|

उदयपुर : ‘तल्लो पेट कटकटी दुखिरहने, असह्य पीडा हँदा पनि कसैलाई भनिनँ,’ कटारी नगरपालिका–२ गुराँसेकी ५० वर्षीया रामप्यारी कार्कीले भनिन्, ‘छोराछोरी ठूलठूला भइसके, कसलाई भन्नु, लाजले पीडा लुकाएर बसें, बरु मर्छु, कसैलाई भन्दिन भन्ने बाचा कसें, आज शिविरमा उपचार हुन्छ भनेको सुनेर आएको थिएँ, पाठेघरमा घाउ भएको पत्ता लाग्यो।’

यसरी पाठेघरसम्बन्धी गुनासो पोख्ने रामप्यारी एक्ली होइनन्। कटारी नगरपालिका र मारुती सिमेन्ट उद्योगले शुक्रबार सञ्चालन गरेको एक दिने स्वास्थ्य शिविरमा आएका ४० देखि ७० वर्ष उमेर समुहका अधिकांश महिला भेटिए। 

कटारी बजार क्षेत्रमै पर्ने गुँरासेबाट काटरी अस्पताल २० मिनेट सडकको दूरीमा पर्छ। तर, लाज मानेर पाठेघरसम्बन्धी रोग लुकाएर बस्ने महिला भेट्दा महिला रोग विशेषज्ञ डा. अमित देवनै छक्क परे। ‘कटारी बजार क्षेत्रकै महिलामा पाठेघरसम्बन्धी समस्या यस्तो जटिल छ भन्ने लागेको थिएन,’ डा. देवले भने, ‘जाँच गर्न आएका १५० महिलामध्ये १०० जनामा पाठेघरसम्बन्धी क्यानसर लाग्दै गरेको, पूर्ण रुपमा क्यानसर लागेको पाइयो।’

घर नजिकै निःशुल्क उपचार हुने भएपछि महिलाहरु गोप्य रुपमा डाक्टरलाई समस्या भन्न पुगेका थिए। ‘१८ वर्षको उमेरमा विवाह गरेको, १९ वर्षमा छोरो जन्मियो,’ वडा नम्बर २ को ददरियाकी ३७ वर्षीया रानुमाया माझीले भनिन्, ‘२६ वर्षको हुँदा पाँच वटा छोराछोरी जन्मे। तल्लो पेट दुख्न थाल्यो। घरमा कसैलाई भनिनँ, चोकमै निःशुल्क उपचार हुने भएपछि आउँदा पाठेघरमा रोग लागेको थाहा पाएँ।’

डाक्टर देवका अनुसार कम उमेरमा विवाह गरी बच्चा जन्माउँदा, गर्भान्तर नगरी बर्सेनि बच्चा जन्माउँदा, बच्चा जन्मिसकेपछि चाँडै साल झरेन भनेर बल प्रयोग गरी साल निकाल्दा, सुत्केरी अवस्थामा टुक्रुक्क बसेर लुगा धुने वा वस्तु उचाल्दा तल्लो पेटको समस्या आएको जाँच गर्न आएका महिलाले गरेका थिए। 

मारुती सिमेन्टका खानी विभाग प्रमुख जर्नादन रेग्मीले एक दिने स्वास्थ्य शिविरमा ५२५ जनाले स्वास्थ्य सेवा लिएको बताए। ‘हामीले जटिल समस्या भएका पाठेघर रोगी, हाडजोर्नीलगायतलाई पनि निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएका छौ,’ रेग्मीले भने, ‘यहाँ पनि हामीले निःशुल्क औषधि उपचार दिएका छौं।’

विराट मेडिलकल कलेज एण्ड टिचिङ हस्पिटलका विशेषज्ञसहितको टोलीले दिएको उपचार सेवामा भिडियो एक्सरे ११५ जनाले लिएका छन। यसैगरी बालरोगसम्बन्धी १३६, पाठेघरसम्बन्धी १५०, नशासम्बधी ५०, वद्धावृद्धा विभिन्न स्वास्थ्य समस्यासम्बन्धी फिजिसियन सेवा १०० जनाले लिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.