|

काठमाडौं : २०६१ कात्तिक अन्त्यतिर भाइटीकाको भोलिपल्ट अखबारका पानाहरूमा सनसनीपूर्ण खबरले देशका शासकहरूको निदहराम गराइदियो। त्यो खबर थियो, 'शाहीसेनाको ब्यारेकबाट सैनाकै हतियार कब्जा गरेर केही बन्दी माओवादी छापामारहरूले धादिङको गजुरी सैन्य हिरासत तोडेर हिजो बेलुका भागेका छन्।'

यो खबरले तत्कालीन माओवादीलाई देशका शासकसँग लड्न थप ऊर्जा मिलेको थियो भने बन्दी माओवादी छापामारका परिवारका वर्षौंको तपस्याले पूर्णता पाएको थियो। बाबु हेर्ने छोराछोरीको रहर पूरा हुँदै थियो। श्रीमतीहरूको सिउँदोमा सिन्दूरले चम्किलो र अमिट भएर बस्न पाउने सौभाग्य प्राप्त गर्‍यो।

जेल तोडेर भाग्नेको सूचीमा थिए। पत्रकार राजु क्षेत्री, क.सेवक, क.शैलेश, क.विप्लव,क.रविन्द्र, क. विगुल र क.ठाकुर सिंह। विप्लवको पछि मृत्यु भयो बाँकी अरू पनि देशको राजनीतिक परिवर्तनका लागि आज पनि आफ्नो ठाउँबाट सक्दो प्रयासरत छन्। राज्यको चौथो अंग मानिने पत्रकारितामा लागेका राजु क्षेत्री चाहिँ किन जेलजीवन भोग्न बाध्य भए त? क्षेत्री भन्छन्, ' हामी मिसन पत्रकारितामा लागेका पत्रकार हाम्रो मिसन थियो जनताको प्रतिरोध संघर्षमा पत्रकारिता क्षेत्रबाट नैतिक जनमत सिर्जना गर्ने त्यस अर्थमा हाम्रो सम्बन्ध जनयुद्द सञ्‍चालन गरेको माओवादीसँग साठगाँठ हुने भइहाल्यो। राज्य र सैनिकको तारोमा म थिएँ।'

वि.स. २०५८ मंसिरर ११ गते राज्यले माओवादीलाई आतंकारी घोषणा गरेर देशभर संकटकाल गरेको थियो। त्यस समयभन्दा अघिसम्म उनी राष्ट्रिय स्वाभिमान साप्ताहिक पत्रिकाका काम गर्थे। उनी भन्छन्, 'राज्यको उत्पीडनविरुद्द जनताले चलाएको प्रतिरोध युद्दका समर्थकका रूपमा रहेका मलाई राज्यले आतंककारीको कित्तामा राखेको थियो। कानुनका विधार्थी मैले देशको अधिनायकवादी राज्यको कानुनविरुद्द विद्रोह गरेँ।'

क्षेत्रीले जनयुद्दको दौरानमा सैन्य हिरासतमा दुईपटकमा ५०० दिन जेलजीवन बिताएका हुन्। पहिलो जेलजीवन उनको करिब चार महिनको रह्यो। फूलबारी ब्यारेक त्यसवेला उनका लागि नर्क थियो। उनले  फूलबारी ब्यारेकमा बन्दी जीवनको दौरानमा यातनाका क्रममा अपमान र घृणाको अनुभव सुन्दा सामान्य मान्छेले सोच्दासमेत भोक र निद्राहराम हुन सक्छ।

दोस्रोपटक बन्दी हुँदा ब्यारेकमा उनलाई यति धेरै चुटियो कि पीडा सहन नसकेर उनी बेहोस भए। उनी ती दिन सम्झन्छन्, 'व्युझँदा सँगैका साथीहरू चिच्याइरहेका थिए, यातनाको पहिलो चित्कार कति कारुणिक हुँदोरहेछ चाल पाए।' ब्यारेक पुर्‍याएपछि आँखामा पट्टी बाँधेर रोडा गिट्टी र सिमेन्टका भुइँमा लड़याएर राखिन्थ्यो उनलाई।

आफ्नै क्याम्पभित्र पनि आँखा किन बाँध्नु परेको होला? उनी भन्छन्, 'भाडाका सिपाहीहरू आस्थाका सिपाहीहरूको आस्थाको जब्बरतासामु त्यो तिनीहरूको पराजयको प्रतिविम्ब थियो।' उनलाई निरन्‍तरको सैन्य कारबाही र प्रहार पीडाभन्दा पनि अर्कै कस्तो कस्तो अनुभूति हुन थाल्यो।

उनी भन्छन्, 'अर्कै संसारमा पुगेर केही खेल खेलेजस्तो।' ब्यारेकभित्र माओवादीका ती कैदीमाथि हत्या हिंसा शोषण बलात्कारजस्ता कैयन अमानवीय घटना साँची उनी भन्छन्, 'म त्यो समयको दर्शक हुँ, जसले त्यो ब्यारेकभित्रको घृणा र अपमानको देखेको र भोगेको छ।'

भाँचिएर बाँकी रहेको हात लप्टनले पुन: भाँचिदिए 

माओवादीभित्रका शीर्षस्‍थ नेताहरूसम्म पुग्न सेनाले उनलाई अनेक लोभ देखाउँथे। तर, क्षेत्रीले उनीहरूले भनेअनुरूप केही काम गरेनन् जसका कारण हरेक समय करेन्ट लगाउथे त कतिखेर लौरोले चुट्थे। त्यसवेलाका लप्टन पुर्नालाल श्रेष्ठले उनको भाँचिएको हातमा नापी नापी हानेर पुन भाँचिदिएका थिए रे।

बिजुलीको भोल्टेज लगाएजस्तै उनको पूरै हात झनन पार्दथ्यो। उनी भन्छन्, 'वर्गीय अन्तरले जन्मेको सघर्षमा पाएको दु:खले कि जब्बर बनाउँछ कि गद्दार। युद्दको सामना गर्नेहरू मरेर पनी बाँच्छन, कायरहरू बाँचेर पनी मर्छन्। मलाई बाँचेर मर्नु थिएन।' उनी थप्छन्, 'यसकारण पनि उनीहरूको प्रहार सहने बानि परिसकेको थियो।'

भावनात्मक र दयालु मन पनि ब्‍यारेकमै

ब्यारेकको कालकोठरी सबै जब्बर सिपाही मात्र हुँदैनन्। कोही मनका एकदमै दयालु र मनकारी पनि हुन्छन्। उनले ती सिपाहीहरूलाई सम्झिए जसले उनको खबर सुदूरगाउँमा उनी आउने बाटो कुरेकी प्रियसी सरिता बराल क्षेत्रीसम्म उनी जिउँदै छन् भन्ने खबर पुर्‍याउँथे। तराई मूलका सिपाही थिए रंगिलाल चौधरी।

उनी भन्छन्, 'ऊ कालो वर्णको तराई मुलको मान्छे। सुन्दरता रंग र वर्णसँग मात्र सम्बन्धित विषय होइन यो भावना पक्षसँग जोडिने विषय पनि रहेछ।' यस्तै, अर्का सिपाही थिए, राजकुमार विष्ट । क्षेत्री सम्झिन्छन्, 'मानवताको एक उत्कृष्ट ईश्वर जसले मानवता मात्र देखाएनन्। हामीलाई बाच्न प्रेरणा दिए।'

पश्चिमतिरका जयबहादुर शाही थिए ब्यारेकमा। क्षेत्री भन्छन्, 'उनले बाहिर गएर पत्रिका लिएर आउथे अनि हामीलाई खुसुक्क दिन्थे। उनले हाम्रो सूचना पाउने हक सुनिश्चित गरिदिन्थे।' सुन्दा सामान्य लाग्न सक्छ, तर त्यसबेला माओवादीका गतिविधि थाहा पाउन पत्रिका एकदम आवश्यक हुन्थ्यो। जसले बन्दीहरूलाई थप ऊर्जा मिल्थ्यो। त्यस्तै, गोरखाका सिपाही रमेश कुँवरले आफ्नो ड्युटीमा हुँदा आफ्ना साथीलाई बाहिरको ताजा गतिविधि चर्को स्वरमा भन् भन्थे अनि बन्दीहरूलाई सूचना प्रवाह गर्थे। क्षेत्री ती दिन सम्झँदा कतिखेर भावुक हुन्थे, कतिखेर रोमान्चित बन्थे।

१० महिनाको फूलबारी ब्यारेकको कोठरीबाट उनीलगायतका केही साथीहरूलाई धादिङको गजुरी ब्यारेक लगियो। करिब एकवर्षदेखि बेपत्ता बनाइएका क्षेत्रीलगायत अन्य साथीहरूलाई गैरन्यायिक हिरासतमा चरम यातना दिएर राखिएको थियो। हुन त मुक्तिका लागि संघर्षको महासागरमा हिँडेका यात्रीहरूलाई जतिसुकै जटिल कामलाई सहजै पार लगाउन सामर्थ्य राख्न सक्छ तर त्यसका लागि समय र परिस्थिति अनुकूल भइदिनुपर्छ।

त्यस्तै, अनुकूल वातावरण गजुरी ब्यारेकमा थियो। त्यहाँका हरेक सिपाहीहरू भलादमी मायालु र रमाइला खालका थिए। क्षेत्रीले गजुरी ब्यारेकका त्यसबेलाका पाले खोपनाथ छतकुल्ली‍लाई अहिले पनि सम्झिरहन्छन्। उनी भन्छन्, 'छतकुल्ली‍ बाले हामीलाई आफ्नै छोरा जसरी व्यवहार गर्नुहुन्थ्यो। म कता-कता आफ्नो बाबुको प्रतिविम्ब उहाँमा पाउँथेँ।

त्यस्तै, अर्का सिपाही थिए हरि निरौला जो उनलाई आफ्नो घरको भाइजस्तो लाग्थ्यो।' दाजुभाइको सम्बन्ध रगतकै हुनुपर्छ भन्ने के छ र? भावनात्मक सम्बन्ध रगतको सम्बन्धभन्दा बेशी सुन्दर कसिलो बन्न सक्छ। क्षेत्री भन्छन्, 'हाम्रो प्रत्येक शारीरिक अवस्था यातनाको सग्रहालयजस्तो भान हुन्थ्यो। शरीरमा यातनाका खाटा बोकेर गजुरी आएका हामी बन्दीहरू जसरी हुन्छ यहाँबाट भाग्ने सम्भावना खोज्दै थियौँ।

बन्दी शिविरभित्र उनीहरूको योजना बन्यो।' ब्यारेकभित्र हरेक ४-४ घण्टामा ड्युटी बदलिइरहन्छ। ड्युटि फेरिने बेलामा एउटा सिपाही गएर अर्को सिपाहीलाई बोलाएर जान्छ त्यसबेला एकजना मात्र ड्युटिमा हुन्थ्यो। यही सम्भावनालाई व्यवहारमा उतार्न उनीहरूले योजना बुन्दै गए।

उनी भन्छन्, 'यसका लागि रविन्द्र विप्लव र विगुलले सेनालाई आफ्नो कब्जामा लिने भन्ने हतियार र ग्रिनेडहरू सिज गर्ने टोलीमा शैलेस र सेवक अनि कोठाको चाबी, हत्कडी र नेलको चाबी कब्जामा लिएर अर्को कोठाको ताला खोलेर ठाकुर सिहंलाई निकाल्ने मेरो जिम्माको काम बाँडफाँड गरियो।' उनीहरूको योजनाअनुरूप तिहारको दिन जेल तोड्ने भन्ने अन्तिम निचोडमा पुग्यो।

खाऊँ भने दिनभरिको सिकार नखाऊँ भने कान्छा बाउको अनुहार

तिहारका दिन ब्यारेकमा रक्सीका तालमा ड्युटी गर्ने हुनाले केही सजिलो हुने सम्भावना थियो। दिनभर भाग्ने समय कुर्दै बसेका उनीहरू त्यसदिन ड्युटीमा मध्यम कद, सहयोगीका प्रतिमूर्ति हरि निरौला देखा परे। निरौला क्षेत्रीका नजरान मानवीय भावना भएका आत्मीय मित्र थिए। क्षेत्री भन्छन्, 'उनलाई देखेपछि हामी अक्क न वक्क भयौँ। के गर्ने के नगर्ने। खाऊँ भने दिनभरिको सिकार नखाऊँ भने कान्छा बाउको अनुहारजस्तो।'

जसले सधैँ उनीहरूलाई मानवीयता देखायो उसैको घाटी थिच्नु पाप हो। क्षेत्री भन्छन्, 'तर, विकल्प अरू थिएन उसलाई माया गरे आफ्नो जिन्दगी धरापमा पर्ने डर अनन्त ऊ एक असल मानिस हो। यसका बाबजुद पनि उ वैरी फौजको सिपाही हो।' उसलाई टाउकोमा थुकेर हैन सहृदयी रूपमा सम्मानजनक रूपमा छुरी रोप्ने यही निचोडमा पुगे उनीहरू।

बेलुकाको खाना खाएर चुट्ने बाहानामा विगुल ठाकुर र शैलेशले निरौलाको घाटी थिचे डोरोले। त्यसपश्चात पूर्वयोजनाअनुरूप सबैले आफ्ना आफ्ना काम गरे। 'भाग्यवश हामीले निरौलालाई मारेनौँ उहाँले हामीलाई पृथ्वी राजमार्गसम्म पुर्‍याउने कसम खानुभयो। ३८१ दिनको  कष्टपूर्ण  जेलजीवनलाई विश्राम लगाएर हामी  निरौलालाई अघि लगाएर पृथ्वी राजमार्ग पुग्यौँ। त्यसपछि, उनी कता बेपत्ता भए कुन्नि', क्षेत्री भन्छन्, 'निरौलालाई प्रयोग गर्नु हाम्रो मनसाय थिएन, तर बाध्यता हुन गयो। पछि माओवादीलाई भगाएको आरोपमा निरौलाले एक वर्ष जेलजीवन  भोगेछन्।'  यतिभन्दा क्षेत्रीका आँखामा निरौलाप्रति सम्मानमा आँसु देखापरे। सेनाको लगातारको प्रहार कमजोर भएका क्षेत्रीलाई छोडेर अरू साथीहरू अगाडि बढे। त्यसबेला हतिहार लिएर भाग्नु सेनाको गैरजिम्मेवार प्रवृत्तिमाथि ठूलो प्रश्न खडा भएको बताउाछन् उनी

'ब्यारेकबाट भागेपछि सेनाले गस्ती सुरु गर्छ भन्ने सबैलाई थाहा भएको कुरा थियो। मलाई कुर्न थाले भने अरू साथीहरूको मृत्यु पक्का थियो। यसकारण उनीहरूलाई पठाएर म मेरो अपांग शरीरलाई घिसार्दै-घिसार्दै  विस्तार-विस्तार धादिङको पीडा गाविसको चुङ्ली गाउँको दलित बस्तीमा आश्रय लिन पुगेँ।'

वर्षौंदेखि उत्पीडित दलित समुदायको त्यो घरमा पुग्दा अब बाँचिन्छ भन्ने लागेको सम्झन्छन् उनी। भन्छन्, 'समाजमा वर्गीय, जातीय एवं सामाजिक उत्पीडनमा पिल्सिँदै आएको वर्गले हामीप्रति सदा सहयोगको भावना राख्दथे। उनीहरूलाई थाहा छ कि समाजमा आफ्नो पद र अपमानित संस्कार फेर्न माओवादीहरू  संघर्षमा जुटेका छन्।' उनले थपिहाले, ' हुन त यो मेरो व्यक्तिगत अनुभव हो।'

मध्यम परिवारमा हुर्केका उनी खान लाउन खासै दु:ख भएन। सबै कुराले भरिपूर्ण भएर पनि यति धेरै दु:खको दलदलमा फस्न के कुराले प्रेरित गर्‍यो होला? उनी एकछिन मौन बसे अनि केही सोचेजस्तो गरेर फ्याट्ट बोलिहाले, 'यो देश मेरो हो, यो देशका हरेक श्रमजीवी जनता मेरा नातेदार हुन्। पत्रकारको कलमको निम खोसिएको थियो। राजाले दिनप्रतिदिन जनताको अधिकारमाथि बन्देज लगाउँदै थिए। गरिब, महिला दलित जनजाति मधेसी, भूमिहीन सर्वहारा जनताहरूको सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार गुम्दै गएको थियो। उनीहरूको अधिकार  सुनिश्चितताको लागि लड्न मलाई मेरो अन्तरात्माले भन्यो।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.