तीन वर्षमा ५५ पक्राउ

|

काठमाडौं : तीन आर्थिक वर्षयता उपत्यकाको विभिन्न ठाउँबाट महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त जनसेवाले मात्र अवैध तरिकाले पैसाको ओसारपसार (हुण्डी) कारोबारमा संगग्न ५५ जनालाई पक्राउ गरेको छ। आठ करोड २९ लाख ६४ हजार १५ नगद बरामद गरेको छ। अन्य प्रहरी कार्यालयहरुले समेत हुण्डीको कारोबारीलाई पक्राउ गर्ने गरेको छ। यसलाई हेर्दा हुण्डीको कारबरीको सख्या अझै बढी छ।     

यसमध्ये महानगरीय प्रहरी वृत्त जनसेवाले मात्र तीन आर्थीक वर्षमा २१ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको हो। पक्राउ गर्नेहरुबाट वृत्त जनसेवाले एक करोड ७९ लाख नौ हजार नगद बरामदसमेत गरेको छ।

हुण्डीको कारोबारीले न्युरोडलाई मुख्य व्यावसायिक केन्द्र बनाएर हुण्डी गर्दै आएको जनसेवाका प्रमुख प्रहरी नायव उपरीक्षक टेकुनन्द लिम्बूले बताए। ' न्युरोड क्षेत्र व्यापारीक भएको र हुण्डी पनि व्यापारसंग सम्बन्धीत रहेकाले न्युरोड क्षेत्रमा हुण्डीको कारोबार हुने गरेको हो' उनले भने।

महानगरीय प्रहरी अपराध महाशाखाले भने ०७२ यता हुण्डी अपरेसन थालेर नै हुण्डी कारोबारीलाई पक्राउ गर्ने गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले हुण्डी अपरेसन चलाएको आर्थिक वर्ष २०७२/०७३ मा हुण्डीको कारोबार गर्ने २५ जनालाई पक्राउ गरेको थियो।

हुण्डी कारोबारीले काठमाडौंका बिभिन्न मनी एक्सचेन्ज, ट्राभल एजेन्सीहरु खोलेर हुण्डीको कारोबार गर्ने गरेको अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले बताए।

उनीहको साथबाट प्रहरीले अपरेशन सुरु गरेको वर्ष ०७२/७३ मा चार करोड ८२ लाख ५५ हजार १५ रुपैयाँका बरामद गरेको थियो। यसमध्ये एक लाख भारतीय रुपैंया ७ सय ११ अमेरिकन डलर करिब दुई तोला सुन र १९४ तोला चादी समेत बरामद गरेको थियो।

त्यस्तै आर्थिक वर्षको ०७३/०७४ मा हुण्डीको कारोबार गर्ने ९ जनालाई पक्राउ गरेको थियो। उनीहरुको साथबाट प्रहरीले एक करोड ९० लाख २१ हजार रुपैयाँका बरामद गरेको थियो। यसमध्ये एक लाख भारतीय रुपैंया रहेको थियो। चालु आर्थिक वर्ष ०७४/७५ मा भने अपराध महाशाखाले हुण्डीको कारोबारीलाई पक्राउ गर्न सकेको छैन।

यसरी हुण्डी कारोबारमा संगल्न मान्छेको बयान अनुसार धेरैजसो हुण्डी कारोबारीहरुले मनि ट्रान्सफर र ट्राभल एजेन्सीको आवरणमा हुण्डी कारोबर गर्ने गरेको प्रहरीको तथ्याङ्क छ। उनीहरुले काठमाडौंको न्युरोडलाई मुख्य व्यवसायिक केन्द्र बनाएर हुण्डी गर्दै आएको अपराध महाशाखाका प्रवक्ता उप्रेतीले भनाई छ।  

हुण्डी के हो, किन गरिन्छ?

हुण्डी एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउने अवैध तरिका हो । ‘राज्यले तोकेको बाटोबाट पैसाको कारोबार नगरी अवैध तरिकाले अन्तर्राष्ट्रिय रुपमा पैसाको कारोबार गर्नु नै हुण्डी हो’ महाशाखाका प्रवक्ता उप्रेतीले भने।

हुण्डीमार्फत आतंकवादी संगठनलाई सहयोग पुगेको भन्दै युरोप, अमेरिकाले पनि यस्तो कारोबारलाई बन्द गरेका छन् । 'आतंकवादी गतिविधिमा हुण्डीले सहयोग गरेको भन्दै संयुक्त राष्ट्रसंघले समेत यसलाई गम्भीर प्रकृतिको आपराधिक गतिविधिको रुपमा राखेको छ,। ' उप्रतीले भने।  

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार वैध तरिकाले भन्दा हुण्डीबाट पैसा पठाउँदा छिटो र कम शुल्क लाग्ने भएकाले मान्छेहरु हुण्डीको कारोबारमा लाग्ने गरेका हुन्। 

विभिन्न व्यवसायीको आवरणमा गिरोहले अन्तर्राष्ट्रिय रुपमा पैसाको ओसारपसार गर्ने तथा आपराधिक क्रियाकलापको लागि समेत हुण्डी हुने गरेको अपराध महाशाको अध्ययनले देखाएको छ।

हुण्डी मार्फत कतिपय नेपलीले कालो धनलाई सेतो पार्न पनि हुण्डी गर्ने गरेको प्रहरीको बुझाई छ। ‘पैसाको स्रोत खुलेको हुँदैन, स्रोत नखुलेको कालो धनलाई सेतो पार्न पनि हुण्डी हुन्छ’ उप्रेतीले भने।

के कारबाही हन्छ हुण्डी कारोबारीलाई ?

प्रहरीले हुण्डी कारोबारीलाई पक्राउ गरेपनि कारबाही प्रक्रिया भने फितलो छ। प्रहरीले पक्राउ गरेका हुण्डी कारोबारीलाई राजश्व अनुसन्धान विभाग ललितपुर पठाउने गरेको छ। तर प्रहरीले पठाएका धेरै हुण्डी कारोबारीलाई विभागले सामान्य धरौटीमै छुटाउने गरेको छ। कारबाही प्रक्रिया फितलो भएकाले पनि हुण्डीको कारोबार नरोकिएको प्रहरीको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.