|
File Photo

काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको उपचारका लागि भारतबाट चिकित्सक मगाउने तयारी भइरहेको छ।

ग्रान्डी अस्पतालमा विगत एक हप्तादेखि उपचार गराइरहेका घिमिरेको आन्तरिक रक्तश्राव (ब्लिडिङ) नरोकिएपछि अस्पताल व्यवस्थापक र चिकित्सकहरूको सुझावमा भारतबाट चिकित्सक मगाउन लागिएको घिमिरेका कान्छा छोरा राजीव घिमिरेले जानकारी दिए।

राष्ट्रकवि विगत तीन महिना यता अस्वस्थ रहेको र उपचारका क्रममा अस्पताल लाने र घर ल्याउने गरिएको थियो। राजीवका अनुसार गत हप्ता राष्ट्रकवि घिमिरेलाई थप अस्वस्थता भएपछि अस्पताल लैँजादा आन्तरिक रक्तश्राव भएको पत्ता लागेको थियो। ग्रान्डीमा आन्तरिक रक्तश्राव रोक्ने मेसिन भएपनि दक्ष चिकित्सक नभएकाले भारतबाट मगाउने प्रक्रिया अगाडि बढेको राजीवले जानकारी दिए।

'विगत दुई तीन महिनादेखि अस्पताल ल्याउने र घर लैजाने गरिरहेका थियौँ', ग्रान्डीबाट राजीवले भने,'अहिले हाइ केयर युनिटमा राखेर उपचार भइरहेको छ। यस्तो गरेको ७-८ दिन भयो।'

अहिले राष्ट्रकवि घिमिरेको उपचारमा डा. विदुर शर्मा, डा. ओममूर्ती अनिल, डा. सुरेन्द्र पाण्डे र डा. उपेन्द्र लगायत संलग्न रहेका राजीवले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.