|

घटना- १

एक जना नर्स बहिनी थिइन्। उनी अस्पतालमा का मगर्थिन्। ज्वाइँ प्राइभेट संस्थामा काम गर्नुहुन्थ्यो। विवाह भएको लामो समयसम्म पनि बच्चा भएको थिएन। विवाहको लगभग पाँच वर्षपछि बहिनी गर्भवती भइन्। सबैजना ज्यादै खुसी थिए। तर त्यो खुसी धेरै दिन टिक्न सकेन किनकि गर्भ रहेको छ हप्तामै उनको गर्भपतन भयो। 

गर्भपतन हुनुको कारण त्यस दिन उनी बेलुकीको सिफ्टमा ड्युटीमा थिइन्। अस्पतालमा उनी र अर्की दुई जनाको ड्युटी थियो। साथी ट्वाइलेटमा गएको बेलामा एक जना फोक्सोको बिरामीलाई अचानक खोकी लाग्यो। उनले बिरामीलाई सकी नसकी उठाइन् र उपचार गरिन्। बिरामीलाई जबर्जस्ती उठाउँदा उनको गर्भमा असर पर्‍यो र उनको गर्भपतन भयो। 

त्यसपछि उनले आफूभन्दा सिनियर दिदीसँग यो कुरा राखिन्। उनको त झन् चार पटक नै गर्भपतन भइसकेको रहेछ। ‘नर्सिङ पेसामा यस्तो सामान्य कुरा हो’ भन्ने इन्चार्जको कुरा अझ अचम्मलाग्दो थियो। विभिन्न किसिमका औषधि, रसायन तथा रेडिएसनबाट हुनसक्ने खतरा त छँदै छ, अत्यधिक तनाव नर्सले भोग्नुपरेको साझा समस्या हो। ती बहिनी पनि यसैको सिकार बनिन्। 

घटना- २ 

मेरो आफ्नै घरको ढलान थियो। म उत्साहित हुँदै तीन वर्षको छोरो बोकेर ढलान गरेको हेर्न गएँ। एक जना बहिनी डेढ महिनाको बच्चा पछाडि बोकेर बेल्चाले गिटी उठाउँदै डोकोमा भरिदिँदै थिइन्। कहिले बच्चा रुन्थ्यो तर बच्चालाई दूध खुवाउने उनको फुर्सदसमेत थिएन। धेरै बेरपछि उनले भुइँमा बसेर बच्चालाई दूध खुवाइन्। उनी उठेको ठाउँ पूरै रगतले भिजेको थियो।

मलाई त्यो देखेर असह्य भयो र त्यसपछि उनलाई ‘यस्तो अवस्थामा किन काम गर्न आएकी?’ भनेर सोधेँ। श्रीमानले पैसा कमाएको रक्सी खाएर नै सिध्याउने रहेछन्। सुत्केरी भएको बेलामा समेत राम्ररी खान नपाएपछि सुत्केरी भएको एक महिनापछि नै पहिलेदेखि नै गरिरहेको काम थालेको र ढलानमा अरू कामभन्दा धेरै पैसा आउने भएर आएको बताइन्। सिमेन्ट, इटाको धूलोले उनको र बच्चाको स्वस्थ्यमा कस्तो असर परेको होला? म धेरैबेरसम्म टोलाइरहेँ।

घटना- ३

मेरी एक जना साथी सरकारी कार्यालयमा लेखा अधिकृत थिइन्। उनको दुई महिनाको गर्भपतन भयो। स्वस्थ्य जाँच गराउँदा शरीरमा अन्य केही खराबी देखिएन तर उनले बताएअनुसार त्यसताका कार्यालयमा निकै तनाव भने थियो उनलाई।

एकातिर असीमित कामको बोझ, अर्कोतिर माथिल्लो तहको कर्मचारीको अनावश्यक दबाब। अन्ततः गर्भपतन त भयो नै, त्यसपछि पनि शरीरलाई चाहिने आवश्यक आराम गर्न नपाई अफिसमा हाजिर हुनुपर्‍यो। ज्यादै विक्षिप्त हुँदै कार्यालयमा हाजिर हुन पुगिन् उनी। 

घटना- ४

धादिङको छत्रेदेउररालीमा मेरी आफन्त (नाताले भाउजू पर्नुहुन्छ) तरकारी खेती गर्नुहुन्छ। उहाँको विवाह गरेको १० वर्ष भइसक्दा पनि बच्चा भएन। पछि जाँच गराउँदा विषादीको असरले बाँझोपन भएको भन्ने थाहा भयो। विषादीले अरू पनि  केके असर गर्छ, पछि मात्र थाहा पाउनुहुुन्छ होला भाउजूले। 

नर्सिङ, निर्माण, टेबल वर्क र कृषिका यी घटना त प्रतिनिधि घटना मात्र हुन्। यी घटनासँगै केही सवालहरू मेरो मस्तिष्कमा सल्बलाइरहेका छन्। के महिलाको प्रजनन्सम्बन्धी समस्या महिलाको मात्रै हो? बच्चा जन्मिएपछि उनीहरूलाई देशको कर्णधार मानिन्छ।

उनीहरूको स्वास्थ्योपचारमाथि राज्यले लगानी पनि राम्ररी नै गरेको छ। यी कर्णधारलाई जन्मिनुपूर्वचाहिँ स्वस्थ र सही वातावरण चाहिन्छ कि चाहिँदैन?  मानसिक या शारीरिक, जुनसुकै किसिमको श्रम होस्, कार्यस्थलको कारणले महिलाको स्वास्थ्यमा नराम्रो असर परिरहेको छ। यो क्रम दिनदिनै घट्दो रूपमा नभई बढ्दै गइरहेको छ। विशेषगरी प्रजनन् स्वास्थ्यमा परेको असरको बारेमा धेरैलाई थाहा नै छैन।

नेपालको परिप्रेक्ष्यमा भन्ने हो भने यसको समीक्षा तथा मूल्यांकन भएको पाइँदैन। आफूलाई परेको समस्यामाथि छलफल गर्दा आफ्नो भएको पेसाबाट नै बिदा लिनुपर्ने हो कि भन्ने डरले महिला नै चुपचाप बस्न बाध्य छन्। पुरुषलाई त झन् थाहा हुने कुरा पनि भएन। यदाकदा घटना थाहा नै भए पनि उनीहरू बोल्न रुचाउँदैनन् या घटनाको कारणप्रति नै विश्वस्त हुँदैनन्। राज्यको संयन्त्रबाट यस्ता किसिमका समस्यामाथि ध्यान पुगेको पाइँदैन। 

सात महिना पूरा भएपछिको गर्भपतन भएका महिलालाई बिदाको व्यवस्था, सुत्केरी बिदा, कार्यस्थलमा शिशु स्याहारको व्यवस्था जस्ता कुराहरू ऐनमा उल्लेख भए तापनि कार्यान्वयनको पाटो फितलो भएको कारण समस्या जूँका त्यूँ रहेको पाइन्छ। सरकारी निकायमै अस्थायी र करारमा काम गर्ने कर्मचारीलाई सरकारी ऐनमा उल्लेख भएको कुरा लागू हुँदैन भने निजी संस्था र अनौपचारिक श्रमको क्षेत्रमा ऐनको पालना हुन्छ भन्ने आशा गर्नु नै बेकार हुन्छ। 

हामीकहाँ अझै पनि महिलालाई बच्चा जन्माउने मेसिन र घरको काम गर्ने स्थायी मजदुरका रूपमा लिइरहिएको छ। म्हिला पनि मान्छे हो, अझ यो सृष्टिको एउटा महत्त्वपूर्ण पाटो हो, समाज र राज्यको एउटा जिम्मेवार नागरिक सदस्य हो भन्ने कुरा न त परिवारले, न समाज र राज्यले नै गम्भीरतापूर्वक बोध गरेका छन्।

यस्तो अवस्थामा महिलाप्रति संवेदनशील ऐन, कानुन बन्नु र महिला श्रमिक वा कर्मचारीप्रति सम्बन्धित कार्यालय वा काम दिने व्यक्ति, संस्था र निकाय संवेदनशील बन्नु जरुरी देखिन्छ ।

अहिले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ। संविधानमै जनताका आधारभूत अधिकारका रूपमा झण्डै तीन दर्जन मौलिक हकको उल्लेख गरेको छ। तर ती हकअधिकारको कार्यान्वयनको पक्ष कति फितलो छ भनेर माथिका घटनाबाट पुष्टि हुन्छ।

यसर्थ महिलाको सम्मानपूर्वक, स्वस्थसँग र सुरक्षित हिसाबले बाँच्न पाउने अधिकारप्रति राज्य र सरोकारवाला सबै संस्था, व्यक्ति र निकाय सचेत हुन आवश्यक छ। साथै बच्चाले गर्भदेखि नै स्वस्थ हुन पाउने, जन्मिएपछि आधारभूत कुराहरू, आमाको दूध, माया ममता, स्नेह, स्वास्थ्य सुविधा, शिक्षालगायतका हकअधिकार पाउने कुरामा पनि उत्तिकै सजग र सचेत हुन जरुरी देखिन्छ।

सन् १९९६ देखि संसारभरका ट्रेड युनियनहरूले २८ अप्रिललाई कार्यस्थलमा घाइते भएका तथा मरेका श्रमिकहरूको सम्झनामा अन्तर्राष्ट्रिय श्रमिक स्मृति दिवसको रूपमा मनाउँदै आएका छन् भने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा दिवसको रूपमा विभिन्न व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसँग सम्बन्धित सचेतनामूलक कार्यक्रम गरेर मनाउँदै आएको छ।

दिगो विकासको लक्ष्य पूरा गर्न यस वर्ष युवा श्रमिकको सुरक्षा तथा स्वास्थ्यलाई लक्षित गरी विश्वभर यो दिवस मनाउँदै गर्दा युवा महिलाले भोग्नुपरेका समस्याप्रति संवेदनशील हुनुपर्ने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.