|

दमक : एक महिनासम्म मनाइएको किरात राई समुदायको मुख्य पर्व साकेला उभौली शनिबार झापामा समापन गरिएको छ। किरात राई यायोक्खा झापाले बैशाख शुक्ल पूर्णिमादेखि जिल्लाव्यापी रूपमा सञ्चालन गरेको साकेला थान पूजा तथा साकेला नाचको शनिबार कमल गाउँपालिकामा पर्ने सितापुरी साकेलाथानमा वृहत्त कार्यक्रमसहित समापन गरिएको हो।

सो अवसरमा झापाका विभिन्न प्रारम्भिक समितिहरूबाट २६ वटा साकेला नाच टोलीले परम्परागत साकेला सिली प्रस्तुत गरेका यायोक्खाका केन्द्रीय सदस्य दिपेनवाला राईले जानकारी दिए।  यायोक्खा झापाले सो अवसरमा संघीय संसद र प्रदेश संसदमा निर्वाचित तीन जना सांसदसहित राई समुदायबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई सम्मानसमेत गरेको छ। 

सम्मानित हुने सांसदहरूमा संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बू, प्रदेश १ का सांसद अर्जुनकुमार राई र इन्दिरा राई रहेका छन्। त्यसैगरी कमल गाउँपालिका वडा नं ७ का निर्वाचित वडाध्यक्ष पृथ्वीपति राई, वडा नं ४ का वडाध्यक्ष प्रेम बहादुर राई वडा नं ६ की वडा सदस्य गंगादेवी राईलगायत झापाका विभिन्न स्थानीय तहका गरी जम्मा २० जनालाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राई र झापा जिल्ला अध्यक्ष ईन्द्रमान चाम्लिङ राईले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए। 

किरात प्रदेशको माग
साकेला समापनको अवसरमा वक्ताहरूले प्रदेश १ को नाम किरात प्रदेश राख्न माग गरे। यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले किरात राज्य स्थापना हुनुपर्ने यायोक्खाको माग यथावत रहेको बताए। 

उनले ऐतिहासिक पृष्ठभुमी र पहिचानका आधारमा किरात राज्य स्थापना गर्न राज्यले आनाकानी गरे त्यसको डटेर सामना गर्ने चेतावनी पनि दिए। यस्तै, किरात राई यायोक्खाका संस्थापक जितमान राईले पूर्वी क्षेत्रलाई किरात प्रदेश बनाउन नहुने कुनै आधार नरहेको जिकिर गर्दै ऐतिहासिकताका आधारमा प्रदेश १ लाई पहिचानसहितको किरात राज्य बनाउनुपर्ने धारणा राखे। 

साकेलाको महत्त्व

किरात समुदायमा प्रकृति पूजाको चलन रहेको छ। प्रकृतिपूजक किरातीहरूले हरेक वर्ष दुईपटक प्रकृतिको पूजा गर्ने गर्दछन्। सोही पूजालाई साकेलाको रूपमा मनाउने चलन छ। 
मंसिर र बैशाखमा यो पर्व मनाउने गरिन्छ। मंसिरमा मनाउने साकेलालाई उधौली भनिन्छ भने बैशाखमा मनाउनेलाई उभौली। 
‘बैशाखदेखि  उधों अर्थात् बेशीतर्फ गर्मी हुने भएकाले गर्मी छल्दै खेती र पशुपालन गर्न उभो अर्थात् लेकतर्फ गोठ सार्ने चलन थियो’, किरात राई यायोक्खा झापाका अध्यक्ष ईन्द्रमान चाम्लिङ्ले भने, ‘त्यसैले बैशाखे पूर्णिमादेखि मनाइने साकेलाईलाई उभौली भनिन्छ।’

किरात समुदायको बसोबास रहेको पूर्वका झापा, मोरङ, सुनसरी, खोटाङ्, भोजपुर, ओखलढुंगा, इलाम, पाँचथर, संखुवासभालगायत प्रदेश १ का अधिकांश जिल्लामा यो पर्व मनाउने गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.