लहान : शान्तिका अग्रदूत तथा अहिंसाका प्रवर्तक गौतम बुद्धको जन्मजयन्तीको अवसरमा शान्तिका लागि विभिन्न कार्यक्रम गरिने भएपनि सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित राजदेवी मन्दिरमा भने हजारौंको संख्यामा पशुपक्षीको बलि दिइने विशेष मेला लागेको छ।
थारु समुदायको बाहुल्य रहेको गाउँको बीचमा रहेको मन्दिरमा बुद्ध जयन्तीकै दिन बैशाखे पूर्णिमामा पशुपक्षीको बलि दिइने गरिन्छ। राजदेवी मन्दिर बाराको गढीमाई मन्दिरपछि दोस्रो धेरै संख्यामा बलि दिइने मन्दिरको रुपमा लिने गरिन्छ।
ढोढनाको बानो गाउँदेखि करिब ५०० मिटर उत्तर–पूर्वमा रहेको मन्दिरमा सिरहा, सप्तरी, उदयपुर, धनुषासहित छिमेकी मुलुक भारतको बिहारको उत्तरी क्षेत्रका दर्शनार्थीहरु बिहान दुई बजेदेखि नै मन्दिर परिसरमा लाम लागेको राजदेवी मन्दिर संरक्षण विकास समितिका सल्लाहकार तथा वडाध्यक्ष तेजनारायण चौधरीले बताए।
भाकलअनुसार पूजा गर्न मन्दिर वरिपरिका खेतमा करिब एक लाखको हाराहारीमा दर्शनार्थीहरुको भिड लागेको समितिका अध्यक्ष अविरलाल चौधरीले बताए। यस मन्दिरमा पशुपक्षीको बलि दिएर राजदेवी माताको भाकलअनुसार पूजाअर्चना गरे सन्तान प्राप्ति, रोगव्याधिबाट मुक्ति र मनोकांक्षा पूरा हुने विश्वास रहेको छ। मन्दिरमा बोका, पाठी, हाँस, परेवा, कुखुराको बलि चढाउने गरिन्छ।
एक बिघा पाँच कठ्ठा पाँच धुर क्षेत्रफलमा जङ्गलको बीचमा रहेको मूर्ति बिनाको मन्दिरमा छ। बलल दिइएको पशुपक्षीको रगतले मन्दिर परिसर रक्ताम्मे हुने भएपनि भोलिपल्टदेखि दुर्गन्ध नआउने र झिँगा समेत नलाग्ने हु“दा त्यसमा राजदेवीको शक्ति रहेको जनविश्वास रहेको छ। स्थानीय बुढापाकाका अनुसार मन्दिर अढाई शताब्दीदेखि नै अस्तित्वमा रहेपनि विशेष पूजाअर्चना र पशुपक्षीको बलि भने ०५० पछि मात्र सुरु भएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।