|

कञ्चनपुरः यहाँ बसोबास गर्दै आएका लोपोन्मुख राउटे जातिका तीन परिवारले विगत आठ महिनायता भत्ता पाएका छैनन्।

सरकारले राउटेलाई मासिक रु दुई हजारका दरले भत्ता दिने निर्णय गरेको थियो । विगत आठ महिनादेखि भत्ता नपाएपछि आर्थिक अभाव झेल्नु परेको राउटे परिवारको गुनासो छ । झण्डै पाँच लाख जनसंख्या भएको कञ्चनपुरमा तीन परिवारमात्रै राउटे समुदायको बसोबासछ। भीमदत्तनगरपालिका–९ खल्लामसेट्टीमा दुई तथा सोही वडाको मटेनामा एउटा राउटे परिवार डेढ दशकदेखि बस्दै आएको छ। दार्चुलाको साविक लाली गाविसबाट डडेल्धुराको जोगबुढा हुँदै कञ्चनपुरको उत्तरी क्षेत्रमा अवस्थित खल्लामसेट्टीमा बसाइँ सरेका राउटे परिवार भत्ताकै सहारामा बाँचिरहेका छन्।

खल्लामसेट्टीका ६६ वर्षीय जयलाल राउटेले भने 'गाउँका पसलबाट उधारोमा खाद्यान्न मागेर छाक,”, भत्ताको रकमले उधारो तिर्ने गर्छौँ।' लामो समयदेखि भत्ता नपाउँदा परिवारको खर्च टार्न समस्या भइरहेको समेत उनले बताए।उनले भने 'पहिले त महेन्द्रनगर बजार पुगेर भत्ता लिन्थ्यौँ अहिले वडामै वितरण हुन्छ भन्ने सुनेका छौँ, पाएका भने छैनौँ।'

उनका दुई छोरा मजदूरीका लागि भारत र दार्चुलामा हुनुहुन्छ। वन जंगल सामुदायिक वन बनाएपछि काठका सामग्री बनाएर बिक्री गर्न समस्या भएको समेत उनले बताए। उनले भने 'जोगबुढा बस्दासम्म जंगलबाट काठ ल्याएर विभिन्न सामग्री बनाएर गाउँमा बेचेर खर्च चलाउँथ्यौँ गाउँमा सुख होला भनेको,यहाँ त पानीको प्यास मेटाउन पनि गाह्रो छ।'गाउँमा ज्याला मजदूरीको काम गर्दै आएका स्थानीयदेखि प्रतिनिधिसभाको निर्वाचनसम्म नेताहरुले घरबासको व्यवस्था मिलाइदिने आश्वासन दिएको बताए।

उनले भने 'चुनाव जितेपछि हाम्रो झुपडीमा कोही पनि नेता आएका छैनन्संस्थाको सहयोगले धारा जडान हुँदा धन्न पानी पाएका छौँ।' गाउँमा बिजुली,खानेपानी,सडकलगायत धेरै समस्या रहेको सुनाउँदै उनले तत्काल राउटे भत्ता उपलब्ध गराइदिन मागसमेत गरे।

जयलालले विगत सम्झँदै भने 'जंगलका जुँ,मँइ, हलो,बनाएर बेच्नुको आनन्द नै बेग्लै थियो। कहिलेकाहीँ दुम्सीको मासुसमेत खान पाइन्थ्यो।'त्यसैगरी घर नजिकैको खोलामा तटबन्ध निर्माणमा जुटेकी जयलालकी पत्नी कुणीदेवीले भत्ता नपाउँदा पसलेले उधारोमा सामान दिन छाडेको समेत बताए।

उनले भने 'कमाइ खान जग्गा छैन, उही उधारोमा बाँचेका छौँ गाउँघरमा मजदूरी गर्दा पाइने रकमले सहयोग पुग्छ।'गरिबी निवारण कोषले गाउँमा सञ्चालन गरेको बाख्रापालन तालीममा जयलालकी बुहारी कमला सहभागी छिन्। तालीम लिएपश्चात् समूह बनाएर ऋण उपलब्ध गराए बाख्रापालन गर्ने योजनामा रहेकी कमलाले आम्दानी बढ्ने समेत बताइन्। । टहरा छाएको त्रिपाल च्यातिएकाले यसपालिको वर्षात् कसरी गुजार्ने भन्ने चिन्तामा जयलाल रहेका छन्।

उनले भने 'भत्ता पाएपछि नयाँ त्रिपालले छाउने भनेको सपना जस्तै भो वर्षात्मा त पानीले बस्नै सकिएला जस्तो छैन।'यस्तै,बड्सिंह राउटे भत्ता नपाएकै कारण परिवारको बिचल्ली हुने अवस्था आएको बताए। विसं २०५८ मा बसाइँ सरी यहाँ आएका बड्सिंहले परिवारका पाँचजनाले भत्ता नपाएको गुनासो गरेका हुन्। आगामी असारसम्म भत्ता पाउने हल्ला चलिरहेको बताउँदै उनले भत्ताको रकमले खाद्यान्न खरिद गर्ने योजना रहेको समेत बताए।

उनले भने 'यहाँ आएपछि जंगल छुट्यो कहिलेकाहीँ गाउँघरमा ज्यालादारीमा काम गर्न जान्छु।' घरमा आउने नेताहरुले आश्वासन धेरै दिने गरेको भए पनि घर बनाउन कुनै पहल नगरिदिएकामा उनी निराश छन्।

डेढ दशकअघि आफूहरुसित जोगबुढाबाट आएका १० परिवार राउटे यहाँबाट पलायन भएका छन। बड्सिंहले भने 'यहाँ त बाँच्नै मुस्किल छ, बसेर के गर्नु गाउँ समाजमा विभेद हुँदा पलायनको सम्भावना रहन्छ।'जंगलमा हुँदा बनाएका भाँडाकुँडा साटेर गाउँबाट खाद्यान्न ल्याउने गरेको विगत सम्झिँदै उनले भने  'सरकारको भत्ताको त कुनै ठेगान नै नहुँदो रैछ।'

भीमदत्तनगरपालिका–९ का वडाध्यक्ष राम नाथले राउटेको घरबासका लागि पहल गर्ने बताए।उनले भने 'राउटे समुदाय सामान्य झुपडी बनाएर आश्रय दिइदै छ।' वडा कार्यालयले जेठ दोस्रो साताभित्रै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने समेत उनको  भनाइ छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.