|

डोल्पा : माथिल्लो डोल्पाको धो वासीले अव घरमै बसी बसी फोन गर्न पाउँने भएका छन्। माथिल्लो डोल्पाको डोल्पो बुद्ध गाउँपालिका धोमा नेपाल टेलिकमले टावर निर्माण (माइक्रो बिटियस प्रणालीको) गरी सेवा विस्तार गरेपछि घरमै बसेर फोनबाट कुराकानी गर्न पाउने भएका हुन्। 

नयाँ वर्ष २०७५ को उपहारस्वरुप हामीले अव घरमै बसेर जुनसुकै ठाउँमा पनि कुरा गर्न पाउने सुविधा पाएकोमा निकै खुसी लागेको धो गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले बताए। माथिल्लो डोल्पाको धोमा अव नेपाल टेलिकमले बिटियस प्रणालीको टावर निर्माण गरी सेवा विस्तार गरिसकेको छ। अव सदरमुकाम लगायत देशमा विभिन्न ठाउँमा स्थानीयको सम्पर्क जोडिएको छ। 

जिल्ला कै अति विकट मानिने धो गाउँमा अहिले सम्म टेलिफोन सेवा विस्तार हुन सकेको थिएन। नेपाल टेलिकमले विस्तार गरेको यो मोवाइल टावरबाट एक पटकमा १४ जनाले मात्र फोन गर्न मिल्ने प्राविधिक खेमराज सिंह बोहोराले जानकारी दिए। धो गाउँमा टावर नहुँदा वषौदेखि यहाँका स्थानीयवासीले एकदिन हिडेर फोन गर्न दुनै आउनुपर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष गुरुङले बताए। 

डोल्पाकी सांसद सत्य पहाडीले डोल्पाका अन्य ठाउँमा पनि टेलिफोन टावर जोड्ने काम जारी रहेको बताइन्। अहिले पहिलो चरणमा नक्शांकन गर्ने काम भइरहेको पनि उनले  बताइन्। 

माथिल्लो डोल्पाको डोल्पो बुद्ध गाउँपालिका धो गाउँ समुन्द्र सतहबाट ४ हजार ४०० मिटर उचाइमा अवस्थित छ। 


  

 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.