|

इलाम : तत्कालीन लेखा अधिकृत रवीचन्द्र ढकालले नगरपालिकाको करोडौँ रुपैयाँ हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माई नगरपालिकाको कागजपत्र नियन्त्रणमा लिएको छ।

दुई महिनाअघि  उदयपुरको कटारी नगरपालिकामा सरुवा भइ हाजिर भएको एक महिना पनि बित्न नपाउँदै तीन करोड ९७ लाख ५० हजार रुपैयाँ हिनामिनाको आरोपमा ढकाल गत बुधबार पक्राउ परेपछि आयोगले माई नगरपालिकाको कार्यालयमा शुक्रबार छापा मारेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख भरत ढुङगाना नेतृत्वको टोलिले लेखा अधिकृत ढकालको पालाको सबै सक्कल कागजात नियन्त्रणमा लिएको छ। विभिन्न बहानामा प्रमुख प्रशासकीय अधिकृतलाई चेकमा हस्ताक्षर गराउँदै ढकालले तीन करोड बढी रुपैयाँ कुम्ल्याएको हुनसक्ने प्रारम्भिक अनुमान छ।

अख्तियारको टोलिले नगरपालिकाको गत आर्थिक वर्ष २०७३/०७४ र चालु आव २०७४/७५ फागुनसम्मको कागजात नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरूको रोहवरमा नियन्त्रणमा लिएको हो। लेखा अधिकृत रवीचन्द्र ढकाल माई नगरपालिकामा ०७३ जेठदेखि ०७४ फागुनसम्म कार्यरत थिए।

माई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालीदास ढकालले रकम हिनामिनाको आशंकामा नगरपालिकाले नै अख्तियारमा उजुरी दिएकाले अख्तियारको टोली आएको बताए। आन्तरिक लेखा परिक्षणका क्रममा तत्कालीन लेखा अधिकृत ढकालबाट रकम हिनामिना भएको थाहा भएपछि अख्तियारमा उजुरी गरेको उनले बताए। 

‘सुरुमा त हामीलाई केही थाहा थिएन। जब आन्तरिक लेखापरिक्षण सुरु गर्‍यौँ, सो क्रममा लेखा परीक्षकमार्फत केही कैफियत भएको छ भन्ने थाहा पायौँ’, प्रमुख प्रशासकीय अधिकृत ढकालले भने, ‘त्यसपछि तुरुन्त हामीले अख्तियारमा खबर गर्‍यौँ। अख्तियारको टोलि आएर लेखा अधिकृत ढकालको पालाको सबै कागजात लिएर गएको छ।’ 

घटनामा प्रमुख प्रशासकीय अधिकृतको समेत संलग्नताका सम्बन्धमा प्रश्न उठ्न थालेको छ। प्रश्न उठ्न स्वभाविक पनि हो। किनकी नगरपालिकाको चेक प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको संयुक्त दस्तखतमा सञ्चालन हुन्छ। तर, यो विषयमा प्रमुख प्रशासकीय अधिकृत आफ्नो केही नरहेको दाबी गर्छन्। 
चेकमा हस्ताक्षर त तपाईले पनि गर्नुभयो नी? भन्ने प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत ढकालले भने, ‘त्यो छानविनको विषय हो। यो विषयमा मेरो भन्नु केही छैन। हस्ताक्षर त गरियो तर दुरुपयोगका लागि होइन।’ 

नगरपालिकाका प्रमुख दीपककुमार थेवेले जनप्रतिनिधिलाई कुनै आर्थिक अधिकार नभएकाले आर्थिक हिनामिनाको बारेमा समयमै जानकारी दिन नसकिएको स्वीकार गरे। ‘आर्थिक कारोबारको अधिकार ऐनले नै प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई दिएको छ’, प्रमुख थेवेले भने, ‘हामीलाई आर्थिक अधिकार नभएकाले समयमै जानकारी लिन सकिएन।’ 

उसो त यसअघि नै लेखापरीक्षण गर्नुपर्नेमा लेखा अधिकृत ढकालले आफ्नो कार्यकालको म आफैँ गराउँछु भन्दै आलटाल गर्दै आएको समेत खुलासा भएको छ। पछि ढकाल सरुवा भएर उदयपुरको कटारी नगरपालिका गएपछि मात्र नगरपालिकाले लेखापरीक्षण सुरु गरको थियो। ढकाल माई नगरपालिकाबाट दुई महिना अघि मात्र उदयपुरको कटारी नगरपालिकामा सरुवा भएर गएका थिए।

ढकाललाई खोज्दै कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ नै काठमाडौं पुगेका थिए। ढकालले नगरपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण प्रयोजनका लागि भन्दै २७ फागुनमा १ करोड ९८ लाख ७५ हजार र २६ चैतमा एक करोड ९८ लाख ७५ हजार रुपैयाँ आफ्नो व्यक्तिगत खातामा दाखिला गरेको आरोप लागेको छ। 

ढकालले कटारीस्थित राष्ट्रिय वाणिज्य बैँकको शाखामा रहेको नगरपालिकाको खाताबाट नगरपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण प्रयोजनका लागि भन्दै तीन करोड ९७ लाख ५० हजार रुपैयाँ व्यक्तिगत खातामा सारेको पाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.