमाडौं : प्रहरीको फरार सूचीमा रहेका गुण्डा नाइके दीपक मनाङे भनिने राजीव गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले स्वयम्भुको तीनधाराबाट बिहीबार साँझ ७:३० बजे पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए।
उनलाई अदालतको फैसला कार्यान्वयनका लागि शुक्रबार नै अदालत लगिने थापाले बताए।
के थियो अभियोग?
२०६१ सालमा अर्का गुण्डा नाइके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समूहले चक्रे मिलनको हात छिनाएको थियो। सोही घटनामा काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार दुई वर्ष जेलसमेत बसेका मनाङेको सजाय कम भयो भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङेलाई सजाय बढी हुनुपर्ने मागसहित पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो। सरकारी वकिलको मागबमोजिम पुनरावेदन अदालत पाटनले २०६९ साउन २८ गते ज्यान मार्ने उद्योग मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो।
सोही घटनामा संलग्न अन्य अभियुक्तहरू रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाई दिएपछि मनाङेलाई पुनरावेदनले पहिल्यै पाँच वर्षको कैद सजाय सदर गरेको थियो।
लामो समय गोप्य रहेको उक्त घटना माघ २ गतेपछि सार्वजनिक भएको थियो। त्यसपछि प्रहरीले मनाङेको खोजी थालेको हो।
उनको खोजी गर्न महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै टोली खटाएका थियो। मनाङे प्रदेश ४ को मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र 'ख'बाट निर्वाचित भएका थिए। तर अदालतको उक्त फैसलाले उनले प्रदेशसभा सदस्यसमेत गुमाउनुपरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।