|

हेटौँडा : क्रान्तिकारी पत्रकार संगठन, नेपाल मकवानपुर शाखाले स्थापना गरेको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार नवराज शर्मालाई प्रदान गरिएको छ। 

इच्छुकको १६औँ स्मृति दिवसका अवसरमा एक कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरिएको हो। सो अवसरमा पाँच हजार ५५५ रुपैयाँ राशीको पुरस्कार प्रदान गर्नुका साथै जिल्लाका विविध सम्पर्क सूचनाहरू समेटेर तयार गरिएको फोन डायरीको समेत विमोचन गरिएको छ। 

पुरस्कार वितरण समारोहमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि प्रभात चलाउनेले कृष्ण सेन सांस्कृतिक योद्धा, लेखक, साहित्यकारका रूपमा नभई एक महान स्वप्न द्रष्टा भएको बताए। सधैँ सादा जीवन ब्यतित् गरेका सेन शब्द र कर्मका उचित मेल भएका व्यक्तित्व भएको बताउँदै प्रमुख अतिथि चलाउनेले सेनको जीवनबाट नेपाली पत्रकारिता र पत्रकारहरुले धेरै कुरा सिक्नुपर्ने बताए। 

चलाउनेले मन्तव्य राख्दै- सेनसँग आफ्नो सहकार्य र हिरासतमा सँगै रहेका बेलाको अनुभूति सुनाउँदै  सेनले आफ्नो विचार, आस्था र स्वाभिमानमा कहिल्यै पनि सम्झौता नगरेको बताए। नागरिकको अधिकार रक्षा, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षामा प्रतिबद्ध भई लाग्ने क्रममा नै उनको कलम र बोलीबाट त्रसित भएर शेरबहादुर देउवाको नेतृत्वमा रहेको तत्कालीन सरकारले सेनलाई कुटी कुटी हत्या गरेको उनले बताए। नेपालको सत्ता राजनीतिमा सामन्तवाद गहिरोसँग हावी रहेको बताउँदै चलाउनले कार्यकर्ताले विचारको बहस गरेको देख्नै नसक्ने र आफ्ना कार्यकर्ताहरुलाई गुलाम मात्र बनाउने प्रवृति हावी रहेको बताए। कृष्ण सेन गुलाम र दास संस्कृतिका विरुद्ध न्याय, समानता र स्वाधीन संस्कृतिको आदर्श भएको उनको भनाई थियो। 

कार्यक्रममा बोल्दै पुरस्कृत हुने वरिष्ठ पत्रकार नवराज शर्माले कृष्ण सेन सबैको आदर्श भएको बताए। कृष्ण सेनले सधै आफूलाई जनताको पक्षमा उभ्याएको बताउँदै शर्माले सेनको जीवनबाट सबैले सिक्नुपर्ने बताए। उनले क्रान्तिकारी पत्रकार संगठनले आफूलाई पुरस्कृत गरेकोमा गर्वको अनुभूति गरेको बताए। 
त्यसैगरी नेपाल पत्रकार महासंघका प्रदेश ३ का अध्यक्ष प्रताप विष्टले संगठनले सही व्यक्तिलाई पुरस्कृत गरेको भन्दै जनताका पक्षमा कलम चलाएमा सम्मान पाइन्छ भन्ने कुराको अनुभूति बनाए।

कार्यक्रममा प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, प्रेस सोसाइटी, मिडिया नेपाल, क्रियाशील पत्रकार महिला, तामाङ पत्रकार संघ, चलचित्र पत्रकार संघलगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.