फूलमुनीकाे गुनासाे– अस्पतालसम्म जाने गाडी भाडासमेत छैन

|

दमक (झापा) : छ महिनाअघि गालामा सानो दाग देखिएपछि झापा गौरादह नगरपालिका–५ डाँडाटोलकी ३५ वर्षीया फूलमुनी मर्डीले खासै वास्ता गरिनन्। उनलाई घाउ सामान्य होला भन्ने भयो। सामान्य ठानिएको त्यस दागले डल्लोको रुप लियो र क्रमशः बढ्दै गयो। त्यसपछि भने उनलाई खटपटी भयो। 

स्वास्थ्य चौकी पनि टाढा थिएन। आधा घण्टाको पैदलमा पुगिन्थ्यो। बिपन्न र पिछडिएको सन्थाल समुदायमा चिकित्सकभन्दा अझै धामीझाँक्रीकै विश्वास गर्ने प्रचलन छ। त्यसैले फूलमुनी पनि उपचारका लागि स्वास्थ्य चौकीभन्दा धामी–झाँक्री खोज्दै दौडिइन्। कतिले देउता बिग्रिएको भने कतिले बोक्सीले टोकेर दाग बसेको भने। भारतको खरैया भन्ने ठाउँमा नाम चलेका धामी छन् भन्ने सुनेपछि आफन्तसहित उनी भारतसम्म पुगिन्। तर रोग बीसको उन्नाइस भएन। ‘बिरामी भएपछि जसले जे भन्छन्, त्यो त मान्नै पर्दो रहेछ’ फूलमुनीका पति तल्लु मर्डीले भने, ‘धामीकोमा गएपछि उनीहरुले भनेको गर्नै पर्यो। तर जति प्रयास गरेपनि गालाको डल्लो बढ्ने क्रम रोकिएन।’

भारतकै सामान्य स्वास्थ्य संस्था र धामीझाँक्रीको मागअनुसार भाकल बुझाउँदा, पूजआजा गर्दा घरको जायजेथा बेचेर झण्डै एक लाख रुपैयाँ सकियो। रोग निको हुने छाँटकाँट देखिएन। उनीहरू घर फर्किएर आए। फूलमनीका छरछिमेकी र गाउँका जान्ने बुझ्नेले उनको अनुहारमा पलाएको मासु कुनै रोग हुन सक्ने भन्दै विराटनगरको कोशी अस्पताल जान सुझाव दिए। सरसहयोग पनि पुर्‍याए।

अस्पतालका चिकित्सकले क्यान्सरको आशंका गर्दै बायोस्पी गराएर हेर्न भने। चिकित्सकको सल्लाह अनुसारनै झण्डै दश दिनअघि उनले विराटनगरको न्यूरो अस्पतालमा बायोस्पी गराइन्। रिपोर्टका आधारमा उनलाई क्यान्सर भएको बताउँदै चिकित्सकले भरतपुर क्यान्सर अस्पताल जान सुझाव दिएपछि मर्डी परिवारमा अन्धकार छाएको छ।

फूलमुनीका तीन छोरी र एक छोरा छन्। सुकुम्बासी परिवारका उनीहरू कृषि मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका फूलमुनीका चार सन्तान छन्। डाक्टरले जति सक्दो छिटो भरतपुर जानु भन्ने सुझाव दिएका छन्। तर, भरतपुरसम्म जाने गाडी भाडा समेत नभएको फूलमनीका पति तल्लुको दुखेसो पोख्छन्। ‘बिरामी हुने बित्तिकै डाक्टरकोमा जाने पैसा थिएन धामी लगाउँदा निको हुन्छ कि भनेर खर्च गरें,’ उनले भने, ‘अहिले हस्पिटल जानेसम्म पैसा छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.