|

मेलम्ची : राष्ट्रिय गौरवको आयोजना आँफै अनुगमन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको घोषणा अनुसार बिहीबार दिउँसो ३ बजे उनी मेलम्ची खानेपानी आयोजनाको अनुगमनमा जाने कार्यतालिका तय भयो।

प्रधानमन्त्रीको सचिवालयले आयोजना प्रमुख तथा सम्बन्धित पक्षलाई यस विषयमा जानकारी दियो।

प्रधानमन्त्री अनुगमनमा जाने थाहा पाउनेवित्तिकै आयोजनासँग संबन्धित कर्मचारीहरुको टाउको दुखाई सुरु भयो। किनभने आयोजनास्थलसम्म पुग्ने सडकको अवस्था ज्यादै नाजुक थियो। सडक हिलाम्ये थियो भने ठाउँठाउँमा ठूला खाल्डा थियो। कतिपय ठाउँमा खोला र खोल्सी तर्नुपर्ने थियो।

आयोजनाको पहलमा बिहीबार नै राती ११ बजेदेखि सडकको खाल्डाखुल्डी  पुर्न सुरु गरियो। रातभर लगाएर खाल्डाखुल्डी पुरेको सडकमा प्रधानमन्त्री बिहान १० नबज्दै पुगेका थिए।

अघिल्लो रातमात्रै मर्मत गरिएको सडकमा प्रधानमन्त्री, सिन्धुपाल्चोकका सांसदहरु, सरकारी अधिकारी, पत्रकार र स्कर्टिङमा गएका गरी ३ दर्जन गाडीहरुले खाल्डाखुल्डी पारेका थिए। कतिपय ठाउँमा प्रधानमन्त्री चढेकै गाडी समेत फसेको थियो। 

प्रधानमन्त्री स्थलगत निरीक्षणमा जाने खबरपछि पुरिएको खाल्डाखुल्डी फेरि भत्किने डरले शुक्रबार दिनभर ट्रिपरलाई भने सञ्चालनमा रोक लगाएको थियो।

अघिल्लो रात हतार हतार सडक मर्मत गरेकोबारे प्रधानमन्त्रीले समेत थाहा पाइसकेका थिए। उनले मेलम्ची आयोजनाको अनुगमन गरिसकेपछि आयोजित कार्यक्रममा सडकका बारेमा पनि टिप्पणी गर्न भ्याए।

‘म प्रधानमन्त्रीको हैसियतले मेलम्ची आउँदा खाल्डाखुल्डी पुरिएछन्, दसैँ तिहार आउन लागेको बेला जनतालाई थोरै भएपनि राहत महसुस भएको छ, म सम्बन्धित विभागलाई धन्यवाद दिन चाहन्छु’ प्रधानमन्त्रीले भने। उनले आफू एक दिन मात्र आउने हुँदा खाल्डाखुल्डीले फरक नपर्ने भन्दै सडक बनेपछि स्थानीय वासिन्दालाई फाइदा हुने बताए।

मेलम्ची जानका लागि काभ्रेको जिरो किलोमिटरबाट एक घण्टा गाडीमा यात्रा गर्नुपर्छ। जिरोकिलोदेखि अगाडिका सडक सबै भत्किएको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका लगायतका वरपरका गाविसका वासिन्दाले काठमाडौं आउँदा जाँदा यही सडक प्रयोग गर्नुपर्छ।

मेलम्ची आयोजनाका प्रमुख घनश्याम भट्टराईले प्रधानमन्त्री प्रचण्डसँग सडकको स्तरोन्नतिका लागि आवश्यक पहल लिनका लागि आग्रह गरेका थिए। प्रधानमन्त्रीले सडक स्तरोन्तिका लागि सम्बन्धित निकायलाई आग्रह गर्ने आश्वासन दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.