|

कञ्चनपुरको सदरमुकाम रहेको नगरपालिका हो, भीमदत्त । यो नगरपालिकाको नाम क्रान्तिकारी नेता भीमदत्त पन्तको नामबाट रहेको हो। पश्चिमको किसान आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएका पन्तको हत्या गोली हानी २०१० साउनमा तत्कालीन सरकारले गरेको थियो।

उनलाई २०७२ सालमा सरकारले शहीद घोषणा गरेको हो। यिनै ऐतिहासिक व्यक्तिको नामबाट नामकरण भएको नगरपालिकाको पर्यटकीय सम्भावना पनि प्रशस्त छ। 

यो नगरपालिकाभित्र प्रसिद्ध सिद्धनाथ मन्दिर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली नदीको मल्टिस्पान झोलुङ्गे पुल, समयअनुसार रंग बदल्ने झिलमिला ताल, साकेतधामलगायतका धार्मिक एवं पर्यटकीय क्षेत्रहरू रहेका छन्। यो नगरपालिकाको विकासका सम्भावना, चुनौती र अवसरका विषयमा भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टसँग थाहाखबरका कञ्चनपुर संवाददाता राजेन्द्र पनेरुले गरेको कुराकानी–


निर्वाचनका समयमा मतदातासँग गरेका प्रतिवद्धता के कति पूरा भए?

निर्वाचित भएपछि हामीले गरेका प्रतिवद्धताहरू पूरा गर्ने जिम्मेवारी थपिएको छ। त्यसका लागि हामी दीर्घकालीन योजना बनाएर पूरा गर्ने प्रयत्नमा जुटेका छौँ।हामीले वार्षिक योजना बनाएर नगरवासीलाई अनुभूति हुने गरी कार्य गर्ने प्रतिबद्धता गरिएको थियौँ। त्यो पूरा गर्नका हामी अघि बढेका छौँ। 

खानेपानी, सडक सञ्जाल, पुल, कल्भर्ट, विश्वविद्याल र विद्यालयहरू, तठबन्धन तथा नदी नियन्त्रण, सिँचाइ, खेलकुद क्षेत्रको विकास, स्वास्थ्य सेवाका कुराहरूलाई चुनावी नारामा समेटेका छौँ

ती पूरा गर्नका लागि हामी प्रतिवद्ध भएर लागेका छौँ। पहिलो नगरसभा देखिनै आर्थिक समृद्धि र विकासकालागि ‘आफ्नो नगर आफैँ बनाऔँ’ भन्ने भावनालाई मूर्तरूप दिई जनसहभागिता वृद्धि, स्थानीय स्रोत साधनको प्रयोग तथा पारदर्शिता र जनलेखा परीक्षण प्रणालीलाई प्रभावकारी बनाईने कार्यमा जुटेका छौँ।

दक्ष जनशक्ति उत्पादन, रोजगारी र उद्यमशीलताको विकास, शहरी पूर्वाधार निर्माण र समाजमा कायम विभेद, शोषण र उत्पीडनको अन्त्य गर्न समृद्ध नगर निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढेका छौँ।

नगरको तथ्यांक तथा अभिलेखिकरण, सुशासन तथा जनमुखी प्रशासन, नगर जनशक्ति व्यवस्थापन, सबैको पहुँचमा आधारभूत, उच्च शिक्षा, आधारभूत स्वास्थ्य र पोषण, कृषि सिँचाइलगायतका विकासलाई हामीले नगरसभाबाट प्राथमिकताका साथ पास गराएका छौँ। कानुनी अड्चनका कारण केही प्रतिबद्धता पूरा गर्न सकिएको छैन। 

निर्वाचित भएको एक वर्ष हुन लाग्यो, यसबीचमा काममा के कस्ता समस्या आएका छन्?

चुनावी प्रतिवद्धता पूरा गर्नका लागि स्थानीय तह सञ्चालनका लागि कानुन नबन्दा धेरै समस्या आएको छ। हामीलाई अहिले कार्यालय समायोजन, कर्मचारीको दरबन्दी मिलान, खटाइएका कर्मचारी कार्य क्षेत्रमा जान नमान्नु नै मुख्य चुनौती बनेको छ। 

नगरपालिकालाई समृद्ध बनाउनका लागि जसको जे क्षमता त्यसले त्यही ठाउँमा काम गर्नुपर्छ। यसका लागि योगदान दिने जनशक्तिको आवश्यकता छ। नगर हाम्रो हो हामीले विकासका लागि काम गर्नपर्छ भन्ने भावनाकका साथ काम गर्न जरुरी छ।

आवश्यकताअनुसार सूचना प्रविधिको क्षमता विकास नहुनु, दक्ष जनशक्ति पूर्णरूपले परिचालन नहुनु, जनप्रतिनिधिलाई स्रोतसाधनको कमी हुनु, आवश्यकताअनुसारका कर्मचारी नहुनु जस्ता चुनौती देखा परेका छन्। 

यो नगरमा धेरै पर्यटकीय सम्भावना छन्, यसको विकासका लागि के कस्ता प्रयास भइरहेका छन्?

भीमदत्तनगर पर्यटकीय क्षेत्रको लागि उत्कृष्ट गन्तव्य नै हो। नगरभित्र झिलमिला ताल, सिद्धबाबा मन्दिर, भम्केनी धाम, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली नदी माथिको लामो झोलुङ्गे पुल, साकेत धामलगायतका गन्तव्य छन्।

पर्यटकीय क्षेत्रको विकासका लागि जैविक मार्ग निर्माण गर्ने कुरा चुनावी एजेण्डामा उठाएका थियौँ। धार्मिक तथा पर्यटकीय क्षेत्रलाई जैविक मार्गका माध्यमबाट जोड्नका लागि सडक निर्माणको कार्य अगाडि बढी सकेको छ। 

मार्गको ८० किलोमिटर क्षेत्रमा ट्रयाक खोल्ने कार्य पूरा भएको छ। ग्राभेल गर्ने र कालोपत्रे गर्ने कार्यसमेत भइरकेको छ। हालसम्म सडकमा चार हजार पाँच सय घन मिटर ग्राभेल हाल्ने र छ किलोमिटर जैविक मार्गमा पर्ने सडक कालोपत्रे कार्य पूरा भएको छ।

धार्मिक पर्यटकीय क्षेत्रका रूपमा रहेका मन्दिर तथा ताल तलैया व्यवस्थापन, तथा उचित प्रचारप्रसार गर्ने कार्यलाई अगाडि बढाइएको छ। जनजातीको भेषभूषा, रहनसन, चालचलन र परिकारलाई समेटेर पर्यटक बढाउनका लागि 'होम स्टे'लाई निर्माणका योजनालाई अघि बढाउने छौँ। सञ्चालनमा रहेका होमस्टेको स्तरोन्नतिका लागि कार्य अगाडि बढेका छन्।

समृद्ध नगरका लागि प्राथमिकताका योजना के के छन्?

नगरपालिकालाई समृद्ध बनाउनका लागि पहिलो प्राथमिकता भनेको सडक सञ्जाल र यातायातको विस्तार नै हो। जसका लागि चक्रपथ निर्माणको कार्य अगाडि बढाएका छौँ।

साना तथा घरेलु उद्योगको स्तरोन्नति गरी प्रवर्धन गर्ने, नगर क्षेत्रमा सौर्य उर्जाको व्यवस्था गर्ने, खुला मञ्चको नयाँ ढंगले व्यवस्थापन गर्ने, कञ्चनपुर बहुउद्देशीय व्यापारिक भवन निर्माण गर्ने, १५० किलोमिटर सडक कालोपत्रे गर्ने, फोहरमैला केन्द्र व्यवस्थापन गर्ने, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाएर उल्लेखीय रूपमा पर्यटक भित्र्याउने योजना प्राथमिकतमा राखिएका छन्। 

यसलाई पूरा गर्नका लागि आन्तरिक स्रोतमा बृद्धि गर्ने, बाह्य लगानी प्रोत्साहन गर्न नीति निर्माण गर्ने र श्रमपुजीँलाई उत्पादनको क्षेत्रमा परिचालन गर्ने नीति अबलम्बन गर्ने योजना बनाउदै छौं।

स्थानीय तह सञ्चालनका लागि नीतिगत तथा व्यवहारिक समस्या के कस्ता रहेछन्?

स्थानीय तह सञ्चलनका लागि मुख्य समस्या नीतिको नै हो। जुन निर्माणको प्रकृयामा रहेको छ। कानुन निर्माण भएपछि नगरको विकासका कार्य अगाडि बढाउन सहज हुन्छ। नीतिको अभावमा आकांक्षा हुँदाहुँदै पनि धेरै योजनालाई तीव्र गतिमा अघि बढान सकेका छैनौँ। 

विषयगत कार्यालयका बजेट परिचालन गर्नका लागि ऐन नियमका कारण अड्चन आउने गरेका छन्। राजनीतिक दल, नागरिक समाजको सहकार्यविना नगरको विकासका काम गर्न गर्न समस्या छ।

विगतको सोचमा परिर्वन ल्याउन समेत चुनौती छ। नयाँ सोचका साथ नगरको विकासमा लाग्नुपर्ने बेला आएको छ। यसका लागि सबैको सहयोग चाहिन्छ। यस्तै, आवश्यक कर्मचारीको अभाव हुनु र भएका कर्मचारीलाई चुस्त रूपमा परिचालन गर्नसमेत चुनौती छ। कर्मचारी अभावले धेरै योजना पूरा हुन पाएका छैनन्। 

चुरे क्षेत्रमा भूक्षय रोक्न के कस्ता प्रयास हुँदैछ?

वन विनाश र अनियन्त्रित चौपाय चरनले गर्दा चुरे क्षेत्र खतरामा परेको छ। चुरे क्षेत्रमा भइरहेको भूक्षय नै मुख्य चुनौतीका रूपमा रहेको छ। भूक्षयका कारण खहरे खोलाहरूले बगाएर ल्याउने माटो, बालुवा, ढुङ्गा, गिट्टीका कारण चुरेफेदीका वस्ती जोखिममा पर्दै गएको छ।

खहरे खोलाका कारण खेतीयोग्य जग्गा बगरमा परिणत हुँदै आएको छ। नगरपालिका, वन कार्यालय र सामुदायिक वनको प्रयासमा भूक्षय रोक्नका लागि जैविक तटबन्ध निर्माण गर्ने, वृक्षारोपण गर्ने, जैविक विविधताको संरक्षण गर्ने कार्य अघि बढाएका छौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.