काठमाडौं : ऐतिहासिक धरहराको पुनर्निर्माण दुई महिनाभित्रै सुरु गरिने भएको छ। नेपाल पुनर्निर्माण प्राधिकरणले आगामी १५ असारसम्म धरहराको शिलान्यास गर्ने गरी निर्माण प्रक्रिया अघि बढाएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. युवराज भुसालले बताए।
प्राधिकरणले धरहराको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ । सरकार आफैँले धरहरा निर्माण गर्ने गरी लगानीको मोडालिटीसमेत तयार भइसकेको उनले बताए। ‘अहिले टेन्डर डकुमेन्ट तयार गर्दै छौँ,’ उनले भने, ‘अबको डेढ साताभित्रै टेन्डर आह्वान गर्ने, जेठ अन्त्यसम्ममा टेन्डर अवार्ड गर्ने र असारभित्रै शिलान्यास गर्ने कार्ययोजना छ ।’
डिपिआरअनुसार धरहराको कुल लागत करिब ४ अर्ब २७ करोड रुपैयाँ हुनेछ। प्राधिकरणका अनुसार धरहरा र परिसरको कुल क्षेत्रफल २४ रोपनी हुनेछ। भूकम्पले भत्काएको धरहरालाई सिसाले छोपेर राखिनेछ भने भत्किएको धरहरासँगै नयाँ धराहरा निर्माण हुनेछ। नयाँ निर्माण हुने धरहरा ६९.२ मिटर अग्लो हुनेछ। त्यसमाथि १२ मिटरको गुम्बज निर्माण गरिने प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए। धरहरा निर्माणका लागि सुन्धारास्थित हुलाक कार्यालय भत्काइनेछ। उक्त स्थानमा दुई तलाको बेसमेन्ट पार्किङ निर्माण हुनेछ। धरहराको पुनर्निर्माण आगामी दुई वर्षभित्र सम्पन्न भइसक्नेछ। २२ तलाको धरहरामा २२ तलासम्म नै लिफ्ट जान्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।