हाम्रो भविष्य हाम्रा दुई हेडसरहरूको हातमा छ : योगेश भट्टराई

|

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले प्रेस स्वतन्त्र रहने तर स्वच्छन्द भएर जे मन पर्‍यो, त्यही गर्न नपाइने बताएका छन्। कृष्णसेन इच्छुकको १६अौँ स्मृति दिवसको अवसरमा आयोजित पुरस्कार वितरण तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले मिडियालाई स्वच्छन्द हुनबाट रोक्नुपर्ने बताए। 

सरकारले ल्याएको नीति तथा कार्यक्रममा मिडियाका कुराहरूबारे पत्रकारसम्वद्ध संघसंस्थाका प्रतिनिधिले गरेको टिप्पणीबारे बोल्दै मन्त्री बाँस्कोटाले सरकारका दायरा र सीमाभित्र रहेर पत्रकारका लागि काम गरेको बताए। उनले भने, 'म त्यस्तो शिल्पकार होइन, जसले पत्रकारले मागेका सबै कुरा किस्तामा राखेर बाँड्न सकूँ। हाम्रा सीमा र दायरा छन्। म पनि पत्रकारिता क्षेत्रबाटै आएकाले म यी कुराहरूप्रति संवेदनशील छु।'

पत्रकारलाई मर्यादित र जिम्मेवार हुन आग्रह गर्दै मन्त्री बाँस्कोटाले अब समाचार लेखेकै आधारमा कुनै पनि पत्रकार मारिनु नपर्ने प्रष्ट पारे। 'जसरी कृष्ण सेन मारिए, अब कोही पनि कृष्ण सेन मारिनुपर्ने छैन। लेखेवापत राज्यका तर्फबाट गैरन्यायिक हत्या जस्ता घटना हुँदैनन्। हामीलाई शंका नगर्न आश्वस्त पार्छु', उनले भने। 

अराजक समाजतर्फ प्रेसलाई डोहोर्‍याउन नहुने बताउँदै उनले सामाजिक संजालका कारण अनलाइन मिडिया बदनाम भएको भन्दै चिन्ता व्यक्त गरे। मिडिया विकसित हुनुपर्ने तर जे पनि लेख्न पाइने कुराको अन्त्य गरिने उनले बताए। भने, 'सामाजिक संजालका कारण अहिले अनलाइन पत्रकारिता बदनाम छ। टाउको जोडेर जे पनि कुरा हालिदिएको छ। यस्तो अराजकता सैह्य हुँदैन, हामी यसलाई रोक्छौँ।'

यसैगरी सोही कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले नेपालमा बहुमतसहितको कम्युनिस्ट नेतृत्वको स्थायी सरकार आएकाले अब यस कारणले काम गर्न सकेनौँ भन्ने कुराको छुट नहुने बताएका छन्। कृष्णसेन इच्छुकको १६अौँ स्मृति दिवसको अवसरमा आयोजित पुरस्कार वितरण तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता भट्टराईले फलाना कारणले काम गर्न सकेनौँ भन्ने छुट अब नहुने बताएका हुन्।  

कम्युनिस्टहरू लोकतान्त्रिक पद्धतिप्रति विश्वास राख्ने भन्दै उनले प्रतिपक्षीसँग हिजोको जस्तै सहकार्य आज पनि भएको र भोलि पनि रहने प्रष्ट पारे। सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित भएको भन्दै उनले प्रतिपक्षीले पनि विपक्षमा मतदान नगरेको भन्दै यो राम्रो संकेत भएको बताए।

मुलुकका दुई ठूला पार्टीबीच एकीकरण भइसकेपछि अब तेस्रो, चौथो पुस्ताले नेतृत्वको अगाडि पछाडि बसेर आउने दिनको नेतृत्वका लागि तालिम लिइहेको उनको भनाइ थियो। ‘हाम्रा अध्यक्षद्वयले सँगै प्लेन चलाउँछौ भन्नुभएको छ। दुई पाइलटले कसरी प्लेन चलाउँछन्? कताकता हात हाल्छन् भन्ने कुरा सबैले हेरिरहेका छन्। हामी यहाँ पढ्न आइरहेका छौँ। सही ढंगले पढ्न आएका छौँ’, उनले भने।

पार्टी एकता भइसकेपछि नेतृत्वले कुन नेतालाई के जिम्मेवारी दिने भन्ने सन्दर्भमा नेतृत्वले उचित मूल्यांकनकै आधारमा कार्यविभाजन टुंग्याउने विश्वास व्यक्त गरे। दोस्रो, तेस्रो पुस्ताका नेताहरूले नेतृत्वको परीक्षा लिइरहेको उनले बताए। ‘अब उहाँहरूको पनि परीक्षा हामीले लिइरहेका छौँ। हाम्रा हेडसरहरूले राम्रो मूल्यांकन गर्नुभएन भने विद्यार्थीको भविष्य खतरामा पर्छ। उहाँहरूले हाम्रो भविष्य कसरी मूल्यांकन गर्नुहुन्छ, उहाँहरूको हातमा छ’, नेता भट्टराईले भने, ‘दुई नम्बर मात्रै तलमाथि परेमा प्रहरीमा त आइजिपी हुन पाउँदैन। हाम्रो कपी उहाँहरूको हातमा छ तर हेडसरहरूको पनि हामीले मूल्यांकन गरिरहेका छौँ।’

ठूलो बलिदानी र संघर्ष गरेर कम्युनिष्टहरू यहाँसम्म आएको भन्दै नेता भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा नेतृत्व गरेको सशस्त्र संघर्षको प्रसंसासमेत गरे। भने, ‘कमरेड प्रचण्डले त एउटा ठूलो फिल्म नै बनाएर आउनुभएको छ। पूँजीवादी फिल्म कम्पनीले पक्षपात नगर्ने हो भने ओस्कार अवार्ड जित्ने ठूलो फिल्म कमरेड प्रचण्डले बनाउनुभएको छ। कसैलाई पक्षपात नगरेर मूल्यांकन गर्नुहुनेछ उहाँहरूले।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.