|

सन् २००२ को विश्वकपअघि जब बेकह्यामको देब्रे खुट्टाको हड्डीमा चोट लागेको थियो। बेलायती प्रधानमन्त्री टोनी ब्लेयर क्याबिनेट मिटिङ नै स्थगित गरेर उनलाई भेट्न पुगे। 

बेकह्यामको घाइते खुट्टालाई प्रथम पृष्ठको प्रमुख फोटो बनाएर त्यतिबेला ट्यावलोइड पेपरहरूले समाचार बनाएका थिए। पत्रपत्रिकामा समाचारसँगै प्रश्न पनि राखिएको थियो, ‘बेकह्यामको खुट्टा कसरी ठीक होला?’ कुनै पनि खेलाडीको सामान्य चोटका विषयमा यति धेरै चिन्ता त्यसै गरिन्नँ। यही घटनाले देखाउँछ कि बेकह्याम कति चर्चित थिए? अझै छन्। 

विश्व कपसम्म आइपुग्दा बेकह्यामको खुट्टा ठीक भयो र उनले प्रतियोगितामा राम्रो पनि खेले। तर उनको कप्तानीमा इ‌ंग्ल्यान्डले क्वार्टर फाइनलभन्दा लामो यात्रा तय गर्न सकेन। सन् २००६ को विश्व कपमा पनि इंग्ल्यान्डको प्रदर्शन राम्रो भएन। यही विश्व कप बेकह्यामका लागि अन्तिम बन्यो। 

त्यसयता, सन् २०१० र सन् २०१४ को विश्व कपमा बेकह्याम सहभागी भएनन् तर विश्व फुटबलमा अहिले पनि उनको चर्चा उत्तिकै हुन्छ। फुटबलमा सेट पिस, फ्रि किक र फेसनका कारण उनी चर्चामा रहे। मिडफिल्डमा बल होल्ड गरेर विपक्षीलाई आच्छुआच्छु पार्ने आफ्ना साथीलाई खुट्टामै बल डेलिभरी गरिदिन सक्ने उनको खुबी थियो। 

बेकह्याम संसारमै सबैभन्दा धेरै रुचाइएका खेलाडीमध्ये एक हुन्। त्यसैले उनलाई धेरैले फुटबल मात्रै नभएर ब्रान्डको संज्ञा दिन्छन्। बेकह्याम ग्ल्यामरस शैलीका कारण मात्रै होइन, ह्यान्डसम फिगरका कारण पनि चर्चामा रहे। खेलकुदमा फेसनलाई भित्र्याएर त्यसलाई विश्वव्यापी मार्केटिङ गर्न सक्ने खुबी सायद बेकह्यामजत्तिको अरूमा छैन। त्यसैले त बेकह्याम सन् २०१२ मा सन्यास घोषणा गर्नुअघिसम्म सबैभन्दा धेरै कमाउने फुटबलर रहे। फुटबल किट मात्रै नभएर अन्डरवेयरको विज्ञापनमा समेत छाउने बेकह्यामले खेलकुदबाट टाढै रहन चाहने थुप्रै व्यक्तिहरूलाई समेत फुटबल क्रेजी बनाए। 

खासमा विश्वव्यापी चर्चा पाएको बेलायती गायिकाहरूको समूह स्पाइस गर्ल्सकी महत्त्वपूर्ण सदस्य भिक्टोरियासँग विवाह गरेपछि बेकह्यामको चर्चा समाजका थुप्रै क्षेत्रमा हुन थालेको थियो। त्यसअघि नै बेकह्यामले म्यानचेष्टर युनाइटेडबाट युरोपेली च्याम्पियन्स लिग फुटबल जितिसकेका थिए। युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनको बुझाइमा बेकह्याम पहिला मिहिनेती थिए, ‘विश्वकै सर्वोत्कृष्ट फुटबल बन्नलायकको खुबी र विशेषता उनमा थियो तर एक्कासि भिक्टोरियासँग विवाह गरेपछि उनी ठूलो सेलिब्रेटी भए।’ फर्गुसनले केही वर्षअघि बेकह्यामलाई व्यंग्य गर्दै भनेका थिए, ‘फुटबल अब बेकह्यामको जीवनको सानो पाटो मात्रै रह्यो, उनी ठूला सेलिब्रेटी भइसके।’

इंग्ल्याण्डका पूर्व प्रशिक्षक सेभोन गोरान इरिक्सनको बुझाइमा बेकह्याम विश्व खेलकुदकै सबैभन्दा चलेका खेलाडी हुन्। 

फ्रि किक हान्‍ने उत्कृष्ट शैली 

बेकह्याम फ्रि किकलाई कसले पो बिर्सन सक्छ र? उनको घुमाउरो फ्रि किक हान्ने शैलीबाट प्रभावित भएर चलचित्र नै निर्माण भयो, 'बेन्ड इट लाइक बेकह्याम।'  तर सकरनोमिक्सका लेखक स्टेफेन सेज्जिमानस्कीको बुझाइ फरक छ। सेज्जिमानस्की भन्छन्, ‘बेकह्यामले फुटबल र सेक्सको समिश्रणलाई विश्वमा बेचे। उनले फुटबलकै माध्यमबाट महिला र पुरुष मात्रै होइन, समलिंगीहरूको ध्यानसमेत खिचे।'

’परिचय फराकिलो बनाए पनि बेकह्याम मैदानबाहिरकै क्रियाकलापका भरमा मात्रै चलेका भने होइनन्। उनले आफूले खेलेको प्रत्येक व्यावसाहिक लिगमा आफ्नो उपस्थिति सिद्ध गरे। सन् २००० देखि २००६ सम्म इंग्ल्यान्डको कप्तानी गर्दा मात्रै होइन, राष्ट्रिय टिमको सदस्य बनेर पनि लोकप्रियता कमाए। यस क्रममा उनले म्यानचेष्टर युनाइटेडबाट प्रिमियर लिग, रियल म्याड्रिडबाट ला लिगा तथा पेरिस सेन्ट जर्माइनबाट फ्रेन्च लिग वान जित्ने कीर्तिमान बनाएका छन् ।

अमेरिकी मेजर सकर लिगलाई विश्वव्यापी बनाउने जस पनि उनलाई जान्छ। बेकह्यामको चर्चा युरोप र अमेरिकामा मात्रै भएन, एसियामा समेत उनका थुप्रै समर्थकहरू छन्। सन् २००२ मा जापान र दक्षिण अफ्रिकामा सम्पन्न विश्व कपमा बेकह्याम सबैभन्दा धेरैले रुचाइएका फुटबलर थिए। ट्याटुका सौखिन बेकह्यामले देवनागरीमा आफ्नी पत्नी भिक्टोरियाको नाम लेखेका छन्, नाडीमा। उनले शरीरका प्रत्येक भागमा आफ्नी पत्नीको नाम फरक फरक भाषामा लेखेका छन्।

इंग्ल्याण्डबाट ११५ अन्तर्राष्ट्रिय खेल खेलेका बेकह्याम सन् १९९८ मा अर्जेन्टिनाविरुद्धको खेलमा डिएगो सिमोनीलाई हिर्काएपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। यसका कारण उनको धेरै आलोचना भयो। टोकियोमा सन् २००२ का विश्व कपलगत्तै एक डिपार्टमेन्टल स्टोरले बेकहयामको १० फिट अग्लो चकलेटको सालिक बनाएको प्रसंगले उनको चर्चा कति छ भन्ने छर्लंग पार्छ।  अस्ट्रेलियाको लिगमा लगानी गरिरहेका धनाढ्यहरूले एक पटक भनेका थिए, ‘बेकह्याम अस्ट्रेलिया आउन इच्छुक हुन सक्छन् तर उनको स्थानान्तरण यति महँग छ कि हाम्रो लिगले धान्नै सक्दैन।’ यसबाट बेकह्यामको क्रेज मात्रै होइन, उनी कति महँगा छन् भन्ने पनि पुष्टि हुन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.