|

कञ्चनपुर : भीमदत्त नगरपालिका–१ बाराकुण्डा धार्मिक पर्यटकीय क्षेत्रका ताल संरक्षणका लागि गुरुयोजनाअनुसार  कार्यक्रम सुरु गरिएको छ। बाराकुण्डाका १२ कुण्डलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन बाराकुण्डाका सबै कुण्डमा जल पुनः भरण पोखरी निर्माण कार्यक्रम सुरु गरिएको छ।

भीमदत्त नगरपालिका र राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको सहकार्यमा चालु आर्थिक वर्षमा एक करोडको कार्यक्रम सञ्चालन गरिएको छ। बाराकुण्डा ऐतिहासिक धर्मस्थल भएकाले आन्तरिक पर्यटन सहज बनाउनका लागि जलभरणको कार्य सुरु गरिएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए।

रौटेला र विष्णुधाम मन्दिरको बीच क्षेत्रमा पर्ने १२ कुण्डको उत्खनन गरी स्थानीयलाई सिँचाइ र धार्मिक पर्यटन विकास गर्ने लक्ष्यका साथ कार्यक्रम अगाडि बढाइएको छ।

भीमदत्त नगरपालिकाले गुरु योजना बनाएर बाराकुण्डाको धार्मिक पर्यटकीय विकासका लागि कार्यक्रम सुरु गरेको हो। कार्यक्रमका लागि चुरे संरक्षण विकास कार्यक्रमबाट रु ७० लाख र नगरपालिकाको रु ३० लाख बजेट विनियोजन गरिएको छ। नगरपालिकाले बाराकुण्डाका कुण्ड संरक्षण गर्नका लागि एक करोड ५० लाखको गुरु योजना बनाएको छ।

भीमदत्त नगरपालिकाका इन्जिनियर जयराज भट्टले सबै कुण्ड उत्खनन गरी पानी भरिने र ती सबैमा सहज रुपमा पुग्ने सकिने व्यवस्था गरिने बताए। ‘अहिले एकाधबाहेक कुण्ड पुरिएका छन्, ती कुण्डलाई उत्खनन गरी रिचार्ज गरिनेछ,’ उनले भने,‘यसबाट स्थानीयलाई सिँचाइ, वन्यजन्तुलाई पानी र आन्तरिक पर्यटन प्रवद्र्धन हुन्छ।’

राष्ट्रपति तराई चुरे संरक्षण समितिका हेमराज ओझाले स्थानीयलाई सिँचाइ सुविधा र ताल संरक्षण गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। बाराकुण्डाको गुरुयोजनामा तुमडी खोलामा पिकनिकस्थल बनाउने उल्लेख गरिएको छ।

भीमदत्त नगरपालिका–१ का अध्यक्ष आशेफ कुँवरले बाराकुण्डालाई धार्मिक पर्यटकीयस्थल बनाउने कार्य ऐतिहासिक भएको उल्लेख गर्दै यसका लागि यसमा सबैको सहयोग आवश्यक हुने बताए। बैजनाथा सामुदायिक वन उपभोक्ता समूहले ताल संरक्षण कार्यक्रमको जिम्मेवारी लिएको छ।

कुण्डको नामाकरण वैदिक विधिबाट

भीमदत्त नगरपालिका–१ बाराकुण्डामा सबै कुण्डको नामाकरण वैदिक विधिबाट गरिने भएको छ। नगरपालिकाले गुरुयोजना बनाएर बाराकुण्डालाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन कार्यक्रम सञ्चालन गरेपछि १२ ओटै कुण्डको नामाकरण गर्न लागिएको हो। अहिले कुण्ड सफाइ गरी जल पुनः भरण कार्यक्रम सञ्चालन गरिएको छ।

जगदगुरु बालसन्त मोहनशरण देवाचार्यबाट कुण्डको नामाकरण गराइने भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए। ‘बाराकुण्डाको प्राचीन महत्व छ, रौटेला र विष्णु मन्दिर धामको बीचमा पर्ने यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन कार्यक्रम गुरुयोजना बनाएर काम सुरु गरेका छौँ,’ नगर प्रमुख विष्टले भने, ‘सबै कुण्डमा पानी भरिएपछि जगद्‍गुरुबाट नामाकरण गर्छौं।’

अहिले स्थानीयले राखेका पुराना नामले कुण्ड चिनिन्छन्। नगरपालिकाले ब्रह्मदेबको त्रिशूलदेखि रौटेलासम्मका धार्मिक पर्यटकीय क्षेत्र जोडेर धार्मिक पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम सुरु गरेको छ। ती सबै क्षेत्र जोड्ने रौटेला ब्रह्मदेब जैविक धार्मिक पर्यटन माग निर्माण थालिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.