|

सुनसरी : सुनसरी इनरुवामा छोरी जन्माएको निहुँमा १३ वर्षीया किशोरी ममता मरिक घर निकाला भएकी छन्। एक वर्षअघि घरपरिवारबाटै बालविवाह गराइएकी ममता यतिवेला इनरुवा अस्पतालको शैयामा छन्। 

छोरी जन्माएको निहुँमा परिवारले घर निकाला गरिदिएपछि ममतासँगै काखे बालिका बिचल्लीमा परेका छन्। चार दिन यता उनी सुनसरीको इनरुवा अस्पतालको वेडमा काखे बालिकासहित सहाराको पर्खाइमा छिन्।

डाक्टरका अनुसार शिशू जन्मजात कुपोषित छ। साथै शिशूको स्याहार–सुसार गर्ने आफन्त नआइदिँदा झनै समस्या भएको छ। उपचारमा संलग्न स्वास्थ्यकर्मीको भनाइअनुसार आमाको उमेर अपरिपक्व भएकाले बच्चालाई खुवाउने दूधसमेत पर्याप्त छैन्। पौष्टिक आहार र उचित हेरचाहको अभावमा शिशूको स्वास्थ्यमा समस्या देखिएकाे छ। 

ममताको स्वास्थ्यमा समेत समस्या देखिएको डा तुषार झाले बताए। डाक्टरका अनुसार ममतालाई रगत अभाव र मुटुको समस्या छ। अहिले आमा र बच्चा दुवैको स्वास्थ्यमा सामान्य सुधार देखिएको बताइए पनि डिसचार्ज पश्चातको अवस्था यकिन गर्न नसकिने अस्पतालले जनाएको छ। 

एक वर्षअघि सिरहाको गोलबजार घर भएका प्रकाश मरिकसँग विवाह गरेकी ममता छोरी जन्माएपछि पारिवारिक हिंसाको शिकार भएकी हुन्। छोरी जन्माएको भन्दै श्रीमान् र परिवारका सदस्यले ज्यान मार्ने धम्की दिएको बताउने पीडित ममताले आफूलाई खान लाउन नदिई घर निकाला गरेको बताउँछिन्। आफूलाई श्रीमान्सहित परिवारका सदस्य मिलेर घरबाट लखेटेको उनको दाबी छ।

ममताका बाबु ढोगाई मरिकले आफ्नो परिवारको आर्थिक अवस्था राम्रो नभएकाले आमा र बच्चाको हेरचाह र खानपिन तथा उपचार गराउन नसक्ने बताउँछन्। 

यता, अस्पतालले भर्ना भएदेखि आमा र शिशूको उपचार निःशुल्क गर्दै आएको जनाएको छ। 

वालविवाहकाे पीडा भोगेकी ममता उनको श्रीमान र परिवारका सदस्यले घर निकाला गरिदिएपछि थप समस्यामा परेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.