|

सुर्खेत : जिल्लाका खुला दिसामुक्त क्षेत्र घोषणा गरेका क्षेत्रहरू घोषणामा सीमित भएका छन्। जिल्लाका अझै धेरै ठाउँमा शौचालय बन्न सकेका छैनन् भने बनेका ठाउँमा पनि काम चलाउ र कच्ची शौचालय रहेका छन्।

सुर्खेतका पश्चिमका चौकुने, पञ्चपुरी, बराहताललगायत नगरपालिका तथा गाउँपालिकाका अधिकांश गाउँहरूमा अझै पनि शौचालय प्रयोग गर्ने गरेको पाइँदैन। शौचालय प्रयोग भएका क्षेत्रमा पनि कच्ची शौचालय प्रयोग भएकाले खुला दिशामुक्त अभियान प्रभावकारी देखिएको छैन। वीरेन्द्रनगर, लेकवेँसी नगरपालिका तथा चिङ्गाड, सिम्तालगायतका गाउँपालिकाको अवस्था पनि उस्तै छ।

साविकका गाविसहरू र विभिन्न संघसंस्थाले अभियान संचालन गरेर खुला दिसामुक्त क्षेत्र घोषणा गरे पनि प्रभावकारी नभएको हो। खुला दिसामुक्त क्षेत्र घोषणा गर्दा लहडले शौचालय निर्माण गर्न लगाइए पनि उचित जनचेतनाको अभावमा त्यसको प्रभावकारिता सोचेजस्तो देखिँदैन, जसका कारण खुला दिसामुक्त घोषणा कार्यक्रम अभियानमै सीमित भएको छ।

कतिपय निर्माण भएका शौचालय कहीँ प्रयोगविहीन छन् भने कतै भत्किएका अवस्थामा रहेका छन्। पर्याप्त मात्रामा पानीको अभावका कारण धेरैजसो नागरिकहरूले चर्पीको निर्माण भए पनि खुला ठाउँमा दिसापिसाब गर्ने गरेका छन्। कतिपय ठाँउमा अभियानका क्रममा बनाइएका चर्पीहरू भत्केका छन् भने कतिपय ठाउँमा अहिले खडेरीको समयमा खानेपानीको नै समस्या रहेको छ।

पहिले खुला दिसामुक्त क्षेत्र घोषणा गर्नका लागि धेरै जनचेतनामूलक कार्यक्रम संचालन गरे पनि उक्त अभियानलाई निरन्तरता दिन नसक्दा कार्यान्वयनम समस्या देखिएको हो।

जनचेतनाको अभियान नियमित रूपमा संचालन गरिनुपर्ने पञ्चपुरी नगरपालिका- २ का वडा सचिव तिलकराम अधिकारी बताउँछन्। स्थानीय निकायका जनप्रतिनिधिहरूले पनि राष्ट्रिय अभियानलाई नियमित संचालन गर्नुपर्ने बताएका छन्।

गाउँघरमा शौचालय नभएपछि र भएका शौचालय पनि प्रयोगमा नआउँदा नगर तथा वडाहरूमा पूर्ण सरसफाई कार्यक्रम पनि प्रभावित भएको छ। 

अझै पनि समुदायमा सचेतताको कमी भएकाले वडास्तरबाट योजना बनाएर भत्केका शौचालय पुनर्निर्माण गर्दै सरसफाईसम्बन्धी अभियानलाई नियमिति रूपमा संचालन गरिनुपर्ने वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले बताइन्।

सरसफाईलाई अगाडि बढाउनका लागि प्रत्येक व्यक्तिले आफैँबाट सुरु गर्नुपर्ने वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताए। ‘हरेक व्यक्तिले आफूबाट पहिले म सुरु गर्छु भनेर लागेमा मात्र पूर्ण सरसफाईका सूचकहरू पूरा गर्न सकिन्छ’, उनले भने।

यता, पञ्चपुरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले अब नगरपालिकाले पहिलो चरणमा अनुगमन गरेर शौचालयको अवस्थाको जानकारी लिने बताए। घोषणाका समयमा सबैले शौचालय निर्माण गरेको भन्दै अहिले भत्केर पनि नबनाउने घरधुरीलाई शौचालय पुनर्निर्माण गर्न आग्रह गरिने उनको भनाइ छ। नगरपालिकाले आगामी वर्षदेखि नगर पूर्ण सरसफाईका लागि योजना बनाएर काम गर्ने उनले जानकारी दिए।

पूर्ण सरसफाईयुक्त नगर निर्माणका लागि स्थानीय सरकारका पदाधिकारी तथा कर्मचारीहरूलाई पनि सचेतनाको आवश्यकता रहेको दलित गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव नारायण विकको भनाइ छ। ‘अहिलेको युगमा पनि साबुन–पानीले हात धुन सिकाउनुपर्ने अवस्था। सरसफाई कुनै सरकार वा संस्थाको काम भएजस्तो गरी आफ्नो जिम्मेवारी ननिभाउने प्रवृत्ति बढ्दै गएको छ', उनले भने, 'जिम्मेवार नागरिक बनाउनतिर कार्यक्रम बनाउनुपर्ने देखिन्छ।’ 

पूर्ण सरसफाईयुक्त नगर, वडा र टोल बनाउनका लागि जनस्तरबाट नै आनीबानी र व्यवहार परिवर्तन गर्नका लागि सरकारीस्तरबाट नै कार्यक्रम बनाउनुपर्ने संचारकर्मी तथा नेपाल पत्रकार महासंघ सुर्खेतका कोषाध्यक्ष टेकेन्द्र विश्वकर्माको भनाइ छ। उनले भने, ‘स्थानीय सरकारको सेवा सुविधा लिनका लागि सरसफाईका सूचकहरूको लागू भएको हुनुपर्नेलगायतका नियम बनाएर भए पनि सरसफाईका सूचकहरू पूरा गर्नतर्फ लाग्नुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.