|

बुटवल : रूपन्देहीको देवदह खैरेनीका कुख्यात डन मनोज पुनको आपराधिक संजाल फिल्मी शैलीमा खुल्दै गएको छ। 

युवाहरूको समूह बनाएर ढुंगा, गिट्टी, बालुवाको ठेक्कापट्टामा हिस्सा खोज्न थालेका पुनको अपराधको जालो १० वर्षमा उद्योगी व्यवसायीदेखि राजनीतिक दलका नेताहरूसम्म पुगेको भेटिएको छ। ०६४ सालपछि जिल्लास्तरका ठेक्कापट्टामा हस्तक्षेप गर्न थालेका पुन सानातिना अपराधलाई लुकाउन दलका भ्रातृसंगठनमा आवद्ध थिए। 

कुनै बेला माओवादी केन्द्र निकट वाइसिएल र एमाले निकट युथ फोर्समा आवद्ध भएका पुनले दलका नेता र कार्यकर्तालाई आफ्नै समूहमा आवद्ध गर्दै अपराध कर्मलाई विस्तार गर्दै लगेको जालो प्रहरीले खोल्दै गएको छ। 

‘मनोजले अपराधलाई यसरी विस्तार गर्दै रहेछ कि अहिले यो संजाल नतोडिएको भए यसले केही वर्षमा भयानक रूप लिइसक्ने रहेछ’, मनोज पुनको अपराध संजाल भत्काउन खटिएका रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले भने। 

ज्ञवालीका अनुसार मनोजको समूहले बुटवल र देवदह क्षेत्रमा मात्रै होइन, काठमाडौं र देशका मुख्य शहरहरूमा समेत आफ्नो संजाल विस्तार गर्दै थियो। गत चुनावअघि नै पर्दाफास हुने संजाल दलका केन्द्रीयस्तरका नेताहरू समेत संलग्न रहेको फेला परेपछि रोकिएको मनोज पुनको अपराधको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी बताउँछन्। 

‘चुनावअघि नै यी सबै विषयमा प्रहरीको अनुसन्धान एउटा तहमा पुगेको थियो’, उनी भन्छन्, ‘त्यो बेला चुनावलाई असर गर्छ भनेर दलका नेताहरूले नै प्रहरीलाई अघि बढ्न दिएनन्, अहिले यसरी त्यो संजालको रहस्य खुल्दै जाँदा सबै आश्चर्यचकित भएका छन्।’ 

दिनभर हत्याको विरोधमा, रातभर हत्याका योजनाकारलाई साथ

दलमा आवद्ध नेता कार्यकर्ताको भूमिका फिल्मी शैलीमा अनौठो पाइएको छ। ‘मनोज पुनले धम्क्यायो, मलाई सुरक्षा दिनुपर्‍यो भन्ने, हत्यापछि सबै गोप्य बैठकहरूमा जाने र चर्को विरोध गर्ने, मनोज पुनलाई पक्राउ गरेर ल्याउन सघाउने वचन दिने गर्ने गर्थे’, प्रहरी प्रमुख ज्ञवाली भन्छन्, ‘मनोज पुनले धम्क्याउँदै मलाई यतिबेला फोन गर्छु भनेको छ भन्दै हामीसँग आउने, फोन आएपछि कुराकानी पनि गर्ने तर एक्लै भएको बेलामा सबै कुरा पुनलाई बताउने गर्दारहेछन्।’

प्रहरीले फेला पारेको अडियोमा पुनलाई सुजु मल्लले रूपन्देहीका व्यवसायीहरूको सूची र फोन नम्बर टिपाएका छन्। 

अडियो संवाद उद्धृत गर्दै प्रहरी प्रमुख ज्ञवालीले भने, ‘उत्तमलाई तिहार खर्च भनेर पाँच लाख दिने र त्यसको चेक सुजुले काट्नेसम्मका कुरा छन्। हरि श्रेष्ठलाई मनोजले फोन गरेर धम्क्याउने, रकम माग गर्ने र हरिले रकम पठाइदिने अनि त्यही रकम मनोजले फिर्ता पठाउने कुरा छन्।’

डायरीमा फिरौती माग्नेको, उद्योगी व्यवसायीको सूची

प्रहरीले मनोज पुनबाट बरामद गरेका डायरीहरूमा फिरौतीका लागि सूची बनाएको भेटिएको छ। 

प्रहरीसँग रहेको डायरीमा उद्योगी, व्यवसायी, जनप्रतिनिधिलगायतको नाम, ठेगाना, फोन नम्बर रहेको सूची छ। त्यसका आधारमा पुनले फिरौती माग्दै आएको प्रहरी प्रमुख ज्ञवालीले बताए। 

‘पश्चिम क्षेत्रका करिब ४०० उद्योगी व्यवसायीको सूची डायरीमा टिपिएको छ’, उनले भने, ‘ती व्यक्तिसँग नियमित सम्पर्क गरी धम्कीपूर्ण रूपमा फिरौती माग्ने र पैसा असुली गर्दै आएको देखिन्छ।’ 

डायरीमा पूर्व इलामदेखि पश्चिम अत्तरियासम्मका उद्योगी व्यवसायीको नाम र ठेगानाको सूची बनाएर राखेको प्रहरीले बतायो। 

कहाँ गयो करौडौँ रकम? 

मनोजले धम्क्याएकै कारण लुम्बिनी क्षेत्रका दर्जनौँ उद्योगी व्यवसायीले रकम दिएका छन्। तर उनीहरूले दिएको रकम कहाँ छ भन्ने कुरा बाहिर आउन सकेको छैन। 

‘हामीले अहिलेसम्म मनोजले उठाएको रकम कहाँ राखेको छ भन्ने बाहिर ल्याउन सकेका छैनौँ’, प्रहरी प्रमुख ज्ञवालीले भने, ‘केही भारतीय बैंकका एटिएम भेटिए पनि तिनका बारेमा अनुसन्धान गर्न समस्या परेको छ। उद्योगी व्यवसायीले कसलाई चन्दा दिन्थे, कसरी दिन्थे भन्ने कुरा नखोल्दा पनि हाम्रो अनुसन्धानले निर्णायक मोड लिन सकेको छैन।’ 

सम्पत्ति छानविन गर्छौं : प्रहरी 

पक्राउ परेकाहरूको सम्पत्ति छानविन गर्ने प्रहरीको तयारी छ। ‘हामीले पक्राउ परेका व्यक्तिहरूको सम्पत्ति छानविन गर्छौं’, प्रहरी प्रमुख ज्ञवाली भन्छन्, ‘कतिपयको आर्थिक हैसियत एक्कासि बढेको पनि देखिएको छ, त्यसको कारण पनि खोजिन्छ, कतै मनोज पुनले उठाएको चन्दाको हिस्साको कारण त होइन भनेर खोजिन्छ।’ 

उनले उनीहरूका नाममा रहेका बैंक खाता र आर्थिक गतिविधि रोक्का गर्दै अनुसन्धानलाई निर्णायक विन्दुमा पुर्‍याउने बताए। 

के गर्थे दलका नेताहरू? 

२०७२ कार्तिक २२ मा नारायण बस्नेतको हत्या प्रयास, २०७२ फागुन ६ मा दुर्गा तिवारीको हत्या प्रयास, २०७३ पुस ४ मा तिवारीको हत्या, २०७४ पुस २१ मा वसन्त पौडेलको हत्याका घटनामा उनीहरू संलग्न थिए। 

‘मनोज पुनका आपराधिक क्रियाकलापमा धेरै लामो समयदेखि नै उनीहरू संलग्न रहेछन्’, ज्ञवालीले भने, ‘सुजु मल्ल त मनोज पुन र प्रहरीबीच मुठभेड हुने अघिल्लो दिनसम्म पनि सम्पर्कमै थिए, उनीहरूबीच नियमित सम्पर्क थियो।’

प्रहरीसँग रहेको अडियोमा युवा नेताहरूले व्यक्तिगत विवरण, आर्थिक हैसियत, आर्थिक कारोबारको पछिल्लो अवस्था, पारिवारिक विवरणसमेत पुनलाई बताएको खुलेको प्रहरी प्रमुख ज्ञवालीले बताए। उनीहरूले धनाढ्य व्यक्तिहरूको विवरण संकलनमा बुटवल र देवदहका व्यक्तिहरूले सहयोग गरेको प्रहरीले बतायो। 

‘आफूहरूका बीचमा लेनदेनका कुरादेखि अब कोसँग फिरौती माग्ने भन्ने पनि कुराकानीका क्रममा भएका भेटिएका छन्’, उनले भने, ‘जो जसलाई पक्राउ गरिएको छ, सबै मनोज पुनका निकटतम सहयोगी हुन्, उनीहरूका अडियो र अरू धेरै प्रमाणहरू हामीसँग छन्।’

प्रहरी भन्छ, ‘उनीहरूले मारिने व्यक्तिको सम्पूर्ण सूचना मनोज पुनलाई दिने, हत्या गर्नका लागि अनुकूल वातावरण तयार गरिदिने र अरू सबै सुराकी गर्ने काम गरेको प्रमाण हामीसँग छ।’ 

पुनसँग मात्रै होइन, भारतका कुख्यात अपराधी विट्टु भनिने योगेन्द्र सिंहसँग समेत सम्पर्कमा रही सूचना आदान प्रदान गर्ने काम पनि पक्राउ परेका दलका नेता र व्यवसायीले गर्थे। 

‘कसको सम्पत्ति कति छ, कहाँबाट कति आम्दानी हुन्छ, पारिवारिक अवस्था के छ, आर्थिक कारोबार कसरी भइरहेको छ भन्ने कुराहरू संकलन गर्ने र मनोजलाई पुर्‍याउने काम यिनीहरूले नियमित रूपमा गरिरहेका रहेछन्’, रूपन्देही प्रहरी प्रमुख ज्ञवालीले भने। 

पछिल्लो समय समातिएका लेखनाथ न्यौपाने, उत्तम आचार्य, रोशन खड्का र तुलसी न्यौपानेले रकम असुलीका लागि काम गर्थे। उद्योगी व्यवसायीको सूची पुनलाई दिने र हत्याका लागि वातावरण मिलाउने, पक्राउ परेकाहरूलाई छुटाउनका लागि दलका नेताहरूसँग आग्रह गर्थे। 

पर्यटकलाई दिइने सिम प्रयोग गर्थे सहयोगी

मनोज पुनका सहयोगीले विदेशी पर्यटकलाई दिइने सिम कार्डहरू प्रयोग गरेको पाइएको छ। पक्राउ परेका सुजु मल्लले विदेशी पर्यटकलाई दिने सिम प्रयोग गरेको खुलेको हो। ‘पोखरातिर घुम्न आएका पर्यटकहरूलाई दिइने सिम कार्ड प्रयोग गरेको खुलेको छ’, रूपन्देही प्रहरी प्रमुख ज्ञवाली भन्छन्, ‘उनीहरूले नक्कली कागजातहरू तयार गरेको पनि पाइएको छ।’ 

प्रहरी भन्छ : अरू धेरै व्यक्तिहरू समातिन बाँकी छन्

भारतमा बसेर टेलिफोन गरेर धम्क्याउने काममा मनोज सक्रिय रहेको पाइए पनि मनोजको संजालबारे प्रहरीले अनुसन्धान जारी राखेको छ। 

गत फागुन ९ मा मनोज र सहयोगी सोम आले ‘इन्काउन्टर’मा मारिएपछि प्रहरीले उनीहरूको पछाडि रहेको शक्तिकेन्द्रको खोजी थालेको थियो। 

पछिल्लो पटक छ जनालाई नियन्त्रणमा लिएको प्रहरीले अरू केही व्यक्ति पक्राउ पर्ने क्रममा रहेको बताएको छ। ‘अहिले समातिएका भन्दा अरू धेरै माथिल्लो स्तरका व्यक्तिहरू शंकाको दायरामा छन्’, प्रमुख ज्ञवालीले भने, ‘उनीहरूका विरुद्ध पर्याप्त प्रमाण पुग्नेवित्तिकै पक्राउ गरेर कानुनको दायरामा ल्याउँछौँ।’ 

उनले प्रहरीले मनोज पुनबाट बरामद भएका डायरी, ल्यापटप र अरू केही सामग्रीको आधारमा पनि अनुसन्धानलाई अघि बढाएको बताए। ‘हामी अनुसन्धानकै क्रममा छौँ, अरू धेरै कुराहरू खुल्न बाँकी छन्’, उनले भने, ‘विस्तारै यसको लहरो तानिँदै जान्छ, कोही र कुनै पनि अपराधी उम्कन पाउँदैनन्।’

कोको समातिए? 

रूपन्देहीमा मनोज पुनको समूहले गरेका अपराधका सहयोगीदेखि सुटरसम्म पक्राउ परेका छन्। देवदहका माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, एमाले निकट युवा संघ केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज सुजु मल्ल, बुटवलका एमाले कार्यकर्ता उत्तम आचार्य, तुलसी न्यौपाने, बुटवलका व्यवसायी हरिप्रसाद श्रेष्ठ, देवदहका जग्गा कारोबारी रोशन खड्का पक्राउ परेका छन्। 

यसअघि हत्यामा संलग्न भएको आरोपमा समिरमान बस्नेत, श्याम गोम्बे, पदम चौधरी, महिनारायण चौधरीलगायतलाई पक्राउ गरी मुद्दा चलाइएको छ। तीमध्ये केही सजाय भोगिरहेका छन् भने केही अनुसन्धानकै क्रममा छन्। 

के कारबाही हुन्छ?

पक्राउ परेकाहरूलाई प्रहरीले संगठित अपराध, कर्तव्य ज्यान, जबर्जस्ती असुली, हातहतियार खरखजानालगायतका मुद्दा चलाउने तयारी गरेको छ। उनीहरूको अपराधको विस्तृत विवरण तयार भइनसकेकाले थप अनुसन्धान जारी राख्ने प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.