|

बुटवल : प्रदेश ५ का प्रदेशसभा सदस्यले आफ्नो पारिश्रमिक तथा सुविधा थोरै भएको भन्दै वृद्धि गर्न माग गरेका छन्। प्रदेशसभाको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम १०७ बमोजिम प्रदेश ५ का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने क्रममा अधिकांश सदस्यहरूले पारिश्रमिक र सेवा सुविधा विभेदपूर्ण भएको टिप्पणी गरे। 

अधिकांश सदस्यहरूले मर्यादाक्रममा प्रतिनिधिसभा सदस्यपछि प्रदेशसभा सदस्य रहनुपर्ने माग गर्दै कर्मचारीले सरकार चलाउने नभई जनप्रतिनिधिले चलाउने पनि बताए। प्रदेशसभा बैठकमा बोल्दै सदस्य रामजी घिमिरेले प्रदेशसभा सदस्यलाई मर्यादाक्रममा तल्लो स्तरमा राखिएको भन्दै प्रतिनिधिसभा सदस्यपछि प्रदेशसभा सदस्य रहनुपर्ने माग गरे। उनले केन्द्र सरकार समक्ष मर्यादाक्रम सच्याउनका लागि आग्रह गर्न प्रदेश सरकारसँग माग पनि गरे। 

नेकपा माओवादी केन्द्र संसदीय दलका सचिव तुलाराम घर्तीले प्रदेशसभा सदस्यको पारिश्रमिक र सुविधा विभेदपूर्ण रहेको भन्दै सच्याउनुपर्ने बताए। उनले आफूहरू जनताको काम गर्न आएको र जनताको कामका लागि नै सहज बनाउन आफूहरूलाई स्वकीय सचिवसमेत आवश्यकता पर्ने उल्लेख गरे। प्रदेशसभा सदस्य रमा अर्यालले प्रदेशसभा सदस्यलाई तल्लो दर्जाको ठानिएकाले मर्यादाक्रम सच्याउनका लागि माग गरिन्। उनले प्रदेशसभा र प्रदेश सरकारका काममा कर्मचारी हावी भएको भन्दै जनप्रतिनिधिले भनेअनुसार काम हुनुपर्ने बताइन्। 

प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशसभा सदस्य र प्रदेश सरकारको मर्यादाक्रमबारे प्रधानमन्त्रीसँग छलफल भइसकेको र सच्याउने आश्वासन पाएको जानकारी गराए। उनले अहिले सेवा सुविधाभन्दा पनि प्रदेशलाई मजबुत बनाउने समय रहेको भन्दै जनताप्रति उत्तरदायी हुनुपर्ने बताए। यस्तै, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्दै प्रदेशसभा सदस्यले मन्त्रीले लिने सुविधाको आलोचना गरे। यी दुवै विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइएको छ।

विधायन समितिमा छलफलका लागि पठाउने प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो। यसरी नै प्रदेश ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसँग सम्बन्धित विधायन समितिको प्रतिवेदन पनि प्रदेशसभामा प्रस्तुत भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.