|

सुनसरी : घरेलु हिंसाको सिकार बनेकी इनरुवाकी ममता मरिकको थप उपचारको प्रयास असफल भएको छ। 

छोरी पाएको निहुँमा घरबाट लखेटिएकी ममता नाबालक शिशुसहित इनरुवा अस्पतालमा उपचाररत थिइन्। अधिकारकर्मीहरूको पहलमा उनलाई सोमबार दिउँसो काठमाडौं लैजाने तयारी गरिएको भए पनि एयरलाइन्सले लैजान नमानेपछि पुनः उनलाई इनरुवा अस्पताल फिर्ता लगी भर्ना गरिएको छ। छोरी पाएको निहुँमा घरेलु हिंसाको सिकार भई अस्पतालको शरणमा पुगेकी १३ वर्षीया आमा ममतालाई अधिकारकर्मीहरूको पहलमा आइतबार दिउँसो २ः३० बजेको फ्लाइटमा काठमाडौं लैजान भन्दै विराटनगर विमानस्थल पुर्‍याइयो।

शिशुसहित यति एयरलाइन्सबाट उनलाई काठमाडौं लैजान लागिएको थियो। एयरपोर्टमा एयरलाइन्सले गर्ने कागजी प्रक्रियामा ढिलाइ हुँदा यति एयरलाइन्सको फ्लाइट छुटेपछि श्री एयरलाइन्समा पठाउने तयारी गर्दा उनी जान मानिनन्। यतीले नलगेपछि उनलाई श्री एयरलाइन्सबाट पठाउने तयारी गरिए पनि ममता स्वयंले अब आफू आमाबेगर कतै नजाने बताएपछि प्लेनमा पठाउन नसकिएको श्री एयरलाइन्स विराटनगरका एयरपोर्ट इञ्चार्ज रवि शर्माले जानकारी दिए। त्यसपछि उनलाई पुनः इनरुवा अस्पतालमै फिर्ता ल्याइएको छ। 

सुरुवातमा आफू एक्लै कतै नजाने बताएकी ममतालाई आमासँगको सरसल्लाहमा इनरुवाबाट एम्बुलेन्समा राखेर विराटनगर विमानस्थल पुर्‍याइएको थियो। आमासँगको सल्लाहमा इनरुवाका अधिकारकर्मी युवाहरूले ममतालाई विमानस्थल पुर्‍याए पनि अन्तिम समयमा आएर आफूसँग साथमा अभिभावक नरहेको भन्दै ममता ढिपी गर्दै जान नमानेपछि उनलाई इनरुवा नै फिर्ता ल्याउनुपरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.