|

धनकुटा : तेह्रथुम र संखुवासभासको सिमा तीनजुरे डाँडामा निर्माण थालिएको प्रदेश–१ को सुविधा सम्पन्न भ्यूटावर सीमा विवादका कारण रोकिएको छ। भ्यूटावर निर्माण भइरहेको स्थान ‘तेह्रथुम पर्छ कि संखुवासभामा’ भन्ने विवाद उत्कर्षमा पुगेपछि भ्यूटावर निर्माणको काम रोकिएको हो। 

भ्यूटावर निर्माण भइरहेको स्थान लालीगुराँस नगरपालिका–१ मा पर्ने भन्दै गएको वर्ष तेह्रथुमका राजनीतिक दल, जनप्रतिनिधि र स्थानीयबासीले पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा भ्यूटावर निर्माण थालेका थिए। तर, संखुवासभाको धर्मदेवी नगरपालिकाका जनप्रतिनिधिले टावर निर्माण स्थलको स्थलगत अवलोकन गरी टावर निर्माण स्थल धर्मदेवी नगरपालिका १ मा पर्ने भन्दै ठेगाना नसच्याएसम्म टावर निर्माणको काम हुन नदिने भन्दै निर्माणमा अवरोध गरेका हुन्। 

सीमा क्ष्ँेत्रमा पूर्वाधार निर्माण गर्दा आफूहरुको पनि पहिचान हुनुपर्ने भन्दै उनीहरुले टावर निर्माणमा अवरोध गरेका हुन्। विवाद समाधान गर्ने विषयमा दुबै नगरवासी छलफलमा जुटेपनि आ–आफ्नो अडानका कारण सहमती हुन सकेको छैन।

भ्यूटावर निर्माण र जमिनभन्दा पनि जनप्रतिनिधिको आँखा भ्यूटावर बनेपछि आउने राजश्वमा गएको स्थानीयको भनाइ छ। अहिले भ्यू–टावर निर्माण भइरहेको जमिन संखुवासभामा पर्ने र सो योजना संखुवासभाले पाउनुपर्ने माग गर्दै संखुवासभाका जनप्रतिनिधिले काम अवरुद्ध गरेको स्थानिय छिरिङ लामाले बताए।

सिमा विवाद समाधानपछि मात्र टावर निर्माणको काम अघि वढ्न दिने धर्मदेवी नगरपालिकाबासीले अडान राखेका छन्। भ्यूटावर निर्माणस्थल संखुवासभाको धर्मदेवी नगरपालिका–१ मा परेको तर, आधार प्रमाणविना तेह्रथुमको लालीगुराँस नगरपालिकाले आफ्नो भनेको धर्मदेवी नगरपालिका प्रमुख रमेश जिमीले बताए।

‘कित्ता धनीपूर्जालगायतका प्रमाणहरु छन्, भ्यूटावर संखुवासभाको भूगोलमा बनाएर तेह्रथुमले झुक्याउन खोजेको छ’, जिमीले भने ‘पानी डोलो (खोल्सो)पछि आफ्नो हिसाबले बनाइएको पाइएको छ। सबै संरचना धर्मदेवी नगरपालिका १ मा बनाएर लालीगुराँश १ लेखिएको छ।’ ठेगाना सच्याए मात्रै काम अगाडि बढ्न दिने जिमीले बताए। 

यता, तेह्रथुमको लालीगुराँस नगरपालिकाले पनि आफ्नो भूगोल भएको दाबी गर्दै आएको छ। लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले भूगोल जसको भए पनि यो क्षेत्रको पर्यटन विकाससँग जोडिएको सो भ्यूटावर निर्माणको काम रोक्न नहुने बताए। भ्यूटावर निर्माणले दुई वटै जिल्लाको विकासमा सहयोग पुग्ने उनको भनाइ छ।

‘बेकारको विवाद निकाल्नु भयो तर निकास पनि दिनु भएन’, माबोहाङले भने, ‘काम हुन चर्चा चल्दा कुनै वास्ता भएन तर लालीगुराँस नगरपालिका र पर्यटन मन्त्रालयको साझेदारीमा काम सुरु भएपछि विवाद निकालियो।’

भ्यूटावर निर्माणको लागि लालीगुराँस नगरपालिकाको प्रस्तावमा पर्यटन मन्त्रालयले दुई करोड १३ लाख रुपैयाँ लागतमा एक वर्षभित्र सक्ने गरी गत माघमा ठेक्का लगाएको थियो। पर्यटन मन्त्रालयले भने टावर निर्माण स्थल जुन जिल्लामा परे पनि निर्माणपछि सोही जिल्लालाई हस्तान्तरण गर्ने जनाएको छ। अहिले देखिएको विवाद दुई नगरपालिकाबीच छलफल गरेर विवाद मिलाउनु पर्ने पर्यटन कार्यालय झापाका निमित्त प्रमुख अभय कुमार गुप्ताले बताए।

‘ठेगाना संसोधनको पहल गर्छौ भन्दा पनि काम सुचारु गर्न दिनु भएको छैन’, गुप्ताले भने ‘यस विषयमा माथिल्लो निकायमा जानकारी गराएका छौँ, जे निर्देशन आउछ त्यही गर्ने हो।’ 

चारतलो भ्यूटावरमा पहिलो तलामा सूचना केन्द्र, दोश्रो तलामा स्थानीय स्तरमा उत्पादीत वस्तुको पसल, तेस्रो तलामा क्याफे र चौथो तलामा भ्यू प्वाइन्ट बनाइने योजना रहेको छ। टावरमा शौचायल, सुरक्षा पोष्ट, आराम तथा ध्यानाकर्षण स्थल, रमणीय प्रकृतिक पार्कसमेत रहनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.