|

काठमाडौं : महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रत्येक पाँच वर्षमा मनाउँदै आएको संसारीमाईको महापूजा आजबाट शुरुबाट भएको छ।

छ दिने यो महापूजाको आज पहिलो दिन संसारीमाईको मन्दिर (गहवर)को विशेष सरसफाइ गरी शुरु गरिएको हा। जिल्ला सदरमुकाम जलेश्वर नगरको प्रत्येक भागको सरसफाइसमेत गरिएको छ।

महापूजाको दोस्रो दिन सोमबार कलश शोभायात्रा, मंगलबार लखराम पूजा र हनुमान आराधना, बुधबार अस्टजाम, बिहीबार विडी सलामी हुने कार्यक्रम रहेको पूजा समितिका अध्यक्ष अनिलकुमार झाले जानकारी दिए।

महापूजाको अन्तिम दिन अर्थात् मुख्य दिन आउँदो शुक्रबार वैशाख २१ गतेका दिन बिहान ३ बजेदेखि दिउँसो १ बजेसम्म खोइछ भराइ कार्यक्रम हुनेछ भने सोही दिन दिउँसो ३ बजेदेखि संसारीमातालाई बलि प्रदान गर्ने कार्यक्रम छ।

यस पूजामा जलेश्वर नगरपालिकाको प्रत्येक घरबाट अनिवार्य रुपमा बलि दिइने तथा अन्य विभिन्न गाउँठाउँ, विभिन्न जिल्ला र भारतबाट समेत यस महापूजामा बोका, हाँस, कुखुरा, परेवा, सुँगुर र राँगालगायत करीब १० हजार बलि दिने समितिले जनाइएको छ। महापूजामा किरब पाँच लाख श्रद्धालुले मेला भर्न आउने अनुमान गरिएको समितिका अध्यक्ष झाले बताए।

अनादीकालमा जलेश्वरमा महामारी आएर दर्जनौँ व्यक्तिको मृत्यु भइरहेको बेला स्थानीयले संसारीमाईलाई आह्वान गरी माहामारी रोके पूजा गर्ने वचनबद्धता प्रकट गरेपछि माता संसारीले महामारी रोकिदिएको र सोही बेलादेखि स्थानीयले माता संसारीको पूजा गर्दै आएको किम्बदन्ती छ। तर यो पूजा कहिले र कसले शुरु गरेको भन्ने बारेमा कसैलाई थाहा छैन।

पहिला–पहिला प्रत्येक १२ वर्षमा यो महापूजा हुँदै आएको थियो। त्यसपछि सात वर्ष र विगत दुई वटा महापूजा पाँच÷पाँच वर्षको अन्तरालमा भएको थियो। त्यस्तै पाँच वर्षको अन्तरालमा हुने यो महापूजा तेस्रो रहेको समितिका अध्यक्ष झाले बताए।

महापूजाका लागि पूरै जलेश्वरलाई दुलहीझैँ सिंगारिएको छ भने यो महापूजामा रु ३५ देखि ४० लाख खर्च हुने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.