|

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार अनौपचारिक भेटवार्ता भएको छ। दुवै देशका राष्ट्रप्रमुखले इतिहासदेखि चल्दै आएको सहकार्य अटुट रहेको बताएका छन्। 

चीन-भारत युद्ध र शितयुद्धकालदेखिका यी दुई मित्रराष्ट्र उस्तै रणनीतिक साझेदारीमा रहेको दुवै देशका प्रमुखले बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस शिखर वार्तापछि भारत र रुसबीच सम्बन्धको नयाँ आयाम रेखांकित भएको प्रतिक्रिया दिएका छन्। उनका अनुसार रणनीतिक साझेदारी अब विशेषाधिकार प्राप्त रणनितिक साझेदारीमा बदलिएको छ।

रुसको काला सागरस्थित तटीय शहरमा पुटिनले मोदीलाई लन्चका लागि आमन्त्रण गरेका थिए। भेटघाटको सुरुमै मोदीले रुस र भारतबीच लामो समयदेखि मित्रता रहँदै आएको र यो मित्रता अटूट रहेको बताए। 'म राष्ट्रपति पुटिनप्रति आभारी छु। उनले मलाई अनौपचारिक भेटका लागि बोलाए। हाम्रो सम्बन्धमा नयाँ आयाम थपिएको छ। यसलाई म द्विपक्षीय सम्बन्धमा एक ठूलो अवसर मान्छु।'

भेटका क्रममा मोदीले ७ पटकसम्म पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको नाम लिए। सन् २००१ मा तत्काली प्रधानमन्त्री बाजपेयीसँगै मोदी पहिलोपटक रुस गएका थिए। त्यतिबेला उनी गुजरातको मुख्यमन्त्री थिए। भ्रमणका क्रममा उनले पुटिनसँग भेटेका थिए। मोदीले पुटिनसँग आफु निकै प्रभावित रहेको बताएका छन्। उनले आफ्नो राजनीतिक करियरमा रुस र पुटिन महत्वपूर्ण रहेको बताएका छन् किनकी गुजरातको मुख्यमन्त्री बनेपछि मोदीले भेटेका पहिलो विश्वस्तरका नेता नै पुटिन थिए।

मोदीले भनेका छन्,'उक्त घटनाको १८ वर्ष बितिसकेको छ र तपाईंले मलाई विभिन्‍न मुद्दाको विचार विमर्शका लागि बोलाउनुभएको छ। यसबीच हामीले दुई देशको सम्बन्धलाई अघि बढाउन धेरै कोसिस गरेका छैनाैँ।' उनका अनुसार तत्कालीन प्रधानमन्त्री बाजपेयी र राष्ट्रपति पुटिनद्वारा रोपिएको रणनीतिक साझेदारीको बीउ अब दुवै देशका लागि विशेषाधिकारप्राप्त रणनीतिक साझेदारी बनेको छ।

मोदीले संघाई सहयोग संगठनको स्थायी सदस्यता दिलाउन रुसले भारतलाई गरेको सहयोगप्रति धन्यवाद प्रकट गरेका छन्। आठ देश सम्मिलित यस संगठनको उद्देश्य सदस्य देशबीच सैन्य एवं आर्थिक सहयोग बढाउनु हो। भारत र पाकिस्तानलाई यस संगठनमा अघिल्लो वर्ष समावेश गरिएको थियो। मोदीले अन्तर्राष्ट्रिय उत्तर दक्षिण परावहन र ब्रिक्समा मिलेर काम गर्ने बताएका छन्।

उनले चौथोपटक राष्ट्रपति निर्वाचित भएकोमा पुटिनलाई बधाई दिएका छन्। गत मार्चमा चौथो कार्यकालका लागि राष्ट्रपति चुनिएका पुटिनले दुई साताअघिमात्रै शपथ लिएका थिए। उनले फिफा विश्वकपको आयोजनाका लागि पनि रुसलाई बधाई दिएका छन्। पुटिनले दुई देशका जनताबीचको  मैत्रि सम्बन्धमा यो भेटले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले दुई देशबीच विदेश नीति र सैन्य सहकार्य हुने बताए।  

अमेरिकालाई काउन्टर

इरानको परमाणु सम्झौताका विषयमा पनि दुई नेताबीच छलफल भएको छ। अमेरिकाले इरानसँगको परमाणु सम्झौताबाट पछि हट्दै उसमाथि नाकाबन्दी लगाउने निर्णय गरिसकेको छ। भारत र रुस दुवैको इरानसँग राम्रो सम्बन्ध छ।

रुसमाथि अमेरिकाले सन् २०१४ देखि नै विभिन्न खाले नाकाबन्दी लगाएको छ। त्यस्तै, यसै वर्षको जनवरीबाट अमेरिकी कंग्रेसले रुस, इरान र उत्तर कोरियासँग सैन्य सहकार्य गर्ने राष्ट्रमाथि प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ। यस कानुन पारित भएसँगै भारतसँग अमेरिकाको सम्बन्ध कस्तो रहन्छ भन्‍ने बहस सुरु भइसकेको छ।  

भारत रुसको सबैभन्दा धेरै हतियार खरिद गर्ने राष्ट्र हो। भारतीय सेनाको ६८ प्रतिशत हतियार रुसबाट आउँछ। भारतले रुससँग थप सैन्य जहाज तथा अत्याधुनिक मिसाइलहरु खरिद गर्ने प्रक्रिया अघि बढाइसकेको छ भने रुसको सहयोगमा आफ्नै देशमा पनि विभिन्‍न काम गर्दैछ। रुससँगको आफ्नो सम्बन्धमा तेस्रो पक्षको हस्तक्षेप मान्य नहुने भारतले स्पष्ट पारिसकेको छ। सोभियतकालदेखि नै रुस र भारतबीच न्यानो सम्बन्ध र सहकार्य रहँदै आएको छ।

इरानको पनि भारतसँग राम्रो सम्बन्ध छ। भारतले इरानबाट ठूलो परिमाणमा पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। इरानमाथि अमेरिकाले नाकाबन्दी लगाएसँगै त्यसको असर भारतको तेल आयात र चाबहार बन्दगाह सम्झौता पर्नसक्ने आशंका गरिएको छ।

मोदी र पुटिनबीच अफगानिस्तान, सिरिया र आतंकवादका विषयमा पनि छलफल भएको छ। रुस र भारत दुबैले आतंकवाद विरुद्ध लड्दै आएका छन्। पाकिस्तान र चीनलाई हेर्ने दृष्टीकोणका विषयमा पनि दुई देशबीच छलफल भएको छ। पछिल्लो समय चीन र रुस नजिक छन्। यता, चीनसँग राम्रो सम्बन्ध रहेको पाकिस्तानसँग भारतले खतरा महसुस गरिरहेको छ।

मोदीले पुटिनसँग भेट्नुअघि गत अप्रिल २७ र २८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङसँग यसरी नै अनौपचारिक भेट गरेका थिए। उक्त भेटपछि भारत र चीनबीचको सम्बन्ध नयाँ ढंगले अघि बढ्ने संकेत मिलेको चिनियाँ पत्रिकाहरुको विश्लेषण थियो। संसारका तीन ठूला शक्तिराष्ट्र चीन, रुस र भारत एकआपसमा मिलेर अघि बढेमा अमेरिकाका लागि त्यो पक्कै टाउको दुखाइको विषय हुनेछ। 

ध्रुवीकरणबाट बच्नुपर्ने चुनौती

अहिले एसिया र पूरै विश्वमा ध्रुवीकरण देखिएको छ। एसिया प्यासिफिक क्षेत्रमा अमेरिका, अष्ट्रेलिया र जापानबीचको एउटा ध्रुव छ  भने मध्यपूर्वमा इरान, चीन र रुस र सिरियाबीच गठबन्धन छ। यस्तो परिस्थितिमा भारतलाई सन्तुलित बस्न मुस्किल भइरहेको विश्लेषकहरुको तर्क छ। मोदीले पनि यस विषयमा पुटिनसँग कुराकानी गरेका छन् किनकि भारत कसैसँग लड्न चाहँदैन र अमेरिकासँग पनि उसको राम्रो सम्बन्ध छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.