|

मेलम्ची : सिन्धुपाल्चोकको इन्द्रावती नदीबाट अनधिकृत रुपमा गिट्टी बालुवा उत्खनन भइरहेको छ। जिल्ला समन्वय समिति (जिसस)ले टेण्डर खोलेर नदीजन्य पदार्थको निकासीलाई अनुमति दिएको इन्द्रावती र सुनकोशी नदीबाट जिससको र सम्बन्धित नगरपालिकाको मिलेमतोमा ठेकेदारले अवैध रूपमा गिट्टी बालुवा उत्खनन गर्ने गरेका छन्। 

मेलम्ची नगरपालिकाले इन्द्रावती नदी किनारबाट नदीजन्य पदार्थ उत्खनन गर्न निश्चित मापदण्ड बनाएको भएपनि मापदण्ड विपरीत उत्खनन् गरिरहँदा नगरपालिकाले चासो दिएको छैन। नेपाल सरकारले क्रसर सञ्चालनका लागि राजमार्गबाट ५०० मिटर टाढा, खोलाकिनारबाट ५०० मिटर टाढा, वन तथा आरक्षणबाट दुई किलोमिटर टाढा हुुनुपर्ने मापदण्ड तोकेको छ। अहिले इन्द्रावती नदी किनारमा सञ्चालन भएका क्रसर तोकिएको मापदण्ड विपरीत निर्वाधरुपमा चलिरहँदा पनि स्थानीय सरकार तथा जनप्रतिनिधि मौन बसेका छन्। 

नाम नबताउने शर्तमा एक स्थानीय भन्छन्, ‘जिसस र नगरपालिकाले तोकेको स्थानभन्दा बाहिरबाट मनोमानी तरिकाले गिट्टी बालुवा उत्खनन गरिरहेको भए पनि मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र सम्बन्धित निकायले भने कुनै कारबाहीको दायरामा ल्याउने गरेका छैनन्।’ 

नदीको धार नै परिवर्तन गरेर अवैध उत्खनन गर्दा र अनाधिकृतरुपमा नदीभित्र स्काभेटर प्रयोग गरेको सूचना दिँदा समेत स्थानीय प्रशासन र नगरपालिकाले कुनै प्रतिक्रिया नदिने स्थानीय बताउँछन्। पाल्चोकी क्रसरदेखि लामा क्रसरसम्मले नदीको धार नै परिर्वतन गरी उत्खनन गर्ने गरेका छन्। स्वतन्त्ररुपमा बगेको नदीको धार परिर्वतन गरी नदीजन्य पदार्थ झिक्दा पनि नगरपालिकाले कानमा तेल हालेर बसेकाले रकमको चलखेल भएको स्थानीयले आरोप लगाएका छन्। 

स्काभेटरले खन्दा इन्द्रावती नदी किनारभरि ट्र्याक्टर नै पुरिने खाल्डा बनेका छन्। बाहुनीपाटीका एक स्थानीयवासीका अनुसार रातदिन नदीमा स्काभेटर प्रयोग गर्छन्। रातमा स्काभेटर चलेर निन्द्रासमेत लाग्दैन तर स्थानीय प्रशासन मौन बस्छन्, रोक्नका लागि कुरा गर्दासमेत वास्ता गर्दैनन्। स्थानीय  करुणासागर सिग्देल भन्छन्, ‘नदी किनारबाट क्रसर हुँदै हिँड्ने नगरपालिकाका प्रमुखले धार परिवर्तन गरेको देख्दादेख्दै त कुनै चासो दिँदैनन् भने हामीले कराएर केही लाग्दैन। नदीको बहावलाई रोकेर नदीको बाटो नै परिवर्तन गरी क्रसर व्यवसायीले मोटो रकम बुझाएका कारणनै यसको रोकथाम नभएको हो।’

नियमविपरीत नदीमा सिधै स्काभेटर प्रयोग गरी क्रसरले असंख्य खाल्डो बनाएको छ। सोही खाल्डोमा परी मेलम्चीको गिरानचौर मामाघर आएका भोजपुरका ११ वर्षीय कर्साङ तामाङको वैशाख ६ मा डुबेर मृत्युभएको थियो। नगरपालिका र जिल्ला समन्वय समितिले तोकेको नियमअनुसार पुलको ५०० मिटर वरपरबाट गिट्टी, बालुवा निकाल्न पाइँदैन। तर, पनि उत्खनन् भइरहेको छ। पुलको १०० मिटरभन्दा नजिकैबाट दिनहुँ ट्र्याक्टर स्काभेटरले गिट्टी, बालुवा र ढुंगा लैजाने गरेको स्थानीय दीपेश खनालले बताए। 

पुल नजिकैबाट गिट्टी, बालुवा र ढुंगा हुँदा पुलनै जोखिममा परेको खनालको भनाइ छ। जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र स्थानीय नगरपालिकाले अनुगमन गरेको र मापदण्डभित्र नरहेको पाउँदासमेत कारबाहीको दायरामा ल्याउन सकेको छैन। कारबाही गर्छौं भन्दै देखावटी अनुगमन गर्ने र पछि रकमको चलखेलमा चुप बस्ने गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन्।

अवैधरुपमा स्काभेटर प्रयोग गरेर उत्खनन् भइरहेको जानकारी आफूले पाएको भन्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी पाउनासाथ आफूले कारबाहीका लागि स्थानीय नगरपालिका र प्रशासनलाई पत्राचार गरेको बताए। नदी किनारमा रहेका आधा दर्जन क्रसरले बनाएको खाल्डोले नदीको स्वरुप नै कुरुप बनाएको छ भने खाल्डोमा परी चारभन्दा बढी बालबालिकाले ज्यान गुमाइसकेका छन्। 

नदी गहिरिएर सिँचाइका लागि बनाएको कुलोमा समेत पानी नचढ्ने भएको कृषक भीम माझीले गुनासो गरे।  क्रसरले नदीमा बनाएको खाल्डोले नदी गहिरिएर पानी नचढेपछि धान रोपाइँ गर्न समस्या भएको माझीले बताए। जिसस प्रमुख तामाङले नियमविपरीत क्रसर सञ्चालन गरेमा तथा नदीजन्य पदार्थ उत्खनन् गरी वातावरणमा प्रदूषण बढाउने कार्य गरेमा तुरुन्तै कानूनी दायरामा ल्याएर कारबाही गर्ने भन्दै टार्ने गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.