|

काठमाडौ : गंगालाल हृदयरोग केन्द्रको चौथो तल्ला सर्जिकल वार्डको बेड नम्बर- ४ मा साथमा सानो बच्चा राखेर बसेकी छन् ममता मरिक।

खाने खेल्ने र रमाउने उमेरमा आफन्तले सिरहामा विवाह गरिदिएपछि कलिलै उमेरमा आमा बनेकी सुनसरीकी ममता छोरी जन्माएको भन्दै घरेलु हिंसाको सिकार बनेकी छन्। उनको स्वास्थ्य अवस्था नाजुक छ। कलिलै उमेरमा छोरी जन्माएपछि गम्भीर बिरामी परेकी विपन्न परिवारकी ममताको मुटुको समस्या भएको पत्ता लागेपछि हाल गंगालाल हृदययरोग केन्द्रमा उपचारत छन्। 

केही सहयोगी र आमाको साथमा उपचारका लागि ल्याइएकी ममता हाल हिँड्न नसक्ने अवस्थामा छन्। बाथ र मुटुरोगको समस्याबाट पीडित ममताको त्यसमाथि कलिलो उमेरमा बच्चा जन्माएकाले अवस्था एकदम नाजुक रहेको छ। सामान्य हिँडडुल गर्नसमेत नसक्ने अवस्थामा रहेकी ममताको मुटुको भल्भको अपरेसन गर्नुपर्ने चिकित्सकहरूले बताएका छन्।

एक वर्षघि फुपूको घर गएका बेला आफ्नै फुपूले  सिरहाको गोलबजार घर भएका प्रकाश मरिकसँग विवाह गरिदिइन्। विवाह गरेको एक वर्षमै १३ वर्षको उमेरमा ममताले छोरी जन्माइन्। खाने खेल्ने कलिलै उमेरमा बच्चा जन्माउनाले उनको स्वास्थ्य जोखिममा पुगेको आमा भुट्टी मरिक बताउँछिन्।

गंगालाल अस्पतालमा छोरीसँगै रहेकी आमा भुट्टी मरिकले भनिन्, 'फुपूको घरमा गएको बेला फुपूले विवाह गरिदिइन्, अहिले यस्तो अवस्था भयो।'

जन्मजात बाथ र मुटुरोगले पीडित हाल गंगालाल हृदयरोग उपचार केन्द्रमा उपचार गराइरहेकी ममताको शिशु जन्मजात कुपोषित छ। साथै आफ्नै स्याहार गर्न नसक्ने अवस्थामा रहेकी ममताको नवजात शिशुको स्याहार–सुसारमा समेत समस्या भइरहेको छ।

आमाको उमेर अपरिपक्व भएकाले बच्चालाई खुवाउने दूधसमेत पर्याप्त छैन। पौष्टिक आहार र उचित हेरचाहको अभावमा शिशुको स्वास्थ्यमा समस्या देखिएको छ। ममताको अपरेसन गर्नुपर्ने भए पनि कलिलै उमेरमा बच्चा जन्माएकाले हाल उनको अवस्था निकै कमजोर रहेकाले अपरेसन गर्न नसकिने अस्पतालले जानाएको छ।

अहिले आमा र बच्चा दुवैको स्वास्थ्यमा सामान्य सुधार देखिएको बताइए पनि डिसचार्जपश्चातको अवस्था यकिन गर्न नसकिने अस्पतालले जनाएको छ।

छोरी जन्माएको भन्दै श्रीमान् र परिवारका सदस्यले ज्यान मार्ने धम्की दिएको बताउने पीडित ममताले आफूलाई खान लाउन नदिई घर निकाला गरेको बताइन्। आफूलाई श्रीमानसहित परिवारका सदस्य मिलेर घरबाट लखेटेको उनको आरोप छ।

फुपूले ८० हजार तिर्न नसक्दा गरिदिइन् ममताको विवाह

ममताकी आमा भुट्टी मरिकको भनाइअनुसार  ममताकी फुपूले प्रकाश मरिकसँग लिएको ८० हजार रुपैयाँ तिर्न नसक्दा उनैसँग आफ्नी छोरीको विवाह  ढाँटेर सौतामाथि गरिदिएको बताइन्।

ममतालाई फुपूले श्रीमती मरेको भन्दै ३५ वर्षका प्रकाश मरिकको श्रीमती माइत गएको बेला झुक्याएर विवाह गरिदिएको आमा भुट्टीले बताइन्। उनले भनिन्, 'मेरी छोरीलाई ढाँटेर दुईवटी छोरीसहितको सौतामाथि विहे गरिदिए, अहिले छोरीले छोरा नपाएको भन्दै यस्तो अवस्थामा पुर्‍याए।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.