स्पष्ट कानुन नहुँदा कुन कानुन लगाएर मुद्दा चलाउने भन्नेमा समस्या

|

काठमाडौं : आफैँलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासलाई कारबाही गर्नका लागि कानुनकै अभाव हुने देखिएको छ। मोरङ प्रहरीले श्रीनिवासलाई सोमबार काठमाडौंबाट पक्राउ गरेको थियो।

आचार्यमाथि २५ चैतमा मोरङको जानकी मन्दिरमा गोली प्रहार भएको थियो। उनलाई गोली हानेको आरोपमा माधव चौधरी र लक्ष्मी अधिकारीलाई प्रहरीले यसभन्दा अघि नै पक्राउ गरेको थियो। प्रक्राउ परेकाहरूसँग अनुसन्धान गर्दै जाँदा श्रीनिवास आफैँले गोली हान्न लगाएको प्रहरी अनुसन्धानमा फेला परेको हो।
आफैँलाई गोली हान्न लगाएको आरोपमा प्रहरीलाई श्रीनिवासलाई काठमाडौंबाट समाएको छ। उनीमाथि अहिले अनुसन्धान भइरहेको छ। आफैँलाई गोली हान्न लगाएर दंगा भड्काउने कोसिस गर्ने श्रीनिवासमाथि कुन कानुन लगाएर मुद्दा चलाउने भन्नेमा समस्या देखिएको छ। 

आफैँलाई गोली हान्न लगाउनेमाथि कस्तो कानुन लगाउने भन्ने अवस्था नेपाली कानुनमा स्पष्ट छैन। मोरङका डिएसपी निशान्त थापाले अहिलेसम्म कुन कानुन लगाएर कारबाही गर्ने भन्ने विषयमा टुंगोमा नपुगिएको बताए।

‘अलिकति कानुनी जटिलता हुन्छ जस्तो देखिन्छ,’ उनले भने, ‘अहिले अनुसन्धानकै क्रममा छौँ, सरकारी वकिलसँग छलफल गरेपछि केही निकास निस्किएला।’ उनलाई गोली हानिएको घटनाको मुद्दा कर्तव्‍ य ज्यानमा गइसकेकोले श्रीनिवासलाई पनि सोही मुद्दामा जोडेर लैजाने कि भन्ने बारेमा प्रहरीले गृहकार्य गरिरहेको छ।
स्पष्ट कानुनी व्यवस्था नहुँदा प्रहरीलाई समस्या भएको हो। कानुनले यस्तो घटनाका विषयमा कल्पना नगरेको भए पनि कुनै न कुनै कानुन लगाएर श्रीनिवासमाथि कारबाही हुन सक्ने अधिवक्ता दिनेश त्रिपाठीले बताए।

‘कहिलेकाहीँ तथ्य कल्पनाभन्दा पनि टाढा हुन्छ भनिन्छ, यो घटना त्यस्तै हो,’ त्रिपाठीले भने, ‘कसैले आफैलाई गोली हान्न लगाउला भनेर कानुनले कहिल्यै कल्पना गरेको थिएन, तर कुनै कानुन समाएर कारबाही गर्न सकिन्छ।’

उनले श्रीनिवासमाथिको कारबाही कर्तब्य ज्यानमा जान नसक्ने बताए। बरु संगठित अपराध, षड्यन्त्र, दंगा भड्काउने, सामाजिक सद्भाव खल्बलाउने लगायतका कानुन समाएर कारबाही गर्दा सजिलो हुन सक्ने उनले बताए।

‘प्रहरीले अनुसन्धान गरिरहेको छ, अझै केही विषय पक्कै खुल्नेछन्,’ उनले भने, ‘खासमा अहिले नै यो कानुन लाग्छ भन्न सकिँदैन।’ त्रिपाठीले यस्तो घटना नेपालमा पहिलो पटक घटेको समेत बताए। कानुनी जटिलता भएपनि कुनै न कुनै कानुन समाउन सकिने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.