|

धनकुटा : धनकुटाको दक्षिण पूर्वी सीमासँग जोडिएको मोरङको केराबारी गाउँपालिका–२ सिंंहदेवस्थित जेफाले पछिलो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ। इलाम बिर्साउने चिया बगान र धनकुटाको भेंडेटार बिर्साउने भ्यु टावर र मौसम भएकाले जेफालेले आन्तरिक पर्यटकको आकर्षित गरेको हो। 

समुन्द्री सतहबाट एक हजार ९७० मिटर उचाइमा रहेको जेफाले डाँडा मोरङ र धनकुटाको सीमामा छ। ७२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको भ्यु टावर ४५ फिट अग्लो र चार तले छ। 

जेफाले डाँडालाई पर्यटकीय क्षेत्र रूपमा विकास गर्न स्थानीयवासीले जेफाले पर्यटन विकास समिति गठन गरी विभिन्न कार्यक्रम सुरु गरेसँगै आन्तरिक पर्यटकहरुको उपस्थिति बाक्लिएको हो। शान्त र स्वच्छ हावापानी, मनोरम दृश्यावलोकन गर्न सकिने जेफाले डाँडामा धार्मिक तथा सांस्कृतिक क्षेत्रको रुपमा पाथीभरा मन्दिर, ऐतिहासिक किम्बदन्तीका रुपमा रहेको तीनचाने ढुंगाको अवलोकन गर्न पाइन्छ। स्थानीय कृषि उद्यमी तथा चिया व्यवसायी नारायण राईको इलाम बिर्साउने चिया बगानमा रमाउन पनि सकिन्छ। 

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ मंसिरे पूर्णिमा र नयाँ वर्षका दिन यहाँ मेला लाग्ने गर्दछ। मेलामा साहित्यिक कार्यक्रम, खेल प्रतियोगितासहित विभिन्न कार्यक्रम हुँदै आएको छ। 

पर्यटकको सुविधाका लागि पछिल्लो समय होमस्टेको पनि व्यवस्था गरिएको भिम ठकुरीले बताए। पाँच वटा घरमा सञ्चालन गरिएको होमस्टेमा एक पटकमा करिब ४० जना अटाउँछ। 

धनकुटा र मोरङको सीमानासँग जोडिएको अग्लो पहाडको थुम्की डाडाँलाई जेफाले भनिन्छ। हावेचौर अर्थात मोरङ केराबारीको बिहीबारे बजारदेखि करिब ४५ मिनेटको उकालो बाटोमा रहेको जेफाले पुग्न ९५६ वटा सिंढी उक्लिनु पर्दछ। 

पूर्वपश्चिम राजमार्गमा पर्ने सुन्दरहरैंचा नगरपालिकाको खोर्सानेदेखि केराबारी गाउँपालिका हुँदै करिब ३३ किलोमिटर यात्रापछि जेफाले डाँडामा पुगिन्छ। यस्तै, कोशी राजमार्गको भेंडेटारदेखि डाँडबजार, राजारानी, समेवा हुँदै सहज रुपमा पुग्न सकिन्छ।

जेफाले डाँडाबाट पूर्वका १६ जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ। यस्तै, सूर्योदय, हिमश्रृङ्खलाका मनोरम दृश्यावलोकन पनि गर्न सकिन्छ। यसका अलवा बाह्रैमास हरियो देखिने कटुसको विरुवाले पनि यहाँ आउने पर्यटकलाई लोभ्याउँछ। यहाँ तीन तलाको धरहरासमेत निर्माण गरिएको छ।

यी पनि हुन् आकर्षण

पाथीभरा मन्दिर : तेह्रथुमको पाथीभरा मन्दिरबाट ल्याइएको देवीको ढुंगा र बुढासुब्बा, छिन्ताङदेवी, दक्षिणकाली र पूर्वको माईबाट ल्याइएको देवी देवतालाई यहाँ प्रतिस्थापन गरिएको छ। 

सबै देवीदेवताको केन्द्रस्थलको रूपमा पूजाआजा गर्न सकिने भएकाले पाथीभरा मन्दिरमा भक्तजनहरुको आगमन हुँदै आएको छ। छ हजार फिटको उचाइमा रहेको पाथीभरा मन्दिर धनकुटा र मोरङको सीमाक्षेत्र रहेको काफ्ले डाँडामा रहेको छ। पाथीभरा मन्दिरमा विवाह व्रतबन्ध तथा देश परदेश घुम्न जाने व्यक्तिलगायत विभिन्न धर्मावलम्बीहरुको आगमन हुने सो ठाउँमा पुगेर दर्शन गरे चिताएको पूरा हुने विश्वास छ।

चियावारी : स्थानीय कृषि उद्यमी तथा व्यवसायी नारायण राईको इलाम बिर्साउने चिया बगान पर्यटकलाई तान्ने अर्को आकर्षक गन्तव्य हो। बिहीबारे बजारवाट एक किलोमिटर दक्षिणमा रहेको चियाबारी करिब ३०० रोपनी क्षेत्रफलमा रहेको छ।

चियाबारीको मनोरम दृश्यावलोकन तथा अध्ययन अनुसन्धानका लागि महत्वपूर्ण मानिन्छ। यहाँ अर्गानिक चिया उद्योगको अवलोकन पनि गर्न सकिन्छ। राई १० वर्ष विदेशमा आर्जन गरेको रकम लगानी गरी उनले चिया उत्पादन सुरु गरेयता करोडौं लगानी गरिसकेका छन्।

तीनचाने ढुंगा : सोमबारेबाट दक्षिण–पश्चिम दाह्रे अकर उत्तरपूर्व साविक सिंहदेवी–१ मा रहेको तीनचाने ढुंगा पनि आर्कषणको केन्द्र हो। एउटै आकारमा तीन चिरा चाक्ला भएर बसेको ढुंगा हेर्न विभिन्न ठाउँबाट मानिसहरु आउने गर्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.