|

जनकपुरधाम : भारतीय सीमासँग २०० मिटरभित्रै नेपाली भू–भागमा अवैद्य मदिराको व्यापार फस्टाउँदै गएको छ। भारतको बिहार राज्यमा मदिरा बिक्रि वितरणमा रोक लगाइएपछि सीमापारिबाट नेपाल पसेर मदिरा खाने र तस्करी गर्नेहरूको संख्या अत्याधिक बढेको हो।

धनुषाको मुखियापट्टी मुसहनिया गाउँपालिका अन्तर्गत सीमाको दुई सय मिटरभित्रै पाँचवटा मदिरा पसलहरु विहानैदेखि खुल्ला हुन्छ। स–सानो झोपडी बनाएर सञ्चालनमा ल्याइएको अवैद्य मदिरा पसलहरू बाहिर विहानैदेखि ग्राहकहरूको चाप हुन्छ। बढिजसो भारतीय ग्राहकहरुले पसल भरिभराउ हुने गरेको कुरा पसल बाहिर लगाइएका सवारी साधनहरूको नम्बर प्लेटले प्रष्ट पारिरहेको हुन्छ । 

मदिरा खाने पनि र तस्करी गरेर विहारमा लुकाइ–छिपाइ बेच्न पनि तस्करहरु सक्रिय हुन्छन्। यस्ता क्रियाकलापहरू प्रतिदिन हुने गरे पनि प्रहरी भने अनभिज्ञ रहेजस्तो प्रतिक्रिया दिने गरेको छ। मुसहरनीया जस्तै जटही, खजुरीलगायतका सीमामा मदिरा पसलहरू दिनप्रतिदिन थप हुँदै गइरहेका छन्। 

विहारमा मदिरा बिक्रि वितरणमा रोक लगाइएपछि नेपाल भारतका सुरक्षाकर्मी बीच सीमा क्षेत्रमा ५०० मिटरसम्म मदिरा बेच्न नपाउने सहमति भएको थियो। तर, यसका विपरित गाउँ–गाउँमा अवैद्य रुपमा पसल सञ्चालन हुदैँ आए पनि प्रहरी प्रशासनले यसको नियन्त्रणको लागि कुनै पहल गरेको छैन्। 

यस्ता अवैद्य मदिरा पसलहरुको कारण गाउँ समाजमा विकृतिहरु बढदै गएको र रक्सी खाएर हो–हल्ला गर्नेहरुका कारण गाउँमा अशान्ती फैलिन थालेको मुसहरनीया निवासी रामकला यादव बताउँछिन्। विहानैदेखि पसलमा रक्सी खानेहरूको भीड हुन्छ जसले गर्दा गाउँघरका महिलाहरूलाई सबैभन्दा बढि असुरक्षा भएको उनी बताउँछिन् । 

गाउँमा प्रहरी चौकी भए पनि यस्ता मदिरा पसलहरूलाई हटाउन कुनै पहल नगरेको गाउँलेहरूको गुनासो छ। प्रहरीकै मिलोमतोमा मदिरा पसल सञ्चालकहरूले निर्धक भएर व्यापार गरिरहेको आरोप समेत गाउँलेहरूले लगाएका छन्। यता, धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले यस्ता अवैद्य मदिरा पसलहरूलाई हटाउन आफूले स्थानीय सरकारसँग समन्वय गरिरहेको बताउँछन्। 

उनी भन्छन्, ‘हामी स्थानीय सरकारको सहयोग लिएर यस्ता क्रियाकलाप रोक्न अभियान नै थालेका छौँ। खजुरीमा भर्खरै हामीले सीमामा खोलिएका अवैद्य मदिरा पसलहरू हटाउन लगाएका छौँ।’  सिंहले चाँडै जिल्लाका सबै सीमाहरुबाट यस्ता पसलहरू हटाइने बताए। मदिरा पसल हटाउनका लागि स्थानीय जनताहरूको सहयोग पनि अति आवश्यक रहेको उपरिक्षक सिंहको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.